पूर्वका सहृदयीहरू

महाकवि देवकोटा भन्नुहुन्छ, ‘घर चिन्न घर छाडौं, तर घर नबिर्सौं’। घर छोड्ने रहर त कसैलाई पनि हुँदैन। तर आधुनिक समयमा घरमै बसेर पनि जीवन बन्दैन। जननी र जन्मभूमिको माया सुन खाएर सुनमै सुते पनि मेटिदैन। मान्छे आकाश छेड्ने बेगमा उडेर जहाँ जहाँ पुगे पनि अन्तिम गन्तव्य भनेको आफ्नै घर हो।

तिहार सकिए पनि शरद ऋतुको अवशेष बाँकी थियो। यौवन भरिएकी यौवनाको झैं चञ्चाल  छेडा र भेरी नदी। बालकै कालदेखि टेकेको र देखेको भूमि। सँधै प्रेमले संरक्षण गरिरहने भगवानजस्ता बा आमा। अनि आफ्नै आञ्चलिकता भएको भाषाको मिठास बोकेको प्रिय समाज र आफन्त। एकैसाथ छोडेर म जाँदै थिएँ पूर्व खोटाङ।

आमाले पठाएका केहि खानेकुरा र कपडाहरुको झोला बोकेर लागियो बसपार्कतिर। दाई पूर्ण र हरि भाइ पनि आउनुभयो। तीन तीसको गाडी चढियो काठमाडौंको लागि। ‘चढ्नु अघि गाडीको सिँढी ढोग्नुपर्छ” दाइले भन्नुभयो। ठूलो छोरालाई त्यहिँ छोडेर हिँडियो, खोटाङ।  मनमा खोटाङ कस्तो होला भनेर सोच्दा सोच्दै।

सानो बाबुसँग रात्रिबसको यात्रा सहज थिएन। अनिदो अनुहारसँगै बिहान ११ बजे काठमाडौं बसपार्क पुगियो। पशुपति गेष्टहाउसमा बास भयो। खोटाङकै मान्छेले चलाएका रहेछन्। भोलिपल्ट विप्लप नेतृत्वको पार्टीद्वारा नेपाल बन्द जारी भयो। हामीले त्यो दिन जाडोमा लगाउने तातो कपडाहरू किन्यौं। पहिलोचोटी धेरै टाढाको यात्रामा जाँदै थिएँ।

त्यसपछि शुरु भयो काठमाडौंबाट खोटाङ दिक्तेलसम्मको यात्रा। माइक्रो बसमा चिसो हावा खादै पूर्वान्चलतर्फको यात्रा शुरू भयो। म जीवनमै पहिलोपल्ट पूर्वाञ्चल जादै थिएँ। यो भन्दा पहिले पूर्वाञ्चलको बारेमा विद्यालयको किताबमा मात्र पढेको थिएँ। 

केही नाम सुनेका र केही नसुनेका ठाउँहरुलाई स्पर्श गर्दै गाडी अगाडि बढिरह्यो। धुलिखेल काभ्रे, सिन्धुली, रामेछाप, उदयपुर, ओखलढुङ्गा अनि खोटाङ।

सिन्धुलीको भूगोलमा बुट्टेदार पर्खाल लगाएर निर्मित विपि राजमार्ग साँच्चै सुन्दर थियो। मन खिचेर राख्ने सुन्दर पहाडी प्राकृतिक दृश्यहरु। सुनकोशीको तिरैतिर, दुधकोशीको वारीपारी हुँदै जयरामघाट पुगेसी गाडी रोकियो।

ओखलढुङ्गा र खोटाङको बीचबीच भएर बग्ने दुधकोशी नदीमा गाडी हिँड्ने पुल बनेको थिएन। यात्रुको सामान बोकेर जीविकोपार्जन गर्नेहरू त्यहाँ पनि देखिन्थे। आखिर कहाँ छैन र भोक? कसलाई नहोला र शोक! सगरमाथा छुने सपना बोकेर हतारो हिँडेका हजारौं यात्रुका झोला बोकेर उनीहरूलाई हर रोजको छाक जुटाउन हतारो थियो। हाम्रो झोला बोकिदिने दिदी सिन्धुलीबाट आएकी रहेछिन्। भन्थिन्, ‘श्रीमान् काम गर्न सक्नुहुन्न। अस्ति दशैं अगाडि आइ तिहार खर्च कमाएर गएको नानी।’

