एकता भाँड्ने काम स्वीकार्य हुँदैन : पोखरेल

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले पार्टीको आन्तरिक एकताको ‘रोडम्याप’ दुई अध्यक्ष बी(चको सहमति मात्र भएको बताउनुभएको छ । उहाँले एकताको महाधिवेशन सम्मको सङ्क्रमणकालीन अवस्थामा बहुमत र अल्पमतको विधिबाट समस्याको समाधान खोज्नु गलत र एकता विरोधी कार्य हुने स्पष्ट पार्नुभयो ।
उपप्रधानमन्त्री पोखरेलले गोरखापत्र दैनिकसँग यो पार्टी एकता गर्दा स्वीकार गरेको सहमतिको विधिसँग मेल खाँदैन । यसो गर्नुहुँदैन भन्नुभयो । उहाँले पार्टी बैठक बस्न कार्यसूूची र प्रस्तावसमेत दुई अध्यक्षको छलफल र सहमतिबाट मात्रै तयार हुने स्पष्ट पार्नुभयो ।
उहाँले निश्चित नेता बसेर छलफल, गुटको भेला, बैठक गर्ने अनि ‘पोजिसन’ बनाएर अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्न आउने स्थिति अनुचित भएको बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले उहाँहरू (ओली–प्रचण्ड) पूर्व पार्टीको ‘लिगेसी’बाट अध्यक्ष हुनुभएको हो । त्यसैले एकताको महाधिवेशनसम्म कसैले हटाउन सक्दैन, हुँदैन । यो एकता भाँड्न खोज्ने कुरा मात्र हुन्छ । यो कुनै पनि हालतमा स्वीकार्य हुँदैन भन्नुभयो ।
उहाँले दुईमध्ये एकलाई हटाएर अर्को अध्यक्ष हुन्छ भन्ने कुरा सर्वथा अनुचित, एकता विरोधी र एकता भाँड्ने कुरा हो भन्नुभयो । दुई अलग ‘स्कुलिङ’ र पृष्ठभूमि बोकेका पार्टीको ६०–४० प्रतिशत सहभागिताका आधारमा गरिएको पार्टी एकता टिकाउन सहमतिसाथ नै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले एकता, सहमति र समझदारीको जग दुई अध्यक्ष बीचको सहमतिले मात्रै भएको स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति: : 2020-08-09 08:14:36

प्रतिकृया दिनुहोस्