जुम्लाका आइसोलेसनमा किताब अभियान (भिडियाेसहित)

‘किताब पढौं, कोरोनाको त्रासपूर्ण मानसिकता कमजोर बनाऔँ’ भन्ने नारासँगै जुम्लाका आसोलेसनमा किताब पठाउने अभियान सञ्चालन गरिएको छ।

‘क्रियाशील जागौं’ कर्णाली युवा समुहले कोरोना संक्रमण भएकालाई अध्ययन गराएर भयमुक्त वातावरण बनाउन उक्त अभियान सुरु गरेको हो। 

जिल्लामा अध्ययन तथा लेखनमा संलग्न पाठक, अध्येता, लेखकहरुका कृति र उनीहरुले संकलन गरेका किताब सहयोग मागेर आइसोलेसनमा पठाउन लागिएको समुहका सदस्य धनराज सुनारले बिएल नेपाली सेवालाई बताए। 

‘हामीले प्रशासन कार्यालयसँग समन्वय गरि आइसोलेसनमा किताब अभियान सञ्चालन गर्‍यौं,’ उनले भने, ‘केही समय किताब संकलनमा लगाएपछि अब आइसोलेसनमा किताब पठाउन लागिएको छ।’

उनका अनुसार जिल्लाका ८ वटै स्थानीय तहका आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई त्रासपूर्ण मानसिकताबाट मुक्त गराउने वातावरण तय गर्न र यस्तो अवस्थामा पनि ज्ञान निर्माण गर्न सकियोस भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

अभियानलाई सहयोग गर्नेमा धेरैजसो लेखक र अध्येताहरु रहेका छन्। लेखकहरुमा क्रमश रामसिंह रावल, पुरिचन्द्र देवकोटा, खडानन्द चौलागाई, हरिबाबु चौलागाई, बैरागी बाबू, रुपा भट्टराई लगायतले आफ्ना कृति सहयोग गरेका छन् भने पाठकहरुमा गणेश रोकाया, राधाकृष्ण उपाध्याय, कर्ण भण्डारी, सरोज शाही लगायतले आफूले पढेका पुस्तक सहयोग गरेका छन्।

यसरी संकलित पुस्तकहरु हालसम्म जुम्लाका २ वटा आइसोलेसनमा वितरण गरिएको सुनारले बताए। 

‘निर्माण व्यवसायी संघको आइसोलेसनमा २५ वटा किताब र आइसोलेसन पछि होम क्वारेन्टाइनमा बस्दा ध्यान दिनