नेपाल आइडल सिजन ३ काे उपाधि मोरङ पथरीकी सज्जा चौलागाईंलाई

मोरङ, पथरीकी सज्जा चौलागाईले नेपाल आइडल सिजन–३ को उपाधि उचालेकी छन्।

शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा दोस्रो प्रवीण बेडुवाल भए भने तेस्रो किरणकुमार भुजेल भए।

देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले शुक्रवार साँझ नेपाल आइडलको विजेता घोषणा घोषणा गरेका हुन्। 

नेपाल आइडलका एक जना स्टाफमा कोरोना संक्रमण पुष्टि भएसँगै आइडलको फाइनलको प्रत्यक्ष प्रसारण बीचमै रोकिएको थियो। स्टाफ, जज र प्रतिस्पर्धी सबै आइसोलेसनमा गए पछि, कार्यक्रम लाइभ चल्दाचल्दै बीचमै रोकेर एक सूचना प्रसारण गरी विजेताको घोषणा अध्यक्ष थापाले गरेका हुन्।

कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन्।

देशभरबाट छानिएका विधिन्न प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट ३ मा सज्जा, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए।

नेपाल आइड-३ को उपाधिसहित विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्। यसैगरी दोस्रो हुने प्रविणले १५ लाख र तेस्रो हुने किरणले पाँच लाख नगद प्राप्त गरेका छन् ।

आइडल प्रोजेक्ट हेड सुरेश पौडेलका अनुसार कोभिड–१९ का कारण ग्रान्ड फिनाले सामान्य तवरमै सञ्चालन गरिएको हो। आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको थियो।

मोरङ पथरीकी सज्जा नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थालेको थियो । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ।

कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन्। बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन्।

ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन्। उनको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो। कलेज पढ्दै, लाइभ गीत गाउँदै उनको दैनिकी चलिरहेको थियो। लाउन्जहरूमा हिन्दी, रक र अंग्रेजी गीत बढी गाउनुपथ्र्यो। तीनदेखि चार घण्टा निरन्तर गीत गाउनुपथ्र्यो।

पहिलो पटक उनले फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाएकी थिइन्। गाउनका लागि उनलाई आमाबुवाले सधै सपोर्ट गर्ने गर्थे। स्नातक तहमा अध्ययनरत सज्जा पहिलो महिला आइडल विजेता समेत हुन्।

प्रकाशित मिति: : 2020-08-28 21:54:11

प्रतिकृया दिनुहोस्