पीएसजी २५ वर्षे इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनलमा

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लब २५ वर्षको इतिहासमा पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।

लिस्बनमा मंगलबार भएको पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लेपजिकमाथि ३–० को जित दर्ता गर्दै पीएसजी फाइनलमा प्रवेश गरेको  हो। पीएसजीको जितमा मार्किन्हस, एन्जल डी मारिया र जुआन बर्नाटले १/१ गोल गरे।

मार्किन्हसले खेलको १३ औँ मिनेटमा पीएसजीलाई अग्रता दिलाए। एन्जल डी मारियाले मैदानको बायाँ भागबाट झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारलाई मार्किन्हसले हेडरमार्फत गोल गरेका थिए।

खेलको ४२ औं मिनेटमा पीएसजीले डी मारियाको गोलमा अग्रता दोब्बर पार्‍यो। गोलरक्षक गुलाक्सीले क्लियर गर्ने क्रममा मिस पास गरेपछि आएको बललाई नेयमारले फ्लिक गरेर  अनमार्क रहेका डी मारियातर्फ दिएका थिए। 

दोस्रो हाफको ५६ औं मिनेटमा पीएसजीले जुआन बर्नाटको गोलसँगै ३–० को अग्रता लियो। मुकिएलेले बायाँ कर्नरमा बल फुस्काएपछि डी मारियाले उक्त बलमा दिएको क्रसलाई बर्नाटले गोलमा परिणत गरे। 

लेपजिकले बल फुस्काउँदा मुकिएलेमाथि फल भएको भन्दै विरोध गरेपनि भिएआरले गोललाई मान्यता दिएको थियो।

यस जितसँगै पीएसजीले फाइनलमा स्थान पक्का गरेको छ। दोस्रो सेमिफाइनलमा बुधबार बायर्न म्युनिख र लियोन भिड्नेछन्।

प्रकाशित मिति: : 2020-08-19 05:55:29

प्रतिकृया दिनुहोस्