सङ्क्रमितले पाउँदै छन् जीवनदान

दीपक ज्ञवाली

 डा. किशोर बञ्जाडे कपिलवस्तु अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट हुनुहुन्छ । जब हटस्पट बन्ने गरी कपिलवस्तुमा कोरोना सङ्क्रमण फैलियो, उहाँ बिरामीको सेवामा
भिड्नुभयो । सङ्क्रमितको सेवा गरिरहेकै बेला साउन २४ गते उहाँ आफैँ पनि सङ्क्रमित हुनुभयो । यो खबर उहाँको परिवार, स्थानीय समाज र अस्पतालका लागि अप्रत्याशित थियो तर उहाँ विचलित हुनुभएन ।
डा. बञ्जाडेको अहिलेको दैनिकी बिरामीको उपचार सँगसँगै आफ्नो अनुभव बाँड्ने, मनोबल बढाउने र सङ्क्रमितको ज्यान जोगाउने नयाँ अभियानमा केन्द्रित छ । उहाँको पछिल्लो अभियान हो, सङ्क्रमितको प्लाज्मा थेरापी उपचारका लागि सङ्क्रमित भई निको भएकाको रगत सङ्कलन ।
सोमबार कपिलवस्तु अस्पतालमा त्यस्तै गजबको माहौल थियो । डा. बञ्जाडेसहित अस्पतालका १६ जना पूर्वसङ्क्रमित स्वास्थ्यकर्मीले रक्तदान गर्नुभयो । यस्तो रक्तदान सङ्क्रमितहरूको ज्यान जोगाउने एउटा नयाँ उपचार विधि प्लाज्मा थेरापीका लागि थियो । “धेरै मानिस सङ्क्रमणबाट छट्पटिइरहेका बेला जीवन रक्षा गर्नु हाम्रो कर्तव्य हो,” डा. बञ्जाडेले भन्नुभयो, “पूर्वसङ्क्रमितको रगतले कसैको ज्यान बच्छ भने हामी किन अघि नसर्ने ?”

प्रकाशित मिति: : 2020-09-01 08:03:52

प्रतिकृया दिनुहोस्