सन्दीप लामिछानेले सम्मिलित जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा बार्बाडोस ट्राइडेन्ससँग ७ विकेटले पराजित भएको छ।
जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै पाँचौ स्थानमा रहेर यस सिजन सम्पन्न गरेको छ।
बार्बाडोसका कप्तान जेसन होल्डर र जोनाथन कार्टरले तेस्रो विकेटका लागि ९० रनको साझेदारी गर्दै टोलीलाई जितको आधार तय गरेका थिए।
१३ औं ओभरको तेस्रो बलमा सन्दीपले होल्डरलाई ६९ रनमा एलबिडब्लू आउट गर्दै जमैकालाई खेलमा फर्काउन प्रयास गरेपनि अन्य बलरको साथ पाउन सकेनन्।
होल्डरले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। कार्टर ४४ बलमा ४ चौका सहित ४२ रनमा अविजित रहे।
मिचेल सान्टनार २१ बलमा ३ चौका र २ छक्कासहित ३५ रनमा अविजित रहँदै जित पक्का गरे।
सन्दीपले ४ ओभरमा २६ रन खर्चेर एक विकेट लिए। ओशान थोमस र प्रेस्टन म्याकस्वीनले एक/एक विकेट लिए।
त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको जमैकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो। जमैका अलराउन्डर आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै २८ बलमा ४ चौका र ५ छक्का सहित ५४ रनको योगदान दिए।
जमैकाका ओपनर जर्मेन ब्ल्याकवुडले उत्कृष्ट ब्याटिङ गर्दै सिपिएलमा पहिलो अर्ध शतक प्रहार गरे। ब्ल्याकवुडले ७४ रनको महत्वपूर्ण इनिङ खेले।
ब्ल्याकवुडले ५९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। जमैकालाई ओपनर ब्ल्याकवुड र ग्लेन फिलिप्सले ५१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। फिलिप्सला १७ रनमा क्याच आउट भए।
कप्तान रोभमान पवेल ५ रनमा अविजित रहे। बार्बाडोसका जोशुवा विशोप, हेडन वाल्श, जेसन होल्डर र राशिद खानले एक/एक विकेट लिए।
अपराजित ट्रीनबेगो नाइट राइडर्स ९ खेलमा १८ अंकका साथ शीर्ष स्थानमा छ। एक खेल खेल्न बाँकी रहेको नाइट राइडसले सेमिफाइनलमा जमैकासँग खेल्ने छ। गुयना एमेजन वारियर्सले लिग चरणका पूरै १० खेल खेलि सक्दा ६ मा जित र ४ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ।
सेन्ट लुसिया जुक्स ९ खेलमा ५ मा जित र ४ मा हार सहित १० अंक जोड्दै तेस्रो स्थानमा छ। दोस्रो सेमिफाइनलमा जुक्स र सेन्ट किट्स भिड्ने छन्।
जमैका ९ खेलमा ३ मा जित र ५ मा हार सहित ७ अंक जोड्दै चौथो स्थानमा छ। एक खेल वर्षाको कारण नतिजा विहिन बनेको थियो। योसँगै जमैकाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ।
साविक विजेता बार्बाडोस १० खेलमा ३ मा जित र ७ मा हार सहित ६ अंकका साथ पाँचौ स्थानमा रहेर बाहिरिएकाे थियाे। ९ खेलमा १ मा मात्र जित निकाल्न सकेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटस पुछारमा छ।