जमैकाको पहिलो हार, सन्दीपले लिए विकेट

क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटमा सन्दीप लामिछाने आवद्ध टिम जमैका तलावाज आफ्नो दोस्रो खेलमा पराजित भएको छ। शुक्रबार बिहान सम्पन्न खेलमा जमैकालाई ट्रिनबागो नाइट राइडर्सले ७ विकेटले पराजित गरेको हो।

जमैकाले दिएको एक सय ३६ रनको लक्ष्य ट्रिनिबागो नाइट राइडर्सले ११ बल अघि नै तीन विकेट गुमाएर भेट्टायो।

नाइट राइडर्सका लागि सुनिल नारायणनले सर्वाधिक ५३ रन बनाए।

उनले ३८ बलमा ७ चौका र २ छक्कासहित ५३ रन जोडे।

नारायणले लगातार दोस्रो खेलमा अर्धशतक पूरा गर्ने क्रममा ३५ बलमा आँकडा पूरा गरे।

दोस्रो विकेटका लागि उनले मुनरोसँग ७५ रनको साझेदारी गरेका थिए ।

११ औं ओभरको पाँचौ बलमा सन्दीपले नारायणको महत्त्वपूर्ण विकेट लिएका थिए। नारायण ठूलो सट खेल्ने धुनमा डिप फाइन लेगमा कार्लोस ब्रेथवेटको हातबाट समातिएका थिए।

नारायणपछि क्रिजमा आएका ड्यारेन ब्राभो १७ बलमा १४ रन जोड्दै मुजिब उर रहमानको बलमा उनकै हातबाट समातिए । मुनरो ४६ बलमा ४९ रन जोड्दै नटआउट रहे । उनले ५ चौका र २ छक्का प्रहार गरे । कप्तान पोलार्ड ५ बलमा १ चौकासहित ५ रन जोड्दै नटआउट रहे ।

जमैकाका लागि सन्दीपले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । मुजिबले ४ ओभरमा १३ रन दिँदै १ विकेट हात पारे । एडवार्ड्सले पनि ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन जोडेको थियो। ओपनर ग्लेन फिलिप्सले सर्वाधिक ५८ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन्। फिलिप्सले ४२ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै छैटौं विकेटका रुपमा जेडन सेल्सको शिकार बनेका थिए ।

यस्तो रहयो सन्दीपको ओभर :

सन्दीप नवौं ओभरमा बलिङ गर्न आएका थिए । मुनरो र नारायणको साझेदारी ६० रन पुगेपछि आएका सन्दीपले पहिलो बल डट राखे । त्यसपछि दुई खेलाडी लगातार ४ बलमा २ लेग बाइसहित ४ रन जोड्न सफल भए । अन्तिम बल भने डट रह्यो। यो सँगै सन्दीपले पहिलो ओभरमा २ लेगबाइसहित ४ रन खर्चिए।

११ औं ओभरमा भने सन्दीपले महत्त्वपूर्ण विकेट हात पारे। पाँचौ बलमा सुनिल नारायण ठूलो सट खेल्ने धुनमा डिप फाइन लेगमा कार्लोस ब्रेथवेटको हातबाट समातिएका थिए । त्यसअघि पहिलो बलमा २ रन दिएका सन्दीपले दोस्रो बलमा १ रन र तेस्रो बलमा मुनरोबाट छक्का खाएका थिए। चौथो बलमा १ रन लिएपछि नारायण स्ट्राइकमा पुगेर आउट भए। अन्तिम बलमा मुनरोले १ रन लिए ।

यो सँगै आफ्नो दोस्रो ओभरमा सन्दीले ११ रन खर्चिएर महत्वपूर्ण १ विकेट लिए।

१३ औं ओभरमा सन्दीपले पहिलो बल डट राखेका उनलाई ड्यारेन ब्राभोले दोस्रो बलमा लङ अनतर्फ चौका प्रहार गरे । तेस्रो बलमा १ रन दिएका उनले चौथो बल डट र अन्तिम २ बलमा १-१ रन दिए। यो सँगै उनले आफ्नो तेस्रो ओभरमा ७ रन खर्चिए।

आफ्नो अन्तिम स्पेल लिएर १५ औं ओभरमा आएकासन्दीपले यो ओभरमा १० रन खर्चिए। पहिलो बलमा १ रन दिएका सन्दीपले दोस्रो बलमा मुनरोबाट चौका खाए । तेस्रो बलमा मुनरोले लामो सट प्रहार गर्ने धुनमा ब्रेथवेटले क्याच ड्रप गरे। चौथो बलमा कट बिहाइन्ड अपिल अम्पायरले आउट दिएनन् । पाँचौ बलमा १ रन र अन्तिम बलमा २ रन खर्चंदै सन्दीपले स्पेल पूरा गरे।

यो सँगै आफ्नो दोस्रो खेलमा ४ ओभरमा ३० रन खर्चिएर १ विकेट लिए। यो सहित जारी सीपीएलमा सन्दीपको यो दोस्रो विकेट हो।

प्रकाशित मिति: : 2020-08-21 08:58:11

प्रतिकृया दिनुहोस्