मनमनै सोचें, ‘बाल बच्चासँगै अशक्त श्रीमानको स्याहार गर्दै बाँच्ने यस्ता महिलाहरु साँच्चै साहसी र आत्मविश्वासी हुन्। यीनैलाई दिनुपर्छ केहि प्रसिद्ध पुरस्कारहरु। अनि कथा, कविता र निबन्धमा लेखेर रंगीन र जीवन्त बनाइनुपर्छ यीनका रंगहीन जीवनहरु। विकासले सबैलाई सराबरी गरेर खुशी ल्याउँदैनरहेछ। पछिल्लो वर्ष दुधकोशीमा गाडी हिँड्ने पुल बनिसकेपछि जयरामघाटका सयौँ मजदुरहरुको रोजगारी गुम्यो। सायद त्यहाँबाट कमाउँदै छाक टार्नेहरु कति परदेश लागे होलान्।

दुधकोशी पारीबाट अर्को जिप चढेर दुई घण्टामा पूर्वको पशुपति श्री हलेसी महादेवस्थान पुगियो। जिपमा म र बाबु अगाडि थियौं। श्रीमान अमृत पछाडिको सिटमा। मेरो सिटको छेउमा काठमाडौं घर भई खोटाङ जिल्ला प्रशासनमा कार्यरत खरिदार बसेका थिए। नाम चाहीँ सोधिन्। उनले भने, ‘त्यति राम्रो छैन म्याम खोटाङ दिक्तेल। महँगी उस्तै छ। कच्चि बाटो। बजार पनि त्यति व्यवस्थित छैन। खोटाङ त कलाकार र हलेसीले मात्र प्रसिद्ध भएको हो।’

मेरो मनले भने खोई किन हो किन खोटाङ सुन्दर नै छ भनिरहेको थियो। नुनथलामा पुग्दा ५:२० भइसकेको थियो। त्यहाँबाट सोलुखुम्बुका केहि हिमालहरु लहरै देखिए। अस्ताउन लागेको घामको लालीमय श्रृंगारले झनै मनमोहक देखिएको थियो दृश्य। युगौयुग हेरिरहन मन लाग्यो। उज्याला हिमालहरू हेरेर कविता लेखौं या हात फिँजाएर गीत गाउँ गाउँ लाग्यो। एकपोज फोटो हिमालकै कभर लाएर खिच्न मन थियो। तर दिक्तेल पुग्न अबेर भैसकेकोले जिप धेरैबेर रोकिएन।

केहि समथर केहि भिरालो परेका डाँडा खोंचको छाति छोएर गाडी बुर्कुसी मार्दै हिँडिरह्यो। धुलाम्मे बाटो। घाम नलाग्ने कुनै लेकाली मोडमा नसुकेको सित। बाटोको छेउ छेउमा सेतै फुलेका बुकी फूलको मनै हर्ने सुगन्ध। गुराँस, र्‍याज र उत्तिसलगायतका रुखहरुको लहरै उभिएको फौंज। ठाँउ ठाँउमा देखिने लामा भोटे पहिरन लगाएका मानिस। नयाँ र पूर्वेली लवजका भाषाहरु। सुन्नमा साह्रै आनन्द लागिरह्यो।

गाडीमा ‘सुर्के थैली खै, पूर्व पश्चिम रेल...’ जस्ता गीतहरु बजिरहेका थिए। सुन्दा लाग्यो आफ्नै गाँउमा बजेको जस्तो। गीत संगीत भनेको पूर्व र पश्चिमको नहुने रहेछ। भनिन्छ नि ‘संगीत र मुस्कानको भाषा साझा हुन्छ।’ ड्राईभर र खलाँसीले यात्रुसँग झर्केर भाडा मागेको सुनिएन। गाडीभित्रका यात्रुहरु पनि सुन्तला होस् या बदाम एकजनाले किनेर एक्लै नखाने रहेछन्। सबैजनालाई बाँड्ने कस्तो राम्रो पारिवारिक व्यवहार।

त्यहीँ गाडीमा भेटिइन् एक आमा जसले खोटाङ बस दुर्घटनामा छोरो गुमाएकी थिइन्। उनले भनिन्, ‘विदेश जानलाई छोराको भिसा आयो। काठमाडौं हिँडेको थियो तर के गर्नू?’ उनको छोरा चढेको बस दुर्घटना भएको ठाउँ बाटैमा रहेछ। त्यो ठाउँ देखेपछि हामीलाई पनि देखाउँदै रोइन्। संयोग पनि कस्तो भने, जब हामी चढेको गाडीमा ‘मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको सहर हुँदैन...’ गीत बज्यो। आमा अझ हिक्किएर रोइन्। आमाको आँशुसँगै मेरो मन पनि भारी भयो।

