यात्रा अनुभव

तिलिचो तालमा पाइला टेक्दा.......

विजय पाैडेल

काठमाडाै‌ं

समुद्र सतहदेखि ४९१९ मिटरमाथि। जताततै निलो आकाश, वरिपरी सेताम्मे हिमाल, बीचमा निलो ताल। अन्नपूर्ण क्षेत्रमा पर्ने तिलिचो ताल विदेशी पर्यटकको लोकप्रिय गन्तब्य हो। हिमालपारीको जिल्ला मनाङको तिलिचो तालमा पछिल्लो समय स्वदेशी पर्यटकको बाक्लो चहलपहल देख्न सकिन्छ।

म्यूजिक भिडियो र फिल्म निर्देशकको रोजाईमा परेको यो ताल नेपालीमाझ निकै लोकप्रिय गन्तब्य हो। फिल्म ‘ए मेरो हजुर-२’ मा ‘कसम हो कसम...’ बोलको गीत यही तालको सेरोफेरोमा खिचिएको छ। यहाँ पुग्ने जो कोहीले पनि यहाँका सुन्दर तस्बिरहरू आफ्ना सामाजिक सञ्जालमा राखेका हुन्छन्। जसले हजारौं स्वदेशी पर्यटकलाई तालसम्म पुर्‍याउन सहयोग गरेको हुन्छ।

आफू ट्राभल अपरेटर व्यवसायी भएकाले धेरैपल्ट स्वदेशी तथा विदेशीलाई तिलिचोसम्म यात्रा गराए पनि आफूले भने श्रव्य दृश्य र कथा मात्रै सुनेर र पढेर चित्त बुझाउँदै आएको थिए। 

धेरै अगाडिदेखि त्यहाँजाने इच्छा भए पनि व्यस्तताको कारण मौका मिलिरहेको थिएन। वर्ष २०२० मा त झन् कोरोना महामारीले लकडाउन र यात्रा प्रतिवन्धका कारण कतै हिँड्डुल गर्नै पाइएन। 

लकडाउन खुकुलो भएसँगै ६-७ महिनादेखि घरभित्र गुम्सिएर बसेका मानिसहरू क्रमशः घुमफिरमा निस्कन थालेका छन्। सोही कारण आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्यांकले देखाएको छ।

तिहारको भोलिपल्ट अचानक मेरो तिलिचो यात्राको योजना बन्यो। काठमाडौंका केही युवाको तिलिचो ट्रिपमा म पनि सहभागी भएँ। 
पाँच जनाले तिलिचो जाने योजना पहिलेनैं बनाएका थिए। यात्राको दुई दिनअघि मात्र मेरो पक्का भयो। 

टोलीमा ७ जना भइयो- भावेश मण्डल, समिर भट्टराई, प्रज्वल वस्ताकोटी, छिरिङ फुन्सोक ठकुरी, स्वेता कपाली, अनिल आचार्य र म। 
योजना अनुसार हामी दुई भाई पोखरादेखि निस्कियौं, उता काठमाडौंको टोलीसँग डुम्रेमा भेट्ने सल्लाह भयो। स्कार्पियो आफैंले हुइक्याउँदै डुम्रेमा बाँकी साथीसँग भेट भयो। बेशीसहर पुगेर केहीबेर छुटेको सरसमान र ड्राइफुड्स किनेर यात्रा अगाडि बढ्यो।

विस्तारै अफरोड सुरू भयो। खुदी, भुलभुलेहुँदै जगत पुग्दा बेलुकाको ५ बजिसकेको थियो। हाम्रो पहिलो रातको बास मण्डला गेष्ट हाउसमा भयो।
परिवारले सञ्चालन गरेको होटल व्यवस्थित थियो। मिठो खानामा सञ्चालक जोडी निकै मिहिनेत र सत्कार मिसिएको थियो। मर्स्याङ्दीको तिर रहेको होटलबाट खोला सुसाएको र पारीपट्टिको सुन्दर झरनाको आवाजले मन्त्रमुग्ध भइयो। कति अनन्दको रात, मिठो सपनासँगै पहिलो रात बित्यो।
दोस्रो दिन- झरनाले मोहनी लगायो।

बिहान ७.३० बजे ब्रेकफास्ट पश्चात मर्स्याङ्दीको किनारै किनार अगाडिको यात्रा सुरू भयो। बाटाभरी देखिएका झरनाले मन प्रफुल्लित बनायो। बेलाबेला रोक्दै झरनाको आनन्द लिँदै फोटो र सेल्फि खिँच्दै गाडि उकालो लाग्यो। विशेषगरि च्याम्चेको झरनाले मोहनीनै लगायो। 

अहो! कच्चीबाटो भए पनि निकै सुधारोन्मुख रहेछ। चार वर्ष अगाडि थोरोङ्लापास हिँडेका ३ जना रसियन पाइलटलाई चामेसम्म पुर्‍याउन यहिँ बाटो आएको थिएँ।  त्यतिखेर बाटोभरि खाल्डा खुल्डी, ढुंगे सडक, पहरा निकै डरलाग्दा बाटो थियो। त्यो सम्झेर मनमा एक किसिमको पिर थियो। तर जसैजसै गाडी अगाडि बढ्दै गयो, सडक सुधारिएको रहेछ, गाडी कुदाउँदा निकै सजिलो महसुस गरेँ। 

अफरोड ड्राइभिङ निकै इन्जोय गरेँ यसपल्ट। बाटाभरी गफ र जोक्स हान्दै माथि हिमाली भूगोलतिर गाडी हुइँकियो। मनाङ-लमजुङको सिमानाको भीर निकै डरलाग्दो थियो। हाम्रा सहासिक सेनाले एक दशक अगाडि कच्ची सडक, घुम्ती अनि उकालो पहाड फोरेर ट्र्याक खोलेका थिए। 

बाटो खोल्ने क्रममा केही सैनिकले ज्यानसमेत गुमाएका थिए। अहिले ढलान गरेर निकै सजिलो बाटो बनाएको रहेछ। केही बेर अगाडि बढेपछि ताल गाउँ, मर्स्याङ्दी किनारमा मिलेको मनाङ गाउँ, छेवैमा सुन्दर झरना। यस्तो सुन्दर दृश्य कसले छुटाउला र< हामी पनि एकछिन रोकेर सुन्दर दृश्यपान गर्दै केही फोटा खिचेर अगाडि बढ्यौं। गाडी विस्तारै ताल, धारापानी, दानाक्यु, तिमाङहुँदै सदरमुकाम चामे (२६७० मि) पुगियो। 

एड्भेञ्चर ड्राइभ गर्दै झरना, भीर पहरा, पहाडी क्षेत्र छिचोल्दै १२ बजे पुग्नुपर्ने चामे ३ बजे पुगेपनि अत्यन्त रमाइलो लाग्यो। त्यहाँ दिउँसोको लञ्च पहिलेनै अर्डर गरेका थियौं। प्रहरीले पिसिआर रिपोर्ट हेर्‍यो र बाटाको वस्तुस्थिति बारे जानकारी गराए। 

त्यसपछि गाडी पुल तरेर मर्स्याङ्दीको दाँयाँ च्याप्दै भ्राटाङ (स्याउ फार्मिङ) भएर अगाडि बढ्यो। बिस्तारै उकालो च्याप्दै गर्दा लम्जुङ हिमाल, अन्नपूर्ण ३,२ र १ पश्चिम हुँदै पश्चिम–दक्षिण तर्फ सर्दै गएको महुसस हुन थाल्यो।

हिमाल पारीको भूभाग, तेर्सो बाटो, पिसाङ पिकको टुप्पो हेर्दै पिसाङ, हुम्देहुँदै मनाङ भ्याली प्रवेश गर्‍यौं। केहीबेरको तेर्सो बगरे सडक पछ्याउँदै मनाङ (३५४०मि) नजिक पुगेर गाडी पश्चिमतिर बाटो छुट्टियो। 

केहि समयको ड्राईभ पश्चात मर्स्याङ्दीको काठे पुल भेटियो। पुल अलिक खतरा लागेर खोलाबाटै जिप तारेँ। त्यसपछि हल्का उकालो कच्चीबाटो हुँदै ४३०० मि. पार गरि खाङसार पुगेर बास बस्यौं। 

मित्र प्रज्वलले उचाइँको कारण हल्का सास फेर्न गार्‍हो भएको महसुस गरे। सबै साथीहरू ‘लेकको दवाई’ भन्दै गार्लिक सुप थपि थपि खान लागे। यति सुप खाए कि फर्किदा समिरलाई लसुन फोविया नैं भयो। लसुन कतै देख्नै नहुने। बेलुकाको डिनर पछि बेलैमै सुत्यौं।
तेस्रो दिन - तिलिचो वेस क्याम्प 

तेस्रो दिन निकै उत्साहित थियौं। बिहान ब्रेकफास्ट, आवश्यक सरसमान र गाडी खाङ्सारमै छोडेर ट्रेक सुरू भयो। मौसम सफा थियो। हिमाल नजिकै थियो। तीन घण्टासम्म खोलाको किनारै किनार, कहिले हल्का उकालो कहिले तेर्सो हिँडाईपछि श्रीखर्क पुगेर लञ्च खायौं।     

त्यसपछि पदयात्रा फेरि अगाडि बढ्यो। ल्याण्डस्लाइडको गोरेटो हुँदै झोलुङगे पुल तरेर, पहरा र भीरको बाटो छिचोल्दै ४ घण्टाको निरन्तर हिँडाइ पछि बेसक्याम्प पुग्यौं। यो पदमार्गलाई तिलिचो यात्राको सबैभन्दा जोखिम मानिन्छ। माथिबाट ढुंगा खस्ने, पहिरो जाने र चिप्लिने डर हुन्छ, उच्च सतर्कता अपनाउन जरूरी छ।

४१०० मिटर उचाईको बेसक्याम्पमा ४ वटा होटल छन्। त्यसदिन हामीसहित २० जना जति पर्यटक थियौं। छिट्टै खाना खाएर सुत्ने तरखर गरियो, भोलि अन्तिम दिन तिलिचो ताल पुग्ने मानसिक रूपले तयार हुँदै तालको कल्पनामा छिट्टै सुतियो। 

वेसक्याम्प टु तिलिचो ताल

वेस्क्याम्पबाट घोडाको सुविधा पनि रहेछ। एकतर्फीको भाडा ५ हजारदेखि ६ हजारसम्म लाग्दोरहेछ। ४ जना साथीहरू घोडामा जाने निधो गरे। हामी ३ (भावेस, अनिल र म) हिँडेरै जाने भएकोले बिहानै ६ बजे चिया र पोरिज खाएर ज्यान फूर्तिलो बनाइ यात्रामा छिट्टै निस्कियौं।


हामी हिँड्दा रिमरिम उज्यालो थियो। बिस्तारै जाँदा हिमालको टुप्पोबाट घाम झुल्केको दृश्य निकै मनमोहक देखियो। हाम्रो यात्रा विस्तारैअगाडि बढ्दै गयो। बीचबीचमा थकाई मार्दे रमणीय दृश्यको मज्जा लुट्दै क्रमशः उचाईतिर लम्किदै गयौं। पदमार्गमा चौरी चरिहेको बथान रहरलाग्दा थिए।  
२२ घुम्ति निकै रोचक लाग्यो। निकै लामो भए पनि रमाइलो थियो। हिउँको बाटो कर्‍याप कर्‍याप टेक्दै स्याँस्याँ र फ्याँफ्याँ गर्दै आफ्नै गतिमा यात्रा अगाडि बढ्यो। 

घुम्ति पार गर्न कम्तिमा २ घण्टा लाग्दोरहेछ। म भने ठाडै माथि उक्लिएँ। छिट्टै पुगे। माथिबाट घोडाको लश्करको फोटो र भिडियो खिच्न पाउँदामज्जा लाग्यो। घोडाभन्दा अगाडि पुग्दा गर्वको महसुस गरेँ। यात्रा कठिन भए पनि मलाई चाहिँ रमाइलो लागिरहेको थियो। दशैंतिर कोरोना पोजिटिभ देखिएको म स्वास्थलाभपछि पहिलो पटक बाहिर निस्किएको थिएँ। 

अन्तिम ३५ मिनेट

तिलिचो ताल पुग्न सांकेतिक पाटीमा ३५ मिनेट लेखेको थियो। मनमा एक्कासी सहास थपिएर आयो। त्यसपछिका बाटा तेर्सो थिए। बाटोभरि हिउँ छपक्कै थियो। बिस्कुन लाएसरी। हिउँको बाटो कर्‍यापकर्‍याप टेक्दै अन्तिम पाइलाअगाडि सार्दै गएँ। बोर्डमा ३५ मिनेट लेखेपनि हामीलाई करिब १ घण्टा लाग्यो त्यो बाटो छिचोल्न। दिउँसो ११ बजेको थियो, तिलिचो ताल किनार पुग्दा। मनोरम तालमा पुग्दा सबै दुःख र थकाइ हराएर गयो। 

