कोरोना संक्रमित बढेपछि कुलेश्वर-बल्खु क्षेत्र सिल गरिँदै

काठमाडौं महानगरपालिका वडा नम्बर १४ का विभिन्न टोलमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ। बुधबार २९ जनामा कोरोना पुष्टि भएकोमा बिहीबार थप १० जनामा कोरोना देखिएको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिइन्।

उनका अनुसार कुलेश्वर क्षेत्रमा फलफूल व्यवसाय गर्नेहरूमा कोरोना देखिएको छ। साथै बल्खुमा २ जना र लाम्पाटी क्षेत्रमा पनि कोरोना संक्रमित देखिएका छन्।

‘घरबाट खासै बाहिर ननिस्कनेहरूमा पनि कोरोना देखिएपछि समुदायस्तरमै कोरोना फैलिएको आशंका छ,’ उनले भनिन्, ‘घरमै बस्नेहरू पसल आउजाउ गर्दा कोरोना सरेको हुनुपर्छ।’

कोरोना देखिएका क्षेत्रमा सिल गर्न सुरू गरेको उनले जानकारी दिइन्।

‘बार लगाएर बाटो र गल्लीहरू पूर्ण रूपमा बन्द गर्न थालेका छौं। होटल तथा व्यापार व्यवसायका पसलहरू सबै बन्द गरिएको छ,’ उनले भनिन्।

वडा कार्यालयले तीन दिनदेखि सेवा दिन बन्द गरेको छ।

कलंकीमा रहेको मालपोत कार्यालयले बुधबारदेखि सेवा दिन बन्द गरेको उनले बताइन्।

‘मानिसलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेका छौं,’ उनले भनिन्, ‘यहाँबाट कोरोना अन्यत्र फैलियो भने भयावह स्थिति हुनसक्छ।’

बिहीबार बिहान वडाभित्रका सबै टोलमा पुगेर घरभित्रै रहन र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन माइकिङ गरेर जानकारी गराइएको उनले बताइन्।

‘धेरैजसो फलफूल व्यवसायीमा कोरोना देखिएको छ। समुदायस्तरमै कोरोना फैलिएकोले स्थिति भयावह नहुँदै सचेत हुन सबैमा आग्रह गरेको हो,’ उनले भनिन्।

कोरोना देखिएका क्षेत्रमा डिसइन्फेक्सन औषधिसमेत छर्ने काम भइरहेको उनले बताइन्।

‘जहाँ कोरोना देखिन्छ त्यहाँ तारबार लगाएरै सिल गरिएको छ। पसल बन्द गरेका छौं। कोरोना लागेका मानिसको सम्पर्कमा रहेकालाई खोजेर कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ,’ उनले भनिन्।

वडा पूर्णतया सिल गर्न केन्द्र सरकार र महानगरले सहयोग गर्नुपर्ने उनले बताइन्।

‘वडाले मात्रै भनेर मानिसहरूले टेरेनन्। केन्द्रबाट नै सहयोग हुनुपर्ने रहेछ,’ उनले भनिन्।

कोरोना फैलिएका क्षेत्रमा सार्वजनिक बस सञ्चालन गर्न समेत रोक्नेबारे छलफल भइरहेको उनले जानकारी दिइन्।

संक्रमितहरू टेकुलगायत अस्पतालका आइसोलेसनमा राखिएको र उनीहरूको अवस्था सामान्य रहेको उनले बताइन्।

उनका अनुसार फलफूल र तरकारी विक्री वितरण बिहान ५ देखि ९ बजेसम्म मात्रै गर्न दिइएको छ। फुटपाथमा हुने व्यवसाय पूर्ण रूपमा रोक लगाएको उनले जानकारी दिइन्।

सार्वजनिक यातायात पनि रोक्ने तयारी 
सार्वजनिक सवारी सञ्चालनसँगै कोरोनाको जोखिम बढेको भन्दै वडाले सार्वजनिक सवारी पनि तत्कालका लागि चल्न नदिने गरी तयारी थालेको अध्यक्ष सापकोटाले बताइन्। 

‘अहिले सार्वजनिक सवारी साधनहरु चलिरहेका छन्। हाम्रो वडाले मात्रै रोक्न मिल्दैन। तर जिल्ला प्रशासन र महानगरसँग समन्वय गरेर सार्वजनिक सवारी चल्न बन्द गराउने कि भनेर हामी सल्लाह गर्दैछौँ,’ अध्यक्ष सापकोटाले भनिन्। वडामा कोरोना संक्रमणले भयावह रुप लिन थालेपछि अन्य जनप्रतिनिधिहरु, उपभोक्ताहित समितिका पदाधिकारी नगर प्रहरी, जनपथ प्रहरीलगायत सबै सरोकारवालासँग समन्वय गरेर संक्रमण रोकथामका लागि प्रयास गरिरहेको अध्यक्ष सापकोटाको भनाई छ।

अध्यक्ष सापकोटा भन्छिन्,‘संक्रमितहरुसँग म सधै सम्पर्कमै छु। तपाईँहरु नआत्तिनुस् भनेर सान्त्वना दिइरहेकी छु।’ १४ वडाका सबै बिरामीहरुको अवस्था भने सामान्य छ  उनीहरु टेकुलगायत उपत्यकाका अन्य अस्पतालका आइसोलेसनमा उपचाररत छन्।

प्रकाशित मिति: : 2020-08-13 19:01:24

प्रतिकृया दिनुहोस्