आईपीएल छाडेर भारत फर्किए रैना, कुनै खेल नखेल्ने

चेन्नाई सुपर किंग्सकाका ब्याट्सम्यान तथा स्पीनर सुरेश रैनाले इन्डियन प्रिमियर लिग (आईपीएल)का सबै खेल गुमाउने भएका छन्।

सेप्टेम्बर १९ देखि युएईमा सुरु गर्ने तयारी रहेको १३औं संस्करणको आईपीएल खेल्न युएई पुगेका रैना व्यक्तिगत कारण देखाउँदै भारत फर्किएकाे सिइओ कासी विश्वनाथनले जनाएका छन्।

रैना भारत फर्किएसँगै चेन्नईलाई अर्को झड्का लागेको छ। यसअघि शुक्रबार चेन्नईका एक खेलाडीसहित १२ जनामा कोरोना संक्रमण देखिएकाे थियाे।

अहिले उनीहरु सबै जना सेल्फ आइसोलेसनमा बसेका छन् र कुनै लक्षण नदेखिएको नजाइएको छ। कोराेना संक्रमण हुने खेलाडीको नाम भने खुलाइएको छैन। 

आईपीएल २०२० का लागि सहभागी ८ वटै टिम अहिले युएई पुगिसकेका छन्। युएई पुगेका सबै खेलाडी र स्टाफहरुको कोरोना परीक्षण गरिनेछ र अनिवार्य ६ दिन होटलमा क्वारेन्टाइनमा बस्नुपर्नेछ।

क्वारेन्टाइन अवधि सकिए पनि कोरोना संक्रमण देखिएपछि चेन्नाईको प्रशिक्षण सुरु हुन ढिलाइ भएको छ। चेन्नाई अगष्ट २१ मा यूएई पुगेको थियो र उनीहरुको क्वारेन्टिन अवधि थप एक साता लम्बिएको छ। चेन्नाई सुपर किंग्सले हेल्थ अफिसियल र बीबीसीआईको एसओपी अनुसार सबै सेफ्टी प्रोटोकल पालना गरिरहेको छ।

रैनाले महिनाको सुरुमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए। भारतीय टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले संन्यास लिएकै दिन उनले पनि संन्यासको घोषणा गरेका थिए।

चेन्नईले युएई जानुअघि भारतमा प्रशिक्षण क्याम्प सञ्चालन गरेको थियो। जहाँ धोनी, रैना, केदार जादव, दीपक चाहर र पियुस चावला उपस्थित थिए। तर रविन्द्र जडेजा र हरवजन सिंहले भने अभ्यास छुटाएका थिए।

कोरोना भाइरसको संक्रमण भारतमा बढ्न थालेपछि यस सिजन आइपीएल युएईमा गर्न लागिएको हो। त्यसको लागि भारत सरकारले अनुमति दिइसकेको छ र युएईको क्रिकेट बोर्डले पनि सघाउने भएको छ।

तर अहिलेसम्म प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छैन। यद्यपि सेप्टेम्बर १९ मा साविक विजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नाई सुपर किंग्सबीच खेल हुने सार्वजनिक भइसकेको छ।

प्रकाशित मिति: : 2020-08-29 12:34:22

प्रतिकृया दिनुहोस्