डा. केसी अहिले के गर्दैछन् जुम्लामा? (भिडियो‍)

साउन ११ मा पत्रकार सम्मेलन गरेयता डा. गोविन्द केसी जुम्ला आसपासका जिल्लाका नागरिकको सेवा गरिरहेका छन्। कोरोना महामारीको सुरूवाती चरणबाटै दुर्गमका गाउँ बस्तीमा पुगेर उपचार गर्न सक्रिय उनलाई सत्ताले धेरै ठाउँमा अवरोध गर्‍यो।

गाउँमा रहँदा उनले उपचार नपाएर वर्षौं छट्पटीएका कयौं नागरिकको सकेजति उपचार गरे। समयमै उपचार नपाएर मृत्युको मुखमा पुगेका कतिलाई साहनुभूति दिए। राज्य कुनै छैन प्रसाद नामको संयन्त्रले चलाएको जस्तो लागेको हुनाले पनि यस्तो अवस्था भोग्नुपरेको निश्कर्ष निकाल्दै फेरि पनि संघर्ष गर्नु जरूरी ठाने।

नेपालको स्वास्थ र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि लामो समयदेखि सत्याग्रह मार्फत संघर्ष गर्दै आएका उनले साउन ११ गते तीन हप्तासम्म आफ्ना माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिए। त्यसपछि दस दिन, सात दिन गर्दै विविध कारणले अनशन सार्दै आएका छन्।

अनशन सरेसँगै उनी बिरामी चेकजाँच गर्न गाउँ जाने गरेका छन्। गाउँमा पुगेका उनलाई बिरामीहरूले भगवान आयो भन्ने गरेका भएपनि सत्ता उनको सेवा प्रवाहमा अवरोध खडा गरि नै रहेको छ।

सहरको कुनै सुविधासम्पन्न सटरको क्लिनिकमा चर्को मूल्यमा लिएर भएभरको औषधि भिडाउँदै बिरामीको चरम शोषण गर्दासम्म चुप लाग्ने सरकार स्वयंसेवी बनेर गाउँ गाउँमा पुगेर उपचार गर्ने डा. केसीलाई  बार लगाइरहेको छ।

उनले अनशन गर्छु भनेदेखि स्थानीय प्रशासन ‘माथिको आदेश’ भन्दै अमानवीय शैलीमा डा.केसीमाथि निगरानी राख्ने, सोधपुछ गर्ने, प्रहरी लाएर अपराधी जस्तो व्यवहार गर्ने, हिँड्डुल गर्न नदिने लगायतका हर्कत गरिरहेको छ।

भदौ ११ गते अनशन बस्ने भनिएको बिहान स्थानीय प्रशासन आफैं अनशन स्थगित गरिदिन आग्रह गरेपछि उनी एक हप्ता अनशन सार्न सहमत भए। तर त्यहीँ दिन स्थानीय प्रशासनले चरम निरंकुशता देखायो। दुई तहको सुरक्षा घेरा हालेर डा. केसी बसेको होटललाई आतंककारी घेरेझैं घेराउ गरेर राख्यो र उक्त क्षेत्रमा नागरिकलाई बन्धक बनाइयो भने घरबाट बाहिर निस्कन समेत रोक लगाइयो।

यतिमात्र नभइ प्रत्रकारलाई समाचार संकलन गर्न समेत बन्देज लगाइयो। प्रशासनले पत्रकारलाई डा. केसीलाई नउचाल्न भनेर चेतावनी दियो। यसबाट नियम कानुनको खिल्ली उडाउने राज्य संयन्त्रले आफ्ना कपडा उतार्ने काम एक पल्ट फेरि गरेको जनता महशुस गर्दैछन्।

डा. केसीमाथि राज्य संयन्त्रको नांगो नाच भएको यो पहिलो पटक भने होइन यही बीचमा डा. केसीसँग भेट हुँदा उनले २०७५साउन ३ गते सत्ताले अस्पतालमा गरेको दमन सम्झिए। मैले त्यस दिन प्रतिष्ठानमा घटेको घटनालाई ब्ल्याक इन ह्वाइट दृश्यमा स्मरण गरे।

०००

एक्सन मुभिजस्तो दृश्य। १५/१६ जना पुलिसको समूह 'एसएसपी, डिएसपी (ससस्त्र प्रहरी र पुलिस) सबै लाठीवाला, हेल्मेट लगाएका, छातिमा चेष्ट गार्ड भएकाले रूवाबासी गराइदिन्छन्। लाठीको वर्षा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरू र नर्सहरूमाथि गरियो। त्यसैको घानमा एचए र स्टाफ नर्सका विद्यार्थीहरू घुनपल्ता झैं पिसिए।

डा. केसी आन्दोलनको बिसौं दिन, जुम्लाबासीले एक फरक खालको दृश्य देखे। नर्सको चिच्याहट्ले दृश्यलाई भावुक बनायो। भिड पुलिससँग लड्न तयार भयो। ज्यानको कुनै प्रवाह भएन। महिलाहरूको सहन शक्ति गुम्यो।

दिन तनावग्रस्त भयो। एक दुई प्रहरी र अधिकांश डाक्टर, नर्स र विद्यार्थीहरू घाइते भए। अश्रुग्यासको धुवा बिरामीको बेडबेडसम्म पुग्यो, आँखा पिरा भए। कोलियामा नर्स र विद्यार्थीहरूको चिच्याहटभन्दा भयावह बन्यो बिरामीको बेड। होसहवास उठेजस्तो देखिने बिरामी र कुरुवाले साँझ भिड साम्य भैसक्दा पनि सन्तोसको सास फेरेनन्। आफू एकतिर हेरिरहेका, अरूले कोट्याउदा पनि झल्यास्स हुने, उनीहरूको जीउ र मन।

साँझको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मान्छे मरेको घरजस्तो उजाड देखियो, पुरै मासानघाट जस्तो। ३ सय सैंयाको अस्पतालको शून्य चहलपहले अस्पताल नै मृत्यु सैयामा पुग्योकि जस्तो लाग्ने! चिनेका मान्छेहरू पनि अपरिचित जस्तो गरी बोल्दै नबोली बसेका। बिरामी र कुरुवाहरू उछिट्टिएका मूर्तिजस्ता, तितरबितर भएका।

फुटेका सिसाहरू यत्रतत्र छरिएका। पुलिसका घाइते जवानको अप्रेसन थिएटरमा उपचार भइरहेको। एक हुल पुलिसको टिम बाहिर कुरेर बसेको। ऊ पनि पुरै मौन। यी पुरै दृश्यहरु नै प्रश्नका कारखाना हुन जस्तो लाग्ने। जतिबेला अस्पतालमा सरकारको ताण्डब नृत्य देखियो, त्यसबेला अस्पतालका बिराममीहरूको के हाल भयो होला? कुरुवाले के दशा भोगे होलान्? स्वास्थ्यकर्मीहरूले पुलिसको लठ्ठी खाँदै आफ्नो उपचार कसरी गरे होलान्? अझ आफैंलाई कुट्न आउने पुलिसको उपचार गर्न कसरी राजी भए होलान्?

वार्डको झ्यालनेर बसेर सिसा बाहिर एकटक आँखा गाडेर टोलाएका, दुइटै हात काखिमा च्यापेका मुगु खत्याडका ५७ वर्षका बलबहादुर रावलको अनुहारमा प्रष्टै देखिएका मलिन धर्साहरूले बिछट्टै खालको निराशा प्रतिबिम्बित गराइरहेको। बल बहादुरको शरीरमा कुनै बल नभएजस्तो।

कुरा गर्न निकै डराएका बलबहादुरले मनको गाँठो फुकाए। खुट्टाको माथिल्लो भागको जोर्नीको गोलो हड्डी खुस्किएकी आफ्नी १० वर्षकी छोरीलाई साउन ३ गते अस्पताल पुगाउन २ गते ६ जना तन्नेरीले स्ट्रेचरमा ९ घण्टा बोकेर सिंजाको गोठिजिउलामा पुर्‍याइदिएपछि भोलिपल्ट बिहान गाडी चढेर अस्पातालको इमर्जेन्सीमा छोरी भर्ना गराउन सफल भए।