दिक्तेल पुग्दा झमक्कै साँझ परिसकेको थियो। कोठाको बाहिरैसम्म विद्यालय निरीक्षक ठाकुर प्रसाद दहाल सर झोला लिन आउनुभयो। विद्यालय निरीक्षक मिन थापा, हाम्रो परिवार सबैले ठाकुर सरले पकाएको खाना खायौं। उहाँहरूको व्यवहार साह्रै आफन्ती लाग्यो। भोलिपल्टदेखि अमृतको अफिस शुरू भैहाल्यो। कोठामा बाबु आभास र मैले सामानहरु मिलायौं। बजार गएर केहि भान्साका लागि चाहिने सामानहरु ल्यायौं।

सपनाहरुले सोझो बाटो हिँड्न मन पराउँदैनन्। कहिलेकाहीँ सपनाको त्यहि नागबेली यात्रा ज्यादै अत्यास लाग्दो र निरिह बनिदिन्छ। तर जब सपनाले सार्थकता पाउन थाल्छ, तब यात्रामा बिझेका अत्यासहरुले पनि मिठो खुशी र उत्साह दिन्छन्। मेरो सपना जागिर खानु थिएन। जीवन अघि बढ्दै जाँदा पारिवारिक परिस्थितिले धकेल्दै गर्दा अन्ततः जागिर खोज्ने निष्कर्षमा पुगे। र एकाग्र भई पढ्नकै लागि मैले कसैले नचिन्ने ठाउँ दिक्तेल रोजेकी थिए। फोटो स्टुडियो पसल र नेपालगन्जमा ठूलो छोरालाई छोडेर। हामी बस्ने घरमा खेल्नलाई कोही बच्चाहरु नभएकोले अढाई वर्षको मेरो सानो बाबु घरबाहिर निस्किरहन्थ्यो। कोठामा बसेर मनग्गे पढ्ने मेरो योजना कार्यन्वयन गर्न मुस्किल भइरहेको थियो। म छोरा खोज्न र तरकारी लिन बजार निस्कन्थें। मान्छेहरु मेरो परिचय माग्थे। सोध्थे, ‘नयाँ लाग्यो हजुरलाई। पश्चिमको जस्तो बोल्नुहुन्छ। यहाँ कुन अफिसमा हो हजुरले काम गर्ने?’ मलाई सबैभन्दा अप्ठ्यारो प्रश्न यहिँ लाग्यो। (यहाँ कुन अफिसमा हो हजुरले काम गर्ने?) म भन्थेँ ‘मेरो श्रीमान् जिल्ला शिक्षा कार्यालयमा हुनुहुन्छ।’ मनमनै लाग्थ्यो यिनीहरुले मेरो बारेमा के सोच्छन् होला? लोग्नेको पछि लागेर हिँड्ने बेकामे आइमाई पो भन्छन् कि?

एकदिन बाबु कोठाबाट निस्केर पल्लो घरमा पुगेछ। त्यहाँ घाम तापेर बसेकासँग बाबु कुरा गर्दै खेल्दै रहेछ। म खोज्दै गएँ। एक जना दिदीले भनिन्,‘हजुरको बाबु त धेरै टाँठो रहेछ। घाम तापौं एकछिन बस्नुस् न बहिनी।’ एकछिन म पनि बसेँ। त्यहिँनेर आँगनमा दुई व्यक्ति कुरा गर्दै थिए। गजल कसरी लेख्ने भन्ने विषयमा। मलाई पनि बोलौँ बोलौँ लाग्यो। कतै आइन्स्टाइनले भनेका छन् नि, ‘सधैँ आफ्नो उत्सुकतालाई पछ्याउनु पर्दछ।’ सोधेँ, ‘सुन्नुस् न विमला राई केयरलेसलाई चिन्नुहुन्छ? उहाँलाई मैले पत्रिका मार्फत चिनेको।’ एक जना रहेछन् साहित्यिक मन प्रमोद श्रेष्ठ। हाम्रो परिचय भयो। उनले भने, ‘पश्चिम त गजलमा धेरै अगाडि छ नि। कपिल अन्जान, हुकुम धड्कन, पुर्ण समिर..,’ खुशि लाग्यो।

‘लौ म्याम अब हाम्रो सृजना बाचन कार्यक्रममा सहभागी हुनुपर्छ। हरेक महिनाको पहिलो शनिबार हामी खबर गर्नेछौं।’ फेसबुकमा साथि बन्यौं र फोन नम्बर लियौं। मलाई दिक्तेलमा हुने कुनै न कुनै साहित्यिक कार्यक्रममा सहभागी हुन औधि मन थियो। मलाई त्यहाँको कला, संस्कृति र भाषा भेषभुषा बारेमा जान्नु र बुझ्नु थियो। आखिर हरेक ठाँउको संस्कार बुझ्ने सबैभन्दा सजिलो माध्यम त्यहाँको साहित्य र संगीत नै त हो।

