विगत २४ घन्टामा ११,५७५ पीसीआर परीक्षणः ५९४ संक्रमित थपिए, थप ४ को मृत्यु

फछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु हुनुका साथै ५९४ जना बिरामी थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ५९४ जना कोरोना पोजेटिभ पुष्टि भएसँगै सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २५,५५१ पुगेको छ।

यस्तै आज थपिएका ४ जनाको मृत्युसँगै कोभिड-१९ बाट नेपालमा मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको छ।

गएको आठ दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३९ छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले नेपालमा ७,९१३ जनामा सक्रिय सङ्क्रमण छन्। 

यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २४० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। यो सँगै आजसम्म नेपालमा १७,०७७ जना भाइरसमुक्त भएका छन्।

गएको २४ घण्टामा नेपालमा सर्वाधिक ११ हजार ५ सय ७५ वटा पीसीआर परीक्षण गरिएको छ। यो अहलेसम्मकै सर्वाधिक परीक्षण हो।

यो सँगै नेपालमा हालसम्म ४९४,६१३ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा थप ११९ जना संक्रमित
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार उपत्यकामा ११९ जना कोरोना संक्रमित थपिएको जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँका ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ गरी उपत्यकामा ११९ जनामा कोरोना पुष्टि भएको हो।

प्रकाशित मिति: : 2020-08-14 16:48:22

प्रतिकृया दिनुहोस्