ओली–दाहालबीच भेटवार्ता, निकासको नजिक पुगेको दाबी

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू निकासको नजिक पुगेको दुवै पक्षका नेताहरूले बताएका छन्। पार्टीभित्रको विवाद अन्त्य गर्ने प्रयासस्वरुप अहिले दुई जना अध्यक्षबीच भेटवार्ता सुरु भएको छ ।

प्रेस संयोजक विष्णु सापकोटा जुगलका अनुसार प्रचण्ड बिहान ११ बजेपछि बालुवाटार पुगेका हुन् ।  नेकपाका दुई अध्यक्षबीच साउन २० गते मंगलवारयता भेटवार्ता भएको थिएन । 

दुई नेताबीच केहीबेरअघिदेखि वार्ता सुरू भएको हो। पार्टीभित्र विवाद सघन बनिरहेका बेला दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवादको सिलसिला टुटेको थियो । 

दुवै पक्षका दोस्रो तहका नेताहरू सहमतिको साझा र मिलन विन्दु खोज्न जुटिराखेको ओली निकट स्रोतले जानकारी दियो। स्रोतका अनुसार पूर्वएमालेका तर्फबाट विष्णु पौडेल, शङ्कर पोखरेल, नेता नेम्वाङलगायत नेताहरू सक्रिय थिए । पूर्वमाओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा, वर्षमान पुनलगायत नेताहरू सक्रिय थिए ।

प्रधानमन्त्री ओलीले ५ दिनमा नेकपामा सहमति जुट्ने संकेत हिजो एक टेलिभिजन अन्तर्वार्तामा गरेका थिए । 

‘हप्ता दश दिन होइन हप्ता भन्दा यतै १० दिनको आधा पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो । भोलि (बिहीवार) १ भनेर गन्न शुरू गर्नु होला,’ ओलीले अन्तर्वार्तामा भनेका थिए ।

ओलीको भनाइलगत्तै भएको भेटवार्तालाई निकै अथपूर्ण रूपमा हेरिएको छ । अध्यक्षद्वयबीच सहमति जुट्न नसक्दा असार १० गते शुरू भएको नेकपा स्थायी कमिटी बैठक अलपत्र पर्दै आएको छ ।

साउन ६ गते केही समयका लागि बसेको बैठक त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको छ ।  केन्द्रीय कमिटी विघटन गरेर महाधिवेशन आयोजक समिति गठन गर्ने विकल्पमा समेत छलफल शुरू भएको नेकपा स्रोतले बतायो । 

महाधिवेशन आयोजक कमिटी बनाएर चैत्र अन्तिम साता महाधिवेशनमा जाने विकल्पमा पनि छलफल भइरहेको स्रोतको दाबी छ । अध्यक्षद्वयबीच छलफल नभएपनि नेकपा विवाद मिलाउन महासचिव विष्णु पौडेल लगायतका नेताहरूले भित्रभित्रै प्रयास गरिरहेका थिए ।

प्रकाशित मिति: : 2020-08-13 12:32:29

प्रतिकृया दिनुहोस्