पाकिस्तानविरूद्धको तेस्रो टेस्टमा इंग्ल्यान्डको उत्कृष्ट प्रदर्शन, क्रोलीको शतक

बिएल संवाददाता

साउथह्याम्टन

पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा इंग्ल्यान्डका जाक क्रोलीले शतक प्रहार गरेका छन्।

साउथह्याम्टनमा शुक्रबार टस जितेर ब्याटिङ सुरु गरेको इंग्ल्यान्डका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका क्रोलीले पहिलो दिनको खेल सकिँदा १ सय ७१ रन बनाएर खेलिरहेका छन्।

उनको यो पहिलो शतक हो। उनले पहिलो शतक बनाउने क्रममा २६९ बल खेलेर १९ चौका प्रहार गरे।

उनलाई जोस बटलरले साथ दिइरहेका छन्। बटलर ८७ रन बनाएर खेलिरहेका छन्। दुईबीच पाँचौ विकेटका लागि २०५ रनको साझेदारी भइसकेको छ।

क्रोली र बटलरले उत्कृष्ट ब्याटिङ गरेपछि इंग्ल्यान्डले पहिलो दिनको खेल सकिँदा ४ विकेटको क्षतिमा ३३२ रन जोडेको छ।

इंग्ल्यान्डका ओपनरद्वय रोरी बर्नस् ६ रन र डोम सिब्ली २२ रनमा आउट भए। यस्तै कप्तान जोए रुट २९ रनमा आउट हुँदा ओले पोप ३ रनमै यासिर शाहबाट बोल्ड भए।

पाकिस्तानका यासिर शाहले २ तथा शहिन अफ्रिदीले १ विकेट लिए ।

दुई टिमबीचको यो टेस्ट निर्णायक हुनेछ ।

यसअघि पहिलो टेस्टमा इंग्ल्यान्ड विजयी भएको थियो भने वर्षाले प्रभावित दोस्रो टेस्ट बराबरीमा सकिएको थियो। त्यसैले तेस्रो टेस्ट जिते इंग्ल्यान्डले सिरिज जित्नेछ। पाकिस्तान विजयी भए सिरिज बराबरीमा सकिनेछ।

प्रकाशित मिति: : 2020-08-22 08:33:33

प्रतिकृया दिनुहोस्