निर्मला हत्याको अनुसन्धान सुरूको प्रमाणबाट गर्दै सीआइबी, अदालतले खोलिदियो बाटो

घटना भएको दुई वर्षपछि निर्मला हत्या बारे प्रहरीले फेरि सुरूमा संकलित प्रमाणको आधारमा अनुसन्धान थाल्ने भएको छ।

साउन ७ गते प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरण सुल्झाउन केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) का प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) सहकुल थापा र सुदूरपश्चिम प्रदेशका प्रमुख डीआइजी उत्तम सुवेदीलाई निर्देशन दिएका थिए।

निर्देशनसँगै सीआइबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) र अर्का उनका सहयोगीलाई कञ्चनपुर पठाएको छ। कञ्चनपुर पुगेसँगै सिआइबी सहितको टोलीले सुरूमा संकलन गरिएको प्रमाण मुचुल्काको आधारमा अनुसन्धान थालेको सीआइबी स्रोतले बिएल नेपाली सेवालाई जानकारी दियो।

‘फेरि सुरूका प्रमाणबाट अनुसन्धान थालिएको छ,’ स्रोतले भन्यो। घटनापछि सिआइबीबाट गएको प्रहरी टोलीले परिस्थितिजन्य प्रमाण, दिलिप विष्टको साविति बयानलाई आधार बनाएर २०७५ भदौ ४ गते अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो। तर डिएनए नमिलेपछि विष्ट रिहा गर्न प्रहरी बाध्य भयो। त्यसपछि निर्मला प्रकरणमा धेरै घटना जेलिदै आए। अनुसन्धानमा खटिएका प्रहरीले नै मुद्दा खेप्नुपर्‍यो।

जिल्ला अदालत कञ्चनपुर न्यायाधीश गोपाल बास्तोलाको एकल इजलासले गत बिहिबार (साउन १५ गते) तत्कालिन कञ्चनपुर जिल्ला प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिलिप विष्ट, सीआइबीबाट गएका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसिसहित ८ जना प्रहरीलाई सफाइ दिएको थियो।

योसँगै प्रहरीलाई पहिले प्रमाणका आधारमा अनुसन्धान गर्न बाटो खुलेको थियो। प्रमाण नष्ट र यातनाको मुद्दाबाट उनीहरुले सफाइ पाएका छन्। यसले दिलिपलाई यातना दिएर साविति बयान नदिएको देखाउँछ।

प्रमाण नष्ट गरेको र पक्राउ परेका अभियुक्तलाई यातना दिएको आरोपमा मन्त्रिपरिषदले एसपी र अन्यलाई गृह मन्त्रालयको सेवाबाट हटाएको र निलम्बन गरेको थियो। तर अदालतले उनीहरुलाई निवेदक निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्क सिंहले दिएको निवेदनमा कुनै पनि प्रमाण नष्ट गरेको र यातना दिएको कुनै पनि प्रमाण नदेखिएको भन्दै उनीहरूलाई रिहा गरेको थियो ।

उनीहरू विरूद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेकोमा उजुरी दिएकी थिइन् भने प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेका दिलिपसिंह विष्टका तर्फबाट दाजु खड्कसिंह विष्टले यातना दिएको आरोपमा प्रहरीमा उजुरी दिएका थिए। जिल्ला प्रहरी कार्यालयको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत् कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

तत्कालिन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान व्यूरोबाट गएका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी, अर्का डीएसपी ज्ञाबहादुर सेठी, इन्स्पेक्टरद्वय एकीन्द्रबहादुर खड्का र जगदिसप्रसाद भट्ट, प्रहरी नायब निरीक्षक (सइ)द्धय हरसिंह धामी र रामसिंह धामी र जवान चाँदनी साउद सफाइ पाएका थिए ।

२०७५ साउन १० गते बिहान साथी रोसनी बमको घरमा जान्छु भन्दै हिँडेकी कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टाकी १३ वर्षीया निर्मला पन्तको बलत्कारपछि हत्या भएको थियो। भोलिपल्ट मात्र भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव भेटियो।

