विधि र पद्धति मिच्दै गए संकट अझै गहिरिन्छ: नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र सरकार दुवैलाई विधि, पद्धति र निष्ठाका आधारमा सञ्चालन गरिए अहिले देखिएका सबै समस्या समाधान भएर जाने बताएका छन् । नेकपामा संकट चुलिँदै जाँदा वरिष्ठ नेता नेपालले पार्टी र सरकार सञ्चालनमा विधि र पद्धति बसाल्न नसकिए संकट झनै गहिरिएर जाने चेतावनी दिए । यद्यपि पार्टी भने कुनै हालतमा फुट्न नदिने दृढता उनले व्यक्त गरे ।

नेता नेपालले नेकपा एकीकरणदेखि नै आफूले विधि पद्धति र निष्ठालाई केन्द्रबिन्दुमा राख्दै आइरहेको स्पष्ट पारे । ‘दुई अध्यक्षले सुरुदेखि नै विधि र पद्धतिका आधारमा पार्टी चलाउनुपथ्र्यो । त्यस्तो हुन सकेन र अहिले समस्या आयो,’ वरिष्ठ नेता नेपालले राजधानीसँग भने ।

विगतमा दुई अध्यक्षले चोचोमोचो मिलाउँदा विधि र पद्धति मिचिएको र आफूले त्यसविरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको उनले स्पष्ट पारे । विधि पद्धति मिचिँदा आफूले ‘नोट अफ डिसेन्ट’ लेखेर गम्भीर असहमति व्यक्त गर्दै आइरहेको उनले बताए ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्न अरुचि राखेकाले जारी स्थायी कमिटी बैठक अवरुद्ध हुन पुगेको नेपालको आरोप छ । ‘तर सधैं यसरी पार्टीलाई अनिर्णयको बन्दी बनाउन दिइँदैन र विधि मिच्न पनि दिइनेछैन,’ नेता नेपालले भने । आफूलाई सर्वेसर्वा ठानेर विधि मिच्नेहरू अन्ततः आफैं पतन हुने उनले दाबी गरे ।

वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीले स्थायी कमिटीका सदस्यलाई हुल्लडबाजको संज्ञा दिनु आपत्तिजनक भएको बताए ।
‘स्थायी कमिटीमा पार्टीमा लामो त्याग र संघर्ष गरेका वरिष्ठ व्यक्तित्वहरू हुनुहुन्छ, के उहाँहरू सबै हुल्लडबाज हो ?’ नेपालले प्रश्न गर्दै भने, ‘विधि पद्धति मिच्नेहरू अनुशासित हुने तर विधि र पद्धति बसाल्न माग गर्नेहरू कसरी हुल्लडबाज भए ?’

प्रकाशित मिति: : 2020-08-13 10:35:32

प्रतिकृया दिनुहोस्