दिक्तेल पुगेको केही समयको अन्तरालमा विहे भोज र गोठ पूजाका थुप्रै निम्तोहरु आए। अमृतले जाम भने पनि बाबु लिएर जान झन्झट लाग्थ्यो मलाई। माघको पहिलो शनिबारको अघिल्लो दिन सृजना संवाद कार्यक्रमको लागि प्रमोदले फोन गर्नुभयो। तर त्यो दिन जि.शि.कामा शिक्षकको परीक्षामा अमृत जाने भएकोले बाबु हेर्ने मान्छे नभएर जान सकिएन। फागुनको पहिलो शनिबार ७ गते चाहिँ रेखा राई र प्रमोद दुबैले फोन गर्नुभयो। अमृतको सहमतिमा म गएँ। त्यहाँ एक जना भाइले शम्भु राईको गीत गाए, ‘चिठी तिमीलाई लेखु भन्छु, मनको कुरा मनमै रह्यो’ मलाई यो गीतले साँच्चै लठ्याउँछ। पुरै गीत आँखा बन्द गरेर सुनिरहेँ। अर्को भाइ परशुराम विक पनि अति मिठो गीत गाउने। गायक पृथ्वी जिम्बाको गीत र स्वरको झन् के बयान गर्नु। प्याप्सी चाम्लिङको जंगबहादुर शीर्षकको कविता दमदार थियो। युनिक साम्पाङले सुमधुर स्वरमा गजल गीत गाए। अन्तमा फोटो खिचायौं। सिता थुलुङ, सविता भुजेल, युनिक साम्पाङ, अनिल किराँती लगायतले। कार्यक्रम समग्रमा रमाइलो भयो। कार्यक्रम सकिँदा मेरो मन अझ चंगा भयो।

दिक्तेल प्राकृतिक रुपमा मिलेको अनुहार झैँ सुन्दर लाग्यो। वारी पारी जता हेर्‍यो गाउँ नै गाउँ, बारी नै बारी। खोलाकै किनारमा हुर्केर, बसेर होला दिक्तेल पुगेदेखि खोला देख्न नपाएर मलाई चाहिँ अत्यास लाग्थ्यो। सबैभन्दा सुन्दर त त्यहाँको भाषा शैली नै हो। पूर्वेलीहरु रिसलाई व्यक्त गर्न पनि कलात्मक हुने रहेछन्। बाटोको विकासमा अलि सुस्तता देखिन्थ्यो। सदरमुकाम सम्मको बाटो कच्चि नै थियो। बाटोकै असुविधाले होला सायद बजार पनि महंगो लाग्यो। एउटा बाध्यता के देखेँ भने। त्यहाँका मान्छेहरु हेलिकप्टर चार्टर गरेर बिरामीलाई काठमाडौं लैजाने रहेछन्। ‘कतिखेर के पर्छ भन्नै सकिन्न। २/३ लाख रुपैँया सिरानमा राखेर सुत्नुपर्छ,’ स्थानीयहरु बताउँथे।

यसैबिच आफू पढ्नको लागि बाबुलाई केही दिन शिशु कक्षामा राखेँ।  १० बजे पुर्‍याएर १२ बजे ल्याउनुपथ्र्यो। हिँउदको चिसो र कोठाभित्रको धुलोले बाबु बिरामी पर्‍यो र विद्यालयमा राख्न छोडेँ। खर्च धेरै हुने एक जनाको कमाई। दिक्तेलको महंगो तरकारी, बाबुको लागि मन लाग्दी खेलौना र मोबाइल डाटामा दिनहुँ पैसा खर्च हुन्थ्यो। भन्न केही नभने पनि डर लाग्थ्यो कहिले त अमृतको। परनिर्भर जीवन बाँच्नुको पहिलो अनुभव लिदै थिएँ, म।