'हेर्नुस्, छोरीकन बेडमै राख्याँ र बल्ल तल्ल सास फेन्न पायाँ। अस्पताल पुगेपछि त लडाइँ झित्याको (जितेको) जस्तो भयो। अहिले फेरि लडाइँ हारेको जस्तो लागेको छ।’

अनशनरत डा. केसीलाई काठमाडौं लैजान सरकारले अस्पतालमा गोली चलायो। अश्रुग्यासको फहरा हान्यो। डाक्टर, नर्स र बिरामीको बिचल्ली पार्‍यो। बिरामीहरूको रूवाबासी गरायो। त्यसैको चपेटामा परे बलबहादुर र उनकी छोरी 'आजै अस्पताल पुग्यौं। आजै यस्तो क्या भयो? काँ जाउ र कसो गरू, भयो। कसरी बाँचु, मात्तै (मात्रै) भयो। सारा बेखुसीमा छ्या हेर्नुहोस्।

हामीलाई दुविधामा गर्दिए। अश्रुग्यास छोड्दिया। यता जाँउ कि उता। कता जाने हो? कता? सबै अलमल भयौं। बडो कठिनाइमा पड्यौं। ढोकासोका बन्द गरे। मान्छेहरू चिच्यामण्डल गर्न लागे। आ-आफ्ना बिरामी जाँ जाँ छन् त्यही गई बस्यौं। बिरामीको रूवाकल्लिले अस्पताल भुत लागेको मान्ठ जस्तै भयाछियो। अरुको लागि त म जान्नैन तर आम्ना(आफ्ना)लागि भन्ने हो भने आज बच्चा ल्याएर आफू त मरिन्या भइयो भइयो, सँगै ल्याएकी छोरी पनि मर्न्या भई भन्ने लाग्यो।'

दिउँसोको डरले सँझसम्म पनि नछोडेपछि उनी लरबराउँदै बोल्छन्।

यत्रतत्र छरिएका सिसाहरूलाई देखाउदै उनले सरकारप्रति थोरै आवेश पोखे 'यत्रो खर्च गरी सरकार आफैंले बनाएको यो अस्पताल आज आम्नै मान्छे पठाएर तोडफोड गर्न पनि त नहुन्या हो। आफैं झाँक्री, आफैं बोक्सीजस्तो। यस्तो गरिकन रइमट्टै पाडेर केई भुन्नु राख्यानुन्। यत्रो लगानी लायाको छ। यहीँ भित्र लठ्ठी चार्ज गरे। हवाई फाएरिङ गरे। आखिर क्या राख्या त? यी हेन्नुस् न पुरै सिसा फुटालेका छुन्।

पुलिस भित्रै आएर पुनि लठ्ठी चार्ज गरेर मार्ने हो की। अथवा गोली चलैकन मार्न्या हो की भनी हामी गार्जेन तल्याकतुलुक, यदरउदर भयाछियौं। बडो कठिन भयो आज त। तर बाच्यौं ज्याहोस। अहिलेसम्म औंषधि उपचार भयाको नाइ। यत्ति हो आज यो संकटबाट बाच्यौं। बाँचेपछि उपचार त भैजाला भन्ने भयो।

दु:ख त ठूलो लाग्याको छ। अइलेको सरकारले तोडफोड गरेर त्यै डा. केसी न काठमाडौं ल्याउ भुन्याको हो भुन्या अहिलेको सरकारले हामीलाई क्या दिन सक्छ? जन्ताकन क्या दिन सक्छ? क्या काम गर्छ जन्ताको लागि? लौ भुन्नोस् त।' सत्ता पक्षकाहरूले जस्तै अनेक तर्क वितर्क भन्दा पनि सरकारको गल्ति देखाउने प्रमाण भएको बलबहादुरको बोली।

