कोरोनामुक्त भएकाे डेढ महिनाकै अवधिमा नारायणी अस्पतालकी नर्स दोस्रोपल्ट संक्रमित

जो कोही संक्रमित हुनसक्ने सम्भावना

सांकेतिक तस्वीर: एपी

वीरगञ्जमा कोरोना संक्रमणमुक्त भएकी एक ३६ वर्षीय नर्स डेढ महिनाकै अवधिमा दोस्रोपल्ट संक्रमित भएकी छिन्।

नारायणी अस्पतालको आईसियु वार्डमा कार्यरत ३६ वर्षीय स्टाफ नर्सको भदौ १० गते राति दोस्रो पटक संक्रमण भएको रिपोर्ट आएको हो।

उनी डेढ महिना पहिले नारायणी अस्पतालमा काम गर्ने क्रममा संक्रमित भएपछि एक सातापछि निको भएकी थिइन्।

उनका ४० वर्षीय श्रीमान् स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक हुन्। श्रीमान/श्रीमति स्वास्थ्यकर्मी भएको हुँदा कोबाट कसमा संक्रमण सर्‍यो भन्ने यकिन गर्न गाह्रो भएको छ।

उनीहरुको एक १४ वर्षीय छोरा पनि संक्रमित भएका छन्। तीनै जना नारायणी अस्पतालकै क्वाटरमा बस्दै आएका थिए। 

दोस्रोपल्ट संक्रमित नर्सले बिएल नेपाली सेवासँग भनिन् ,‘मलाई आफैं विश्वास लागेको छैन, म कसरी दोस्रोपल्ट पोजेटिभ भएकी छु। पहिले लक्षण थिएन भने अहिले छाती दुख्ने समस्या छ।’

विश्व स्वस्थ्य संगठनका अनुसार एक जना संक्रमित निको भएको तीन महिना अर्थात ९० दिनसम्म दोस्रोपल्ट संक्रमित हुने सम्भावना एकदमै न्यून रहेको छ।

तर, अहिले निको भएको संक्रमित डेढ महिना अवधिमै दोस्रोपल्ट संक्रमित हुनु नेपालमै यो पहिलो घटना भएको नारायणी अस्पतालका चिकित्सक डा‍ उदयनारायण सिंह बताउछन्।

‘हामी आफैलाई अचम्म लागेको छ। कोरोना सम्बन्धि धेरै तथ्य बाहिर आउन बाँकी छ,’उनले भने, ‘निको भएका र सामान्य व्यक्ति कुन बेला को ठिक छ, कुन बेला संक्रमति भइहाल्छ कुनै ग्यारेन्टी भएन्।’

प्रकाशित मिति: : 2020-08-27 13:31:39

प्रतिकृया दिनुहोस्