चार महिनाभित्र सामान्य अवस्थामा फर्कनेछाैँ

गोरखापत्र

काठमाडौँ

कोरोनाभाइरस (कोभिड १९) सङ्क्रमणको असर र जोखिमले मानिसको दैनिक जीवन नै कठिन अवस्थामा धकेलेको छ । दैनिक जीवनका गतिविधि चलायमान नभएसँगै आर्थिक क्षेत्रमा पनि धक्का लागेको छ । यस्तो अवस्थामा कोरोना महामारीपछि नेपालको अर्थतन्त्र कस्तो रहला र अर्थतन्त्र चलायमान बनाउन के गर्नुपर्ला ? लगायत समसामयिक विषयमा गोरखापत्र अनलाइनका पत्रकार मुकुन्द गैरेले अर्थविद् डा. डिल्लीराज खनालसँग गर्नुभएको कुराकानीको सम्पादित अंश ।


– कोरोनाको कारण विश्वको अर्थतन्त्रलाई नै ठुलो धक्का दिएको भन्ने बताइन्छ । अब नेपालको महामारीपछिको अर्थतन्त्र कस्तो रहला ?
कोरोनाले विश्वभरिको अर्थतन्त्रलाई नै प्रभाव पारेको छ । यसको प्रत्यक्ष–अप्रत्यक्ष असर नेपालमा पनि पारेको छ । हामी तीनदेखि चार महिनाको बीचमा कोरोना सङ्कटबाट सामान्य अवस्थामा फर्कन्छौँ भन्ने मेरो अनुमान छ । सरकारले देशको अर्थतन्त्रलाई जोगाउन विभिन्न किसिमका कामहरू अगाडि ल्याएको छ । सरकारले राहत प्याकेजदेखि विभिन्न किसिमका सुविधा, छुटहरू मौद्रिक नीतिमार्फत सम्बोधन गरेको छ । यस्तो किसिमको नीतिले उद्योग व्यवसायीहरूलाई राहत मिलेको अवस्था छ ।
होटल, पर्यटन, निर्माण, उद्योग, यातायातलगायत क्षेत्रमा अनुमान गरेभन्दा बढी असर गरेको पक्कै हो । छिमेकी देशमा व्यापक रुपमा फैलिँदैगएको कारोनाको असर नेपाललाई पनि परेको छ ।
नेपालको अर्थतन्त्रमा योे चार महिनाको अवधिमा असर पारेको भएता पनि अघिल्लो वर्ष अर्थतन्त्र अवस्था राम्रो देखिन्छ । अहिले यो वर्ष मेरो अनुमानमा कोरोना केही महिनाभित्र नियन्त्रणमा आउँछ । कोरोनाले भूकम्पजस्तो भौतिक सम्पत्ति ध्वस्त पार्ने काम गर्दैन । जहाँ–जहाँ बढी कोरोनाको प्रभाव बढी छ, त्यस क्षेत्रमा अलि कडा बनाउने र सङ्क्रमण कम भएको क्षेत्रमा सावधानी अपनाएर उद्योग, व्यवसाय खोल्नुपर्छ । पहिला लकडाउन हुँदा अर्थतन्त्रमा केही असर गरेको भए पनि लकडाउन खुलेसँगै अर्थतन्त्र चलायमान भएको देखिन्छ । आशा गराँै, केही महिनाभित्र कोरोनाले पारेको सङ्कट सामान्य अवस्थामा फर्किएसँगै आगामी दिनमा अर्थतन्त्र चलायमान हुने छ ।

प्रकाशित मिति: : 2020-08-17 14:57:33

प्रतिकृया दिनुहोस्