०००

प्लास्टिकको पारदर्शी भाँडोमा (अक्सिजन दिइरहेको) टाउको पुरै छोपेको एउटा नौ महिनाको बच्चाको रूवाइले वरपरका सबैको ध्यान खिचेको। लगातार २४ घण्टे अक्सिजनवाला बच्चा। लामो लामो स्वरमा निकै अप्ठ्यारो गरि रोइरहेको। बेलाबेलामा छिरिरहेको उसको आवाज। उसको पीडा मिश्रित रुवाइले अरुलाई पनि दुःखी बनाएको।

बच्चाका बाबु कर्णबहादुर कार्कीको अनुहार पनि साह्रै मलिन। तातोपानीका उनी कतिबेला आफ्नो छोरातिर सँगै वरिपरिका मान्छेतिर आँसु टल्किएका आँखा डुलाइरहेका। बाँकी कुरुवाको सहानुभूतिवाला नजर  बच्चातिर। केवल मलिन मौनताले राज गरेको वार्ड।

निकै पछि सरकारी रबैयाको परिणाम मसिनो स्वरमा आयो, 'बच्चा पहिला पनि सात आठ दिन ल्याएर सन्चो नभएर घर लिएको हो। घर लिएर धामि, झाक्री, यता, उति गर्‍यौं। त्यसले पनि भएन। फेरी ल्यायौं। आज दश एघार दिन भया सन्चो भएको छैन। केही निश्चितै भएन। डाक्टर पनि केही डिसिजनै दिन लाग्यानुन्। आज तलतिर (नेपालगन्जतिर) लिने भनेको आजै आस्पतालमा यस्तो भयो। कसरी लिने? बिहानदेखि अहिलेसम्म खाना खान पायानौं। बाहिर जान पायानौं।

त्यैबेला अक्सिजन सकियो। हामीन त आपतै भैगो। भाउकी आमा रोइ र मो त क्या गरू गरू भयाँ। ती सिस्टरहरूले काँबाट सिलिन्डर ल्याइदिन र भाउ बाँच्यो।'

लोग्नेका कुरा सुनेर बच्चाको बेडमै बसिरहेकी नन्दादेवी कार्कीका आखाँ रसाए। कतिबेला आफ्नो बच्चातिर त कतिबेला यताउति हेरिरहिन। बच्चालाई डाक्टरले दुध नखुवाउनु भनेको हुनाले पनि आमाले पीडा थपिएको महसुस गरिन्।

'पुलिसका हुलका हुल आया, फोर्स थपिदै गयो। पुलिस मस्तै (धेरै) भया। पक्कै मार्छुन् भुन्या भयो। त्यै मान्ठले (डा. केसीले) कास्माण्डु जान्छु नभुनेको भए त रगतको खोलो बगाउन्या छिया।' नजिकै आफ्नो डेड वर्षको छोरो खेलाउँदै गरिरहेकी लिताकोटकी नानीभाउ सार्कीले भनिन्।

उनीका लोग्ने दलबहादुरले थपे 'हामी त होब्लास भैग्यौं। भित्त (भित्र) गैकन हेरत ताँ (भित्र हेर्न अनुरोध गर्दै)। भित्तबाट ग्यास (अश्रुग्यास) छोड्यार मारिल्या छिया। पुरै अस्पताल भरी धुँवा भरियो र त हामी सब मर्‍यौं भुन्या भइगो। जइखिन पाया त्यइखिन (जसलाई पायो त्यसलाई) हान्दिन्या। केइछैन पुलिस भित्त (भित्र) पस्यार लठ्ठीले जा पाया त्यौं हान्दिया। एक केटीन (नर्सलाई) लठ्ठीले टाउकोमै हान्यार थचक्क बसाल्दिया। डाक्टर न हान्दिया। बच्चाका डाक्टर न पुनि हान्दिया। तिनुको टाउकौनो हान्दिया। मेनमेन (मुख्यमुख्य) डाक्टर न पुनि हान्दिया। पाँच दिन भयो बच्चा ल्याएर आएको। बल्लबल्ल ठिक हुन लागेको छ,' मुहार केही चम्किलो बनाउँदै।

