प्रयोग भएका मास्क जथाभावी नफालौं, संक्रमण हुन सक्ला

कोरोना भाइरसको जोखिम दिनदिनै बढिरहँदा उपत्यकामा मास्क लगाउनेको संख्या थपिँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने बानी पनि समाजमा विकसित भएको छ । कसैले फोहरको डंगुरमा मास्क फाल्छन्, कसैले सडकपेटी र गल्लीमा फाल्ने गरेका छन् । यसरी फालिएको मास्कले संक्रमणको खतरा हुन सक्ने विज्ञहरू बताउँछन् ।

संक्रमणबाट जोगिन उपत्यकावासीले एन ९५, केएन ९५, सर्जिकल मास्क र कपडाको मास्क प्रयोग गरिरहेका छन् । यद्यपि सर्जिकल मास्क बढी प्रयोग हुने गरेको छ । प्रयोग गरिएका मास्क सडक, गल्लीलगायतका स्थानमा फालिएको अवस्थामा भेटिने गरेको काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन् ।

‘फोहरको डुंगुरमा मास्क पनि आइरहेका छन् । घर र कार्यालयबाट निस्कने फोहरमा मास्क भेटिएको छ,’ उनले भने, ‘दैनिक कति मास्क फोहरका रूपमा आउँछ भन्ने लेखाजोखा छैन ।’

काठमाडौं महानगरपालिकाको १५ नम्बर वडाका कुचीकार नाइके योगेश केसीका अनुसार पछिल्लो समय फोहरमा धेरै मास्क भेटिन थालेको छ । यो वडामा दैनिक ५० वटा जति यत्तिकै बाटोमा फालिएका मास्क भेटिने गरेको छ । उनले भने, ‘यति संक्रमितले लगाएर फालेको मास्क रहेछ भने त्यसले फोहर संकलन गर्नेलाई पनि संक्रमणको जोखिम हुन सक्छ । बाटामा मास्क देखियो भने नटिप्ने भन्ने हुँदैन ।’

वातावरण विभाग प्रमुख श्रेष्ठका अनुसार मास्क डिस्पोज गर्ने तरिका कमैले मात्र लागू गरेका छन् । फोहरका रूपमा जथाभावी मास्क फाल्दा यसले संक्रमणको खतरा निम्ताएको छ ।

प्रकाशित मिति: : 2020-08-09 08:08:00

प्रतिकृया दिनुहोस्