काभ्रेस्थली घटना

सुनिताका माइती भन्छन्- ज्वाइँले पहिलादेखि नै बहिनीमाथि अत्याचार गर्थे

आशिका सैनिक स्कुलको कक्षा ५ मा पढ्दै थिइन्। सधैंझैँ साेमबार बिहान आठ बजे सैनिक स्कुलको बस आशिकालाई लिन पदमसालमा पुग्यो। तर बसले धेरै समय कुर्दा पनि आशिका आइनन्।

आइतबार दिउँसो गाडीबाट छुट्ने बेलामा साथीहरुलाई ‘बाई’ भनी घर उत्रेकी आशिका सोमबार भने १० मिनेट कुर्दासमेत आइनन्। सँगै घर भएका साथीले स्कुल जान ढिलो भइसक्यो भन्दा पनि उनकाे परिवारले ढोका खोलेनन्। धेरै समयसम्म पनि ढोका नखोलेपछि छिमेकी उनको घर पुगे।

ढोका नखेलेकाले छिमेकीले झँयालबाट हेरे। भित्र सुनिता, आशिका र आशिक मृत अवस्थामा देखिए। तत्कालै स्थानीयले प्रहरीलाई खबर गरे। प्रहरी पुगेर ढोका फुटाँउदा दिनेश पनि अर्काे कोठामा मृत अवस्थामा भेटिए।

०००

गोरखाकाे भीमसेन थापा गाउँपालिका स्थायी घर भई चार वर्षदेखि काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री (पाण्डे), ११ वर्षीया छोरी आशिका र ७ वर्षीय छोरा आशिक पाण्डे सोमबार मृत अवस्थामा भेटिएका हुन्।

सुनिता भुइँमा मृत अवस्थामा थिइन् भने छोरी आशिका र छाेरा आशिक खाटमा मृत भेटिएका थिए। उनीहरूकाे शरीरभरि चाेटपटक थियाे।

दिनेश चाहिँ अर्को कोठामा मृत भेटिएका थिए। उनको पेटमा चक्कुले रोपेको डोब थियो भने घाँटीमा बिजुलीको तार बाँधिएको थियो। झुण्डिने प्रयास गरेको तर, उनी झुण्डिन नसकेको अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान प्रहरीले बताएको छन्।

०००

पाँच दाजुभाइकी प्यारी थिइन्, सुनिता। गोरखा धुसेनी घर भएकी सुनिता काप्री सानैदेखि बोर्लाङ (मामाघर) जाने गर्थिन्। त्यहीँ उनको भेट दिनेशसँग भयो। विस्तारै उनीहरु प्रेममा परे र विवाह गर्ने निधाे गरे। उनीहरुले घरमा विवाहको प्रस्ताव पनि राखे तर घरकाले मानेनन्। परिवारले अस्वीकार गर्दागर्दै पनि उनीहरुले विवाह गरे।

उनीहरुको दुई सन्तान पनि जन्मिए। दिनेश राेजगारीकाे सिलसिलामा १२ वर्ष कुवेतमा बसेर ४ वर्षअघि मात्र नेपाल फर्किए थिए। उनले पदमसालमा एकतले घर पनि बनाए। सबै कुरा राम्रो चल्दै थियो। तर पछिल्लाे समय उनीहरूबीच खटपट सुरु हुन थाल्याे।

गत माघ महिनामा दिनेशले आफूलाई चक्कुले हानेर मार्ने प्रयास गरेको भनेर सुनिताले उजुरी गरेपछि उनीहरूबीच विवाद झन बढ्न थाल्याे।

स्थानीयका अनुसार पछिल्लो समय दिनेश र सुनिताबीच आन्तरिक विवाद मात्र नभइ सम्पत्तिको विषयलाई लिएरसमेत झगडा हुने गरेकाे थियो।घरायसी विवादका बाबजुद दिनेशले घर बेच्न खाेजेकाे तर सुनिताले मानेकी थिइनन्। जसले गर्दा उनीहरूबीचकाे विवाद उग्र बन्दै गयो र दिनेशले सम्बन्धविच्छेदको लागि निवेदनसमेत दिएका थिए, तर सुनिताले भने छोराछोरीका लागि भएपनि सम्बन्धविच्छेद नगर्ने बताएकी थिइन्।

घर बेच्ने विषयमा कुरा नमिलेपछि दिनेशले सुनितालाई थाहै नदिइ घर १० लाखमा बैना गरे। तर घर सुनिताको नाममा भएकाले दिनेशले केही गर्न सकेनन्। घर बैना भएको रकम र जरिवानासहित सुनिताले उक्त व्यक्तिलाई ११ लाख रुपैँयासमेत दिएकी थिइन्।

०००

यता, सुनिताले पनि सबै कुरालाई वेबास्ता गर्दै बेलायत जान सिजनल भिसाका लागि आवेदन दिएकी थिइन्। उनको भिसा पनि आयो। बेलायत जानकै लागि सुनिताले चलाउँदै आएको फेन्सी पसल बेचिन् र कमलपोखरीस्थित मेगा ड्रिम सहकारीमा भएको रकम झिकेर खाता बन्द गरिन्।