'सुरुमा हामी छ सात जना अगाडिको ढोकामा टक्क लाएर बसेका थियौं। उहाँहरू सिधै आउनुभयो। उहाँहरू कति जना सिभिल ड्रेसमा हुनुहुन्थ्यो। डिएसपी, एसएसपीसहित पन्ध्र-सोह्र जना आउनुभएको थियो। एक्कासी केही पनि नभनि सिधा आएर कुटपिट गर्‍या त हो नि।' लठ्ठीले तिघ्रामा बेस्सरी खाएर पनि पुलिसप्रति कुनै रिस नदेखाएर उहाँहरू भनि विशाल हृदय देखाएर बोलिरहेकी काठमाडौंकी मुना दाहाल।

'हामी एक जनालाई तीन जनाले कुट्नुभयो। डा. सन्दिपलाई तिन जना मिलेर लुगासुगा फुकालेर, च्यातचुत पारेर, आरेर पिट्नुभयो। उहाँलाई बचाउन जाँदा हामीलाई पनि पिट्नुभयो। हाम्रो ओटीको स्टाफ सितला रोकायाको टाउको फुटेर पाँच वटा टाँका लगाउनुपर्‍यो। एक जनाको कान काटिएर कानको सुचरिंङ गर्नु पर्‍यो। विचरा विद्यार्थीलाई बेस्सरी कुट्नुभयो।' हरियो सुट बाहीर सेतो एप्रोन लगाएकी मुनाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्स भएर काम गर्न थालेको ठिक एक वर्ष भएको दिन उपहारस्वरूप पुलिसको लठ्ठी खाइन्।

उनले भनिन्, 'साउनमा यता आएको एक वर्ष भयो। मान्छेहरु एक वर्षमा वार्षिकी मनाउछन्। खुसि साँट्छन्। मेरो साउन त यस्तो भयो। यी हेर्नुस्।' बोल्दा बोल्दै मसिनो स्वरमा ऐया गर्दै आफ्ना नारि छामिन् र आफ्नो तिघ्राको निलडाम देखाइन्।

दिउँसो महिलाहरूले जुलुस निकाले। उनीहरूको आवेशलाई रोक्नु भनेको उनीहरूलाई मार्नु बराबर हुने। मर्न तयार भए रोकिएनन्। पुलिसले उनीहरूलाई रोक्ने आँट गरेन। बिहान सेनाको हेलिकप्टेरमा आएको मुख्यमन्त्री सहितको टिमका सदस्यहरूको नाम लिई लिई तुल खाएजसरी गालि गरिरहे। दिनभर महिलाहरू पुलिससँग लडे। डा. केसीलाई काठमाडौं लगिसकेपछि मात्र शान्त भए।

अस्पताल भित्र निसंकोच आतंककारी शैलीमा पुलिसले आक्रमण गर्‍यो, गोली चलायो। एक्सरे रिपोर्टले सिभिल ड्रेसको प्रहरीको छातिमा गोलि भएको भनि थुप्रै डाक्टरहरूले भने। घटनामा आफ्नो गल्ति ढाकछोप गर्न प्रहरी र गृह मन्त्रालय दुबैले विज्ञप्ति निकालेर प्रतिष्ठानका कर्मचारी र विद्यार्थीलाई दोष लगाए।

प्रतिष्ठानका डाक्टरहरुले डा. केसीलाई लिन नदिने कुनै योजना नभएको र विद्यार्थीलाई समेत नभनेको स्पष्टीकरण दिए।

यतिका दिन डा. केसी प्रतिष्ठानमा अनशन बसिसकेपछि उहाँको माग पुरा नगरी जबर्जस्ती अपहरणको शैलीमा उठाएर लिन नदिने भनि आफैले सल्लाह गरेको एक विद्यार्थीले भने। 'डा. केसी समेत काठमाडौं जान नमानिरहेको अवस्थामा जबर्जस्ती गर्न खोज्ने प्रहरीलाई रोक्नु हाम्रो कर्तव्य हुन आउथ्यो र हामीले गर्‍यौं,' धेरै विद्यार्थीको आवाज यस्तो थियो।

