सात वटा अस्पताल पुर्‍याउँदा पनि उपचार नपाएर गर्भवतीले त्यागिन प्राण

विराटनगर : सात वटा अस्पताल पुर्‍याउँदा पनि उपचार नपाएका कारण लडेर घाइते भएकी मोरङकी एक गर्भवती महिलाको मृत्यु भएको छ। कानेपोखरी गाउँपालिका-५ की २३ वर्षीया सविना थापा (दर्जी)को बिहीबार बिहान मृत्यु भएको हो। 

सौच गर्न गएकी उनी मंगलबार राति १० बजेतिर घर नजिकैको शौचालयमा लडेकी थिइन्। लडेका कारण स्वास्थ्यमा थप समस्या हुँदै गएपछि परिवारका सदस्यले उनलाई बुधबार राति उपचारका लागि विराटनगर ल्याएका थिए। नोबेल, विराट शिक्षण, विराट नर्सिङ होम एवं विराटनगर, ग्रीनक्रस, कोशी, सुरक्षा लगायतका अस्पतालले उनको उपचार गर्न मानेनन्। एम्बुलेन्समा राखेर रातभर विभिन्न अस्पताल पुर्‍याए पनि कुनैले उपचार गर्न नमानेको सविनाकी आमाजू दुर्गा सुन्दासले बताइन्। ‘बिरामीको अवस्था गम्भीर रहेकोभन्दै अस्पतालहरुले आईसीयू र भेन्टिलेटर नभएको जवाफ दिए,’ उनले भनिन्, ‘कुनैले कोरोना त्रासका कारण नयाँ बिरामी भर्ना गरेर उपचार गर्न सक्दैनौं भने।’

कोशी अस्पतालमा भने कोरोनाका बेला बिरामी ल्याएको भनेर नर्सहरुबाट दुर्व्यवहार खेप्नु परेको गुनासो उनले गरिन्। विराटनगरका अस्पतालहरुमा उपचार नपाएकी सविनालाई बिहीबार बिहान लगभग २:३० बजेतिर एम्बुलेन्समा राखेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जानकारी दुर्गाले दिइन्। उनका अनुसार भर्ना लिएको प्रतिष्ठानले आकस्मिक कक्षमा उपचार थाल्दै प्रसूति कक्षमा रेफर गर्‍यो। प्रसूति कक्षमा पुर्‍याएर उपचार थालेको केही बेरमा बिहान ३:३० बजेतिर सविनाको मृत्यु भएको जानकारी उनले दिइन्।

प्रकाशित मिति: : 2020-09-03 23:08:33

प्रतिकृया दिनुहोस्