सुनिताले पसल बचेको र खाता बन्द गराएको दिनेशलाई मन परेको थिएन। यसै कारण दिनेशले सुनिताको अरु पुरुषसँग सम्बन्ध रहेको भन्दै शंका गर्न थाले। यस्तै विवाद र शंकाले उग्र रूप लियाे र दिनेशको परिवार नै सखाप भयो।

परिवारिक विवाद र सम्पत्तिको लफडाले ४१ वर्षीय दिनेशले पत्नी र छोराछोरीको हत्या गरेको उनले ‘सुसाइड नोट’ मा उल्लेख गरेका छन्। आफूले खाडी मुलुककाे चर्काे घाममा पसिना बगाएर कमाएको पैसा सुनिताले माइतीलाई दिएकाे र सुनिताका दाजुभाइले आफ्नो सम्पत्तिको हडपेर परिवार सखाप पारेको दिनेशको आरोप छ।

उनले ‘सुसाइड नोट’ मा लेखेका छन्, ‘मैले १० वर्ष दुःख गरेर सम्पत्ति कमाएँ तर तैँले माया गरिनस्। मैले कमाएको पैसा तैँले माइतीसँग मिलेर सबै खत्तम गरिस्। माइतीका दाजुभाइलाई लगाएर महिला हिंसाकाे आरोप लगाइ प्रहरीकोमा लगिस्, त्यसैले आज म यस्तो गर्न बाध्य भएको छु। तेँलै मेरो कुनै वास्ता गरिनस्, मलाई हेला गरेर खान पनि दिनस्। मैले केही नगरी प्रहरीकोमा पुर्याइ मेरो बेइज्जत गरिस्, मेरो आत्मसम्मानमा चोट पुग्यो। 
तर म मेरो छोराछोरीलाई धेरै माया गर्छु, तँलाई मारेपछि म पक्राउ पर्छु थाहा छ, म पनि नभएपछि छोराछोरी एक्लौ हुन्छन् भनेर यो गर्न बाध्य भएको छु।’

यस्तै दिनेशले ‘सुसाइड नोट’ मा सुनिताको परपुरुषसँग सम्बन्ध भएको बताएका छन् भने उनको परिवार सखाप हुनुमा सुनिताका दाइभाइ दाेषी रहेकाे उल्लेखसमेत गरेका छन्। ‘मलाई विनाकारण बारबार प्रहरीकोमा पठाएर  सुनिताको दाजुभाइले मेरो सम्पत्ति हडप्न खोजेको मैले बुझेको छैन र?’ उनले लेखेका छन्।

०००

यता, सुनिताका माइतीपक्ष भने आफ्नो बहिनीमाथि अन्याय भएको र सुनिताले न्याय पाउनुपर्ने बताउँछन्। उनकी दिदी अनिता काप्री दिनेशले पहिलाबाट नै सुनितामाथि अत्याचार गर्ने गरेको बताउँछिन्।

अनिताले भनिन्, ‘यसले मेरो बहिनीलाई एक चोटीमा मारेको होइन, तड्पाइ-तड्पाइ मारेको छ।एकैचोटी मारेको भए बहिनीको शव खाटमा नै हुने थियो, बहिनीको शव भुइँमा छ। म त सोमबार बिहान पशुपति जानको लागि तयार हुँदै थिएँ। भाइले फोन गरेर काभ्रेस्थलीको कुरा थाहा पायौ भन्यो? म छाँगाबाट खसेजस्तै भएँ। यसले बहिनीसहित साना छोराछोरीको पनि निर्मम हत्या गर्यो र आफू केही गरेपनि बच्ने छैन भन्ने थाहा भएपछि आफूले आफूलाई मारेको छ। हामीलाई न्याय चाहिएको छ। उनीहरुले न्याय पाउनुपर्यो।’

यस्तै सुनिताका दाइ नेत्र काप्री आफूहरुलाई बहिनीज्वाइँको सम्पत्तिप्रति कुनै लोभ नभएको बताउँछन्।

उनी भन्छन्, ‘ज्वाइँले बहिनीलाई थाहा नदिइ घर बिक्री गर्न बैना रकम लिइसकेका रहेछन्। जब यो कुरा हामीले थाहा पायौँ, अनि हामी बैना भएको घरलाई जसरी भएपनि जाेगाउनु पर्छ भनेर लागिपरेका थियौँ। बैना भएको रकम पनि ज्वाइँले नै के गरेर सके थाहा भएन। त्यही आधारमा हामीले सम्पत्ति हडप्न खाेजेको भनेर आरोप लगाइएको छ। उल्टो उसको ‘सुसाइड नोटमा मेरो बहिनीलाई दोष दिएको छ। यो सब उसको दाजुभाउजुले उचालेको हो। पहिला दाजुभाउजुको कुराले उचालियो परिवारलाई मार्यो र खप्न नसकेपछि आफू पनि मर्यो। हामीले अब न्याय पाउनुपर्छ।’

प्रकाशित मिति: : 2022-08-04 15:54:00

प्रतिकृया दिनुहोस्