'फ्रण्टलाईनमा बसेका केटीहरूलाई समेत मानवीय संवेदना नदेखाई प्रहरीले लठ्ठी र बुट बजारेपछि हामीले प्रतिकार गर्‍यौं। त्यही बेला प्रहरीले हामीमाथि गोली चलायो। संयोग त्यो गोली उनीहरूकै गुप्तचरको भेषमा आएको पुलिसलाई लाग्यो। तेरै डोकी, तरै थाप्ला ठोकी भनेको यही हो,' विद्यार्थी आवेग।

कर्णाली प्रदेशका मुख्यमन्त्रीले जुम्ला अस्पतालमा पाँच इन्चको किलाले हानेर प्रहरी घाइते गराइएको हुनाले दोषीलाई कारबाही गरिने बताए। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले गोली चलाउन बाध्य पारिएको भने। एउटै घटनाका साक्षी प्रदेशका दुई मुख्य मान्ठको बोली फरक फरक आयो। एकातिर प्रहरीले गोली चलाएको होइन भन्यो अर्कोतिर आन्तरिक मामिला तथा कानुन मन्त्रीले गोली चलाउन बाध्य पारिएको भनि संसदमै स्पष्टीकरण दिए।

प्रश्न उठ्यो, अस्पताल जस्तो संवेदनशील ठाउँमा गोली चलाउनै पर्ने के बाध्यता आइलाग्यो? जम्मा ५० देखि ६० जना विद्यार्थीहरूको मानव साँङ्लोलाई हटाउन किन बलै प्रयोग गर्नु परेको? भिडको मानोविज्ञान बुझ्न गुप्तचर संयन्त्र किन असफल भयो? के देशको गुप्तचर संयन्त्रलाई समेत चरम राजनीतिक भागबण्डाको सिकार बनाइएकै हो?

अस्पताल गोली चलाउन हुने ठाउँ हो या होइन छानवीन गर्ने भनेको पनि बिरबलको खिचडी भयो।

०००

सत्ताधारी पार्टीका नेता कार्यकर्ताहरु कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ नहुनु र माथिल्लो तहको कक्षा सञ्चालनको अनुमति नपाउनुमा डा. केसी अनशनलाई दोष लगाएर पन्छिरहेका छन्। यसको जवाफमा डा. केसी भन्छन्, 'माफिया र डनहरुको सेवामा लागेको सरकारले अनेकन बाहाना गरिरहेको छ। कर्णालीमा डाक्टर उत्पादन हुन थालेपछि उनीहरूले लुटको स्वर्ग नर्कमा परिणत हुनेछ।'

डा. केसीका माग जायज भएपनि अहिले कोरोना माहामारीमा यो बेमौस भएको सत्ता संचालक र तीनका स्थानीय अंशियार समेतले बताइरहँदा डा. केसीको जवाफ छ, 'सरकार चरम भष्ट्राचारमा लाग्नु, आसेपासे पोस्याउनु, जनताको स्वास्थ्यमाथि खेलवाड गरिरहनु कुन चाहिँ मौसमको कुरा हो?'

'मलाई अवारोध गर्ने, हिडडुल गर्न नदिने, निरंकुशता प्रदर्शन गर्ने, उपचार नपाएर पिल्सिएका नागरिकको सेवा गर्न पनि नदिने, सरकारले आफ्ना नातेदार र माफियालाई मात्र नागरिक मानिरहने, लुट्नमा व्यस्त असंवेदनशील ओली सरकारको बिरुद्ध आन्दोलनको विकल्प छैन। संघर्ष वाहेक अरू उपाय के छ?'

उनले संसारका सबै काग काला भएझैं ओली सरकारदेखि स्थानीय प्रशासन सबै गाँसेगुसे एकै नासे भएको बताए।

प्रकाशित मिति: : 2020-09-02 13:01:30

प्रतिकृया दिनुहोस्