सन्दीप सीपीएल खेल्न ट्रिनिडाड एण्ड टोबागो उडे

सिपिएल खेल्न सन्दीप उत्साहित

नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी२० क्रिकेट प्रतियाेगिता खेल्न बिहीबार ट्रिनिडाड एण्ड टोबागो उडेका छन्।

अन्तर्राष्ट्रिय हवाई उडान रद्द रहेको स्थितिमा सन्दीपले त्यो प्रतियोगिता खेल्ने अनिश्चित भएको थियो। तर नेपाल सरकारले सहजीकरण गरेपछि उनी कोरियन एअरको चार्टर्ड फ्लाइटबाट कोरिया गएका हुन्।

बिहीबार उडे पनि सन्दीप आइतबार मात्र ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन्। यसका लागि उनले नेपालबाट कोरियन एअरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया, त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागोको हवाई यात्रा तय गर्नुपर्नेछ। 

सन्दीपको नेपाल स्थिति व्यवस्थापक रमन सिवाकोटीका अनुसार अगष्ट १ मा प्रतियोगितास्थल पुग्नेछन्। 

प्रतियोगिताअघि सबै खेलाडी त्यहाँ पुगेर दुई साता क्वारेन्टिन बस्नुपर्नेछ। सीपीएल खेल्न जानुअघि उनले मंगलबार ललितपुरको स्टार हस्पिटलमा कोरोना परीक्षण गराएका थिए। उनले परीक्षणको रिपोर्ट बुधबार प्राप्त गरेका थिए।

सीपीएल टी२० क्रिकेट प्रतियाेगिताकाे खेल तालिका सार्वजनिक भएको छ।

आयाेजकले साेमबार खेल तालिका सार्वजनिक गरेकाे हाे। आठाैं संस्करणकाे सीपीएल अगस्ट १८ देखि ट्रिनिडाड एण्ड टाेबागाेमा हुँदैछ।

६ टिमले प्रतिस्पर्धा गर्ने लिगकाे फाइनल सेप्टम्बर १० मा हुनेछ।

यस सिजनको उद्घाटन खेलमा दुई पूर्व विजेता ट्रिनबागो नाइट राइडर्स र गुएना अमेजन वारिवर्स भिड्नेछन्। यस्तै साेही दिन साविक विजेता बार्बेडाेस ट्राइडेन्ट्सले र सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्ससँग खेल्नेछ।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले यससिजन जमैका तल्लावाजबाट खेल्ने छन्। जमैकाले सन्दीपलाई जमैकाले ९० हजार डलर ( नेपाली १ करोड ७ लाख ४६ हजार ) खर्चेर टिममा भित्र्याएको हो।

सिपिएल खेल्न सन्दीप उत्साहित

विश्वभर कोरोना भाइरसको महामारीको कहर थियो। यस्तोमा विश्व खेलकूदमा प्रत्यक्ष असर पर्‍यो। कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा नेपाल सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू गर्‍यो। यसको प्रत्यक्ष मारमा चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछाने पनि परे। उनी यसबीचमा चार महिना बन्दाबन्दीमा घरमै बसे। “समय व्यतित गर्न निकै गाह्रो भयो”, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भेटिएका लामिछानेले भने, “घरमा बस्दा बस्दा निकै छटपटी भयो।”

गत असार २२ गते लामिछानेले सुखद खबर प्राप्त गरे। ट्रिनिडाड एण्ड टोबागोमा भदौ २ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि उनी छनोट भएको खबर आयो। आफूले मागेकै पारिश्रमिकमा खेल्न पाउने खबरले उनी कम्ता खुशी हुनु भएनन्। लामिछानेले सिपिएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए। जमैका तलावाजले उक्त रकममै लामिछानेलाई अनुबन्ध गर्‍यो। 

यसअघि सन् २०१९ मा उनलाई बार्बाडोस ट्राइडेन्सले ७० हजार डलरमा अनुबन्ध गरेको थियो। उक्त प्रतियोगितामा लामिछानेले पाँच खेलमा सात विकेट लिएका थिए। यस्तै सन् २०१८ मा सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सले मात्र पाँच हजार डलरमा लामिछानेलाई अनुबन्ध गरेको थियो। सो प्रतियोगितामा उनले छ खेलमा आठ विकेट लिएका थिए।

आफूले चाहेकै पारिश्रमिक पाउने भए पनि लामिछानेलाई खुशी त मिल्यो तर यस्तो बन्दाबन्दीमा ट्रिनिडाड एन्ड टोबागो कसोगरी पुग्ने भन्ने चिन्ताले सतायो। नेपालमा अझै आगामी भदौ १ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द थियो। “हिजोसम्म सिपिएल खेल्न पाइन्छ कि पाइन्न भन्ने दुविधा थियो”, लामिछानेले भने, “आज जहाजको टुङ्गो लाग्यो, अब सिपिएल खेल्न उत्साहित छु।” पछिल्लो समय जहाजको टुङ्गो नलाग्दा कैयौँ रात निद्रा नै भङ्ग भएको उहाँको भनाइ थियो। “जे होस् अब जान पाइने भयो, अब खेल्ने पाइनेमा ढुक्क छु”, आफ्नो गृह मैदानमा खुशी हुँदै लामिछानेले भने। 

कोरोना भाइरसका कारण अन्तरराष्ट्रिय हवाई उडान बन्द भएकाले लामिछाने सिपिएल गुमाउने अवस्था थियो। अन्तिम समयमा चार्टर्ड विमानमार्फत उनी बिहीबार दक्षिण कोरियाहुँदै ट्रिनिडाड एन्ड टोबागो उड्ने निश्चित भएको हो। लामिछानेको यात्रा सुनिश्चित गराउनमा उनका व्यवस्थापक रमन शिवाकोटीको भूमिका अहम छ। शिवाकोटीको हप्तौँको दौडधूपले लामिछानेको ट्रिनिडाड एन्ड टोबागो उड्ने निश्चित भएको हो।

“पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालयलगायतको सहयोगले सन्दीप खेल्न जाने टुङ्गो लागेको हो”, शिवाकोटीले भने। सन्दीपको हवाई उडानका लागि केही खेलप्रेमीको रातदिनको दौडधूप सम्झिन लायक रहेको उनको भनाइ थियो। “हाम्रो व्यक्तिगत प्रयासले सिपिल खेल्न पाउने सम्भावना थिएन”, सहयोगीप्रति अभार प्रकट गर्दै व्यवस्थापक शिवाकोटीले भने। 

बिहीबार उडे पनि लामिछाने आइतबार मात्र ट्रिनिडाड एण्ड टोबागो पुग्नुहुनेछ। यसका लागि उनले नेपालबाट कोरियन एअरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया, त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागोको हवाई यात्रा तय गर्नुपर्नेछ। “त्यहाँ पुगिसकेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ”, लामिछानेले भने। सिपिएल खेल्न जानुअघि उनले मङ्गलबार ललितपुरको स्टार हस्पिटलमा कोरोना परीक्षण गराएका थिए। उनले परीक्षणको रिपोर्ट आज प्राप्त गरेका छन्। “कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ, अब ढुक्कका साथ जान पाउने भए”, लामिछानेले भने। 

लामिछानेको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन्। उनी आबद्ध जमैका तलाबाजले आगामी भदौ ३ गते सेन्ट लुसिया जौक्ससित खेल्नेछ। सिपिएलका लागि विश्वका २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए। 

ट्रिनिडाड एन्ड टोबागोबाट लामिछाने इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरब इमेरेटस् (युएई) जानेछन्। कोरोना महामारीका कारण यसपटक आइपिएलको १३औँ संस्करण असोज पहिलो सातादेखि युएइमा हुँदैछ। लामिछाने आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्नेछन्। लामिछाने तेस्रोपटक आइपिएल खेल्न लाग्दैछन्। “अब चाँडै नेपाल फर्किने सम्भावना छैन, तर जहाँ गए पनि नेपालको इज्जत र प्रतिष्ठाका खेल्छु”, लामिछानेले छुट्टिने बेला भने। 

त्रिवि खेल मैदानका कर्मचारीलाई लामिछानेद्वारा एक लाख सहयोग

राष्ट्रिय क्रिकेट टोलीका सदस्य लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई रु एक लाख सहयोग गर्ने घोषणा गरे। सिपिएल खेल्न ट्रिनिडाड एण्ड टोबागो उड्नुअघि  त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त सहयोगको घोषणा गरे।

“कोरोना भाइरसको महामारीका बीच पनि उहाँहरुले निकै मेहनत गरी मैदानलाई खेल्न लायक बनाउनुभयो”, लामिछानेले भने, “यसरी मैदान तयार नगरेको भए हामी खेल्नसक्ने थिएनौँ।” कोरोना महामारीमा कर्मचारी पीडामा बाँचिरहेको र आफ्नोतर्फबाट सकेको सहयोग गर्न पाएकामा खुशी लागेको लामिछानेले बताए।

“मैदानको रेखदेख गर्ने कर्मचारीले समयमा पारिश्रमिक पाउनुभएको रहेनछ”, उनले भने, “मैले सानो सहयोग गर्न खोजेको छु।” मैदानमा दिनरात खटिने कर्मचारीलाई भविष्यमा पनि आफ्नो सक्दो सहयोग जारी रहने उनको भनाइ थियो। हाल त्रिवि मैदानमा १४ कर्मचारी काम गर्दै आएका छन्।

प्रकाशित मिति: : 2020-07-30 12:04:07

प्रतिकृया दिनुहोस्