प्रहरीको आँखा दिलिप मै

प्रहरीले भने दिलिपसिंह विष्ट नै दोषि भएको बताउँदै आएको छ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीलाई मान्ने हो भने दीलिप नै अपराधी हुन्। ‘सुरूदेखि नै दीलिपले नै निर्मलाको बलात्कार गरेको भन्ने प्रमाणहरू देखिएका थिए। तर त्यो समयमा विभिन्न कारणले अनुसन्धान प्रभावित भएको थियो,’ ती अधिकारीले भने।

सुरूमा संकलन गरिएको प्रमाण र तथ्यका आधारमा दीलिप नै दोषि देखाउँछ तर केही प्राविधिक कमजोरीले गर्दा दोषि देखाउन सकिएको छैन ती अधिकारीले बताए।

निर्मलाको शव भेटिएको ठाउँमा प्रहरी कर्मचारीले नै पानीमा उनको कपडा पखालेको विषय खुबै विवादित बनेको थियो। प्रहरीले बारम्बार दिलिपसिंह विष्टलाई नै दोषी बनाउन प्रयास गर्‍यो, सफल हुन सकेन। अहिले पनि दिलिपसिंह विष्टलाई नै कसरी दोषी बनाउन सकिन्छ भन्नेबाहेक प्रहरीसँग अरु कुनै उपाय बाँकी रहेको प्रहरी अधिकारीहरू देख्दैनन्।

एकपल्ट डीएनए परीक्षण गर्दा दिलिपसिंह विष्टसँग मेल नखाएको प्रयोगशाला रिपोर्ट आइसकेको छ। रिपोर्ट नमिलेपछि प्रहरीले विष्टविरुद्ध अदालतमा मुद्दा चलाउन सकेन। प्रहरीले विष्टविरूद्ध अरू थप प्रमाण समेत जुटाउन सकेको छैन। तर गृह मन्त्रालयले डाक्टर जीवन रिजालको नेतृत्वमा गठन भएको समितिले डिएनबाट नै अपराधी पत्ता लगाउन नसकिने निष्कर्ष सहितको प्रतिवेदन बुझाइ सकेको छ।

घटनास्थलमा भेटिएको भनिएको सर्टको गोजीको टुक्राको रिपोर्ट अहिलेसम्म पनि सार्वजनिक भएको छैन्। निर्मला हत्याकाण्डमा थुप्रै अध्ययन, अनुसन्धान समिति समेत बने तर हत्या प्रकरण अझै सुल्झिएको छैन।

तत्कालीन एआईजी धिरू बस्न्यातको संयोजकत्वमा बनेको समितिले २०७५ पुस ३ गते प्रतिवेदन बुझाउँदै प्रारम्भिक अनुसन्धानमा खटिएका प्रहरी अधिकारीसहितले गल्ती गरेको भन्दै कारवाही गर्न सुझाव दियो।

प्रहरीबाटै गल्ती भएको तत्कालीन आईजीपीको बयान

तत्कालीन आईजीपी सर्वेन्द्र खनालले हतारमा नतिजा खोज्दा प्रहरीबाट केही गल्ती भएको स्वीकारेका थिए। आईजीपी खनालले संसदको एउटा समितिमा बोल्दै प्रहरीबाट केही गल्ती भएको बताएका थिए।

तर पछिल्लो समय आइजी खनाल पहिले प्रहरीले गरेको अनुसन्धान नै सहि भएको निष्कर्षमा पुगे। त्यसपछि फेरि  डीआइजी सुरज केसीको नेतृत्वमा समिति गठन गरे। समितिले यसअघि एआइजी धीरु बस्नेतले गरेको अनुसन्धानलाई नै गलत ठहर गर्दै प्रतिवेदन बुझायो।

अनुसन्धानका क्रममा थुप्रै व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीले दिलिपसिंह विष्टपछि २०७५ मंसिर २३ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरेको थियो ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले निर्मलाको हत्यामा संलग्न अभियुक्त ‘नजिक’ पुगिसकेको बताएको थियो तर पछि उनीहरू पनि अभियुक्त नभएको भन्दै छाडिए।

त्यसपछि पनि अनुसन्धानको लागि भन्दै टोली कचनपुर नगएको होइन। तर अन्य प्रमाणले कसैलाई अभियुक्त करार गर्न सकेन। दुई वर्ष विते, दुई आइजी फेरिए तर निर्मताको हत्यारा पत्ता लगाउन प्रहरी असक्षम भयो।

प्रकाशित मिति: : 2020-08-07 17:31:00

प्रतिकृया दिनुहोस्