तर पार्टी टुक्रिन्‍न

सूर्य थापा

सत्तारुढ नेपाल कम्युनिस्ट पाटी (नेकपा) भित्रको विवाद र चर्काचर्की हेर्दा तत्काल पार्टी टुक्रिने अवस्था छैन। त्यस्तो जोखिम पनि छैन। बहस र छलफल त जारी छ। अलिअलि र्‍याङठ्याङ नमिलेको, आनीबानी र व्यवहारहरू नमिलेको मात्र हो। हिजो भावनाले चल्थ्यो भने आज व्यवहारको यथार्थमा प्रकट हुँदा आआफ्ना सीमा र कमजोरी प्रकट भएको, स्ट्रेन्थ पनि देखा परेको र विकनेस पनि सामुन्नेमा आएको अवश्य हो। तर पार्टी टुक्रिन्न।

प्रधानमन्त्रीले पद छाड्नुपर्ने कुनै एजेन्डा छैन र हुन पनि सक्दैन। हाम्रो स्थायी कमिटीको बैठक २०७७ साल असार १० गते सुरु भयो र हालसम्म जति बैठक भए, जुनजुन एजेन्डा स्वीकृत भए, त्यहाँ यस्तो कुनै विषय एजेन्डामा छैन। कुनै पद त्यागेर समाधान खोज्ने भन्ने विषय होइन।

प्रधानमन्त्री नेकपाको पहिलो अध्यक्ष हुनुहुन्छ। अरू त्यसपछिको बरियताका नेताहरू आउनुहुन्छ। एकताका बेला गरिएका सहमतिले नै यो कुरा स्वीकार गरेको छ। जो पहिलो अध्यक्ष हुनुहुन्छ, मुलुकको प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई पार्टी फुटाउनुपर्ने कुनै जरुरी छैन। अर्को कुरा यस्ता जति पनि विषय छन्, हामी कस्तो बखतमा छौं भन्ने मुख्य प्रश्न हो। नेपाली कांग्रेसको विधान हेरेर वा हिजोको माओवादी केन्द्रको वा नेकपा (एमाले) को बेलाको विधान हेरेर आज नेकपाका सम्बन्धमा छलफल र निर्णय हुन सक्दैन। विधि, पद्धति र संस्थागत निर्णयको गीत पनि नेकपाको विद्यमान वैधानिक व्यवस्थाअनुरूप गाउन सके मात्र उचित हुन्छ, अन्यथा रोइलो मात्रै हुन जान्छ।

प्रकाशित मिति: : 2020-08-14 13:02:10

प्रतिकृया दिनुहोस्