प्रहरी भित्र कोरोना त्रासः काठमाडौं उच्च जोखिममा

मानिससँग प्रत्यक्ष सम्पर्कमा रहेर कार्यसम्पादन गर्ने सुरक्षा निकायका अधिकारीमा कोरोना संक्रमण बढ्दै गएको छ।

कोरोना भाइरस सर्न नदिन राज्यले करीव ४ महिना लकडाउन गर्‍यो। जतिनै लकडाउन गरे पनि कोरोना संक्रमण रोखिएन बरू आर्थिक, सामाजिक र मनोवैज्ञानिक संकट आउन लाग्यो। लकडाउनदेखि आजित भएका सर्वसाधारण भोकमरीले मर्नुभन्दा कोरोनाबाट मर्नु उचित भन्दै बाहिर निसकन थाले। त्यसपछि राज्य लकडाउन खोल्न बाध्य भयो। १२० दिनपछि खुलेको लकडाउनबाट बजार पूर्ववत रूपमा सञ्चालनमा आयो । केही क्षेत्रबाहेक नागरिकको भिडभाडदेखि सवारी साधन पुरानै अवस्थामा चल्न थाले।

हुनत राज्यले विभिन्न प्रोटोकल नअपनाएको होइन, राज्यको प्रोटोकललाई नागरिकले वेवास्था गर्न थालेपछि त्यसको प्रत्यक्ष असर देखिन थालेको छ।

अहिले बसैभन्दा बढी कोरोनाको त्रास प्रहरी भित्रै छ।

आइतबार मात्रै प्रहरी प्रधान कार्यालयको सवारी महाशाखाका पाँच चालक, अन्य शाखाअन्तर्गतका तीन चालक, सञ्चार निर्देशनालयको मेसमा कार्यरत एक सहयोगीसहित दुई प्रहरी तथा डीआईजी र एसएसपीका दुई निजी चालक गरी १३ जनामा संक्रमण पुष्टि भएको छ।

प्रहरी प्रधान कार्यालय लगायत देशका देशका विभिन्न स्थानमा रहेका प्रहरी युनिटमा कार्यरत प्रहरी कर्मचारीमा कोरोनाको संक्रमण देखिन थालेपछि प्रहरी भित्र कोरोनाको त्रास बढेको हो।

जसका कारण प्रहरी कार्यालय जाने सेवाग्राही समेत त्रसित हुन थालेका छन्।

प्रहरी प्रवक्ता निरज शाहीका अनुसार हालसम्म १ सय ४० जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखा परेको छ।

जसमा ९७ जना निको भएका छन्, बाँकीको विभिन्न अस्पताललमा उपचार भईरहेको छ।

आइतबारै प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ र पछिल्लो एक सातामा झापाको काँकडभिट्टास्थित सीमा सुरक्षा बेसक्याम्पमा कार्यरत २० जनामा संक्रमण पुष्टि भएको थियो । शनिबार मात्रै इलाममा कार्यरत सशस्त्रका ५ र प्रहरीका एक जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

शाहीका अनुसार प्रधान कार्यालयसहित अन्य स्थानमा देखा परेकाबाट अन्यमा सरेको हुनसक्ने भन्दै ट्रेसिङ थालिएको छ।

‘कोरोनाको त्रासले हामीले आफ्नो काम गर्न छाड्ने कुरा हुँदैन, त्रासभन्दा पछि चुनौति छ, हामी त्यो चुनौतीलाई सामना गर्दैछौं’, प्रवक्ता शाहीले बिएल नेपालीसेवासँग भने।

राज्यले अपनाएको प्रोटोकललाई नागरिकले पालना नगरीदिनाले केही समस्या भएको भन्दै उनले सामाजिक दुरी कायमदेखि सावधानीका विभिन्न उपाए राज्यले सिकाएकाले नागरिकले अक्षरसः त्यसलाई फलो गरिदिए फिल्डमा खटिएर कामगर्ने लाई सहज हुने उनको बुझाई छ।

सञ्चारको मेसमै कार्यरत प्रहरी कर्मचारीमा कोरोना देखिएपछि अन्य शाखाबाट पनि खाना–खाजा खान जाने र त्यहाँ कार्यरतहरूको सम्पर्क अन्य प्रहरीलाई सर्न सक्ने भएकाले संक्रमण फैलिन सक्ने जोखिम बढेको छ।

जेठको पहिलो साता महानगरीय प्रहरी वृत्त कालीमाटीका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ कार्यरत सबै २ सय २५ जनाको पीसीआर परीक्षण गरी वृत्त नै सिलबन्दी गरिएको थियो ।

सावधानी अपनाएर काम गरौं

अग्रपन्थीमा रहेर काम गर्ने प्रहरी कर्मचारीमा कोरोना देखिन थालेपछि मातहतका प्रहरी कार्यालय तथा सम्पूर्ण युनिटले सावधानी अपनाउन थालेका छन्।

प्रहरी प्रधान कार्यालयको भेटघाटलाई कम गर्न थालिएको छ। अझ प्रहरी मुख्यालयमै कोरोना देखिएपछि प्रहरी प्रधान कार्यालय भित्र हुने बाहिरी भेटघाटलाई कम गरिएको छ। अन्य मातहतका कार्यालयमा सकेत सर्तकता अपनाउन थालिएको छ। फिल्डमा खटिने धेरै प्रहरी संक्रमणको जोखिममा छन्। समुदायसँग जोडिएर काम गरेका, धेरै ओहोरदोहोर गरिरहने काममा भएका र बजारमा किनमेल गर्न जाने/आउनेसँग प्रत्यक्ष जोडिएर काम गर्ने भएकाले प्रहरीमा यो जोखिम अन्य क्षेत्रको भन्दा उच्च छ। जोखिमबाट बच्न प्रोटोकलको कडा पालना गर्नैपर्ने देखिएको छ।

संक्रमितमा ६ इन्स्पेक्टर, ८ सई, ९ असई, ४२ हवल्दार, ७४ प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन् ।

जसमध्ये तीन महिला र १३७ पुरूष छन्।

संक्रमित प्रहरीहरू

  • मोरङ- २५ जना
  • काठमाडौं- १३ जना
  • धनुषा- १२ जना
  • दैलेख- १४ जना
  • सुर्खेत- ८ जना
  • बारा- ७ जना
  • कपिलवस्तु- ६ जना
  • बाजुरा- ६ जना
  • नवलपरासी- ५ जना
  • कञ्‍चनपुरका ४ जना
  • सप्तरी ४ जना
  • रौतहट- ४ जना
  • स्याङ्जा- ३ जना
  • सिरहा- ३ जना
  • धनकुटा- २ जना
  • बाँके- २ जना
  • सर्लाही- २ जना
  • डोल्पा- २ जना
  • अछाम- २ जना
  • बर्दिया- २ जना
  • दाङ २ जना
  • प्युठान- २ जना
  • जुम्ला- २ जना
  • महोत्तरी- २ जना
  • तनहुँ- २ जना
  • बागलुङ- १ जना
  • जाजरकोट- १ जना
  • गुल्मी- १ जना
  • भक्तपुर- १ जना
प्रकाशित मिति: : 2020-07-27 13:46:00

प्रतिकृया दिनुहोस्