कठिन यात्रापछि मात्र राम्रो दृश्य आउँछ भनेजस्तै तिलिचो पुग्दा आनन्दको महसुस भयो।  हिमालको चिसो हावा चलेको थियो। हावा वेस्सरी लागेकोले नजिकैको चिया पसलमा अढेस लगाएर दृश्य हेर्‍यौं। कहाँ मनले मान्थ्यो र कठ्याङ्ग्रिएको हात गोजीबाट निकाल्दै भटाभट फोटो खिच्न थालेँ।

निकै चुनौतिपूर्ण थियो चिसो मौसम, पञ्जा खोल्दै फोटो खिच्न। हात ठिड्याएर फोटो  खिच्नासाथ हात गोजीमा पुगिहाल्थ्यो । ताल छेउ घुमेर करिब ४५ मिनेट जति मनोरम दृश्यको स्वाद लिँदै अनगन्ति फोटाहरू कैद गर्‍यौं। प्राकृतिक सुन्दरताले भरिपूर्ण ताल सेरोफेरोले मन्त्रमुग्ध बनायो। यति सुन्दर ताल कसरी आफैं निर्माण भयो होला? सधैं यहीँ बसिरहुँ, यहीको सुन्दरतामा डुबुल्की मारिरहूँजस्तो लागेको थियो। तर, भनिन्छ नि टुप्पामा कोही पनि धेरै बेर अडिन सकिदैन। तिलिचो तालका यादहरू मनमस्तिक र क्यामेरामा कैदको पोको लिएर हामी फर्कियौं। 

फर्कने बेला घोडामा फर्किने सल्लाह भयो। संयोगले एउटा घोडाको नाम पनि विजय रहेछ। मित घोडामै चढेर ओरालो झर्‍यौं। केहीबेर हामी बीचमा थियौं, अलिक पर पुगेर अगाडि जाने ईच्छा भयो। घोडा बेतौडले दौडियो। सातै जाने गरी २५ मिनेटमा श्रीखर्क पुर्‍यायो। डर ,भय र आनन्दको मिस्रित अनुभव रह्‍यो।

केही ठाउँमा भीरको बाटो गार्‍हो रहेछ। ‘मुटु दह्राे बनाएर आउनुपर्छ र साथमा स्टामिना पनि। अन्धधुन्ध तिलिचो नआउनुहोला, पुरा तयारी गरेर मात्रै आउनुहोला,’ अनिल भाईले सुझाव दिँदै भने।

जिन्दगीमै अवस्मरणीय यात्रा बन्यो तिलिचो ताल। सबै दुःख, कष्ट, थकाइ भुलेर स्वर्गको अनुभूति भयो। कल्पना गरेभन्दा कयौं गुणा मनमोहक रहेछ ताल। साच्चै जीवनमा एकपटक पुग्नैपर्ने तिलिचो ताल । 
आँखा वरिपरी घुमिरहेछ, अझै झलझली याद आइरहेछ! 


कसरी जाने र खर्च
•    पहिलो दिन : काठमाडौं या पोखरादेखि जगत, ताल वा धारापानीसम्म गाडी वा मोटरसाइकलको यात्रा ।
•    दोस्रो दिन : जगत, ताल वा धारापानीबाट चामे हुँदै खाङ्सारसम्म गाडी वा मोटरसाइकलको यात्रा ।
•    तेस्रो दिन : खाङ्सारदेखि तिलिचो बेसक्याम्पसम्म पैदलयात्रा ।
•    चौथो दिन : बेसक्याम्पबाट तिलिचो तालसम्म पुगेर खाङ्सारसम्म पैदलयात्रा फर्किने ।
•    पाँचौ दिन : खाङ्सारबाट गाडीमा बेशिसहरसम्मको यात्रा ।
•    छैठौं दिन : बेशीसहरबाट काठमाडौं या पोखरा गाडीमा यात्रा ।
•    आवश्यक सामाग्री : औषधी, स्टिक, न्यानो कपडा,ड्राइ फुड,चकलेट ।
•    ६ दिनको तिलिचो प्याकेजः रू २२ देखि २५ हजार प्रति व्यक्ति (३ दिन गाडि, ३ दिन ट्रेक, ब्रेकफास्ट, लञ्च र डिनर समावेश) । 

 (पौडेलले सुरेन्द्र राना 'घुमफिरेसँग गरेको कुराकानीमा आधारित। पौडेल इमेज होलिडेजका प्रवन्ध निर्देशक तथा युवा पर्यटन व्यवासायी हुन्।)

अन्य तस्वीर

प्रकाशित मिति: : 2021-01-03 07:03:00

प्रतिकृया दिनुहोस्