वाईफाई थिएन। युटुब हेर्न साह्रै मन लाग्ने। हामी बस्ने घरको पल्लोपट्टि लघुवित्तको अफिस थियो। पुस्तक पसलकी कविता दिदी, सर्मिला म्याडम र म मीलेर एउटा सल्लाह गर्‍यौं। त्यो अफिसमा काम गर्ने कविता दिदिको गाउँको भाइ र सपना नामकी केटीलाई तीनै जनीले रीक्वीस्ट पठाउने अनि पासवर्ड माग्ने। तर तीन चार दिनसम्म पनि रिक्वीस्ट एसेप्ट भएन। म्यासेज पनि पठायौं। अहँ कुनै प्रतिक्रिया आएन। त्यसपछि त्यो अफिसको माथिल्लो तलामा बस्ने दिवाकर सरलाई कविता दिदी र सर्मिला म्यामले चिन्ने रहेछन्। दिवाकर सरको अफिस अलि प..र थियो। हामीले सल्लाह गर्‍यौं। उनी अफिस जाने समयमा तल बाटोमा झरौं र वाईफाईको पासवर्ड मागौं। योजना बमोजिम हामी बाटोमा झर्‍यौं। सर्मिला म्यामले कुरा राख्नुभयो। दिवाकर सरले भने, ‘पासवर्ड नं रुममै छ भोलि दिउँला।’ फेरि भोलिपल्ट पनि एकपटक माग्यौं। तर उनले भने, ‘अचेल पासवर्ड चेन्ज गरिसकेछन् म्याम।’ त्यसपछि भन्न छाड्यौं। युटुबमा मनग्गे भिडियो हेर्ने धोको अधुरै रह्यो।

खोटाङका कवि बम बानियाँको कविता कृति ‘मान्छे जोत्ने सहर’ र खोटाङ विषेशाङ्क जनमत पत्रिकाको बिमोचन कार्यक्रममा उपस्थितिको लागि हार्दिकता साथ सीता थुलुङको फोन आयो। बाबुलाई अमृतसँग अफिसमा छोडेर गएँ। शुभ दिन होटेलको हलमा कार्यक्रम हुँदै थियो। सबिता भुजेल र प्रमोद श्रेष्ठ उद्घोषणमा जुटेका थिए। हलमा मलाई चिन्ने कोही थिएनन्। म एक्लै बस्नुको पीडा र मज्जा दुबै लिँदै थिएँ। सबैका रचना अब्बल थिए। कविता वाचनको लागि मेरो नाम बोलाए प्रमोदले। मैले ‘म बा बन्न सक्दिनँ’ शीर्षकमा कविता सुनाए। कविता सुनाएर फर्केपछि कवि बम बानियाँ र बेदी राइले सोध्नुभयो ‘घर कहाँ? अनि यहाँ केमा हो जागिर म्यामको?’ मैले उत्तर दोहोर्‍याए मेरो होइन श्रीमान् जि.शि.कामा हुनुहुन्छ। बेदी राईले चिन्नुहुँदो रहेछ अमृतलाई। साँझ हुँदै थियो कार्यक्रम नसकिँदै म कोठातिर फर्किएँ।

खोटाङ बसाई लामै हुनेछ सोचेथेँ। दिक्तेल क्याम्पसमा रेगुलर डिग्री पढ्ने इच्छा थियो। २०७३ अषाढ २ मा लोकसेवाले सुर्खेतबाट लिएको स.म.वि.नि परीक्षाको लिखित नतिजा २०७३ चैत २८ मा प्रकाशन भयो। मेरो नाम निस्कियो। अन्तवार्ता वैशाख ११ मा हुने सूचना बमोजिम म सुर्खेत फर्किएँ। अन्तवार्तामा सफल भएर बर्दिया सिफारिस भएँ।

बर्दियाको समथर भूमिबाट अझै पनि खोटाङको डाँडाकाँडा सम्झिरहन्छु। मान्छे पुगेको ठाउँमा सधै बसिरहन सक्दैन तर त्यहाँको सम्झना नमेटिने गरी बोकेर फर्किदो रहेछ। चिसो सिरेटो फाल्दै दिक्तेलको पूर्वमा मुस्कुराउने टेम्के डाँडा, सुन्दर देवीथान र न्यानो आस्था अनि भेटेपछि आफन्त झैं आत्मीय बनेका खोटाङका सहृदयीहरु सुरक्षित छन् मनमा।

प्रकाशित मिति: : 2020-08-08 14:40:05

प्रतिकृया दिनुहोस्

    सङ्घर्ष नै जिन्दगी हो, जहाँ जो सङ बस्यो, जुन प्रकृतिमा रमायो त्यहाँ समायोजन हुन सजिलो पनि होइन, तर पनि हजुरसङ रहेको बहुप्रतिभा,सिर्जनशिलता अनि कलाले त्यो समाज, त्यो वातावरणमा समायोजन हुन सक्नुभयको हो, फुललाइ भमराले आफै खोज्छ नि त

    • 3 बर्ष अगाडि
    • गगन बहादुर खडका