गत आर्थिक वर्षमा ग्राहकलाई वितरण गरेको सिमकार्डको विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन

प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिले गत आर्थिक वर्षमा ग्राहकलाई वितरण गरेको सिमकार्डको विवरण एक हप्ताभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएकाे छ।

समितिको शुक्रबारको बैठकले नेपाल दूरसञ्चारसँग आबद्ध नेपाल टेलिकम र अन्य निजी सेवा प्रदायक संस्थाहरुबाट वितरण गरेको सिमकार्डको विवरण एक हप्ताभित्र उपलब्ध गराउन सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो।

त्यसका साथै नेपालमा सञ्चालित दूरसञ्चार संस्थाहरुको आर्थिक अवस्थाबारे जानकारी गराउन भनेको छ।

सभापति कल्याणीकुमारी खड्काले बैठकका निर्णय सुनाउँदै टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयभित्र सम्पन्‍न नहुनुको कारण ७ दिनभित्र समितिमा उपलब्ध गराउन पनि मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको छ।

यता टेलिकमको सेवा प्रभावकारी नभएको जनगुनासो आएकाले गुणस्तरीय र नागरिकका अपेक्षाअनुरुप सेवा विस्तारको कार्ययोजनासमेत ३० दिनभित्र समितिमा पेस गर्नसमेत भनिएको छ।

प्रकाशित मिति: : 2020-07-31 19:53:58

प्रतिकृया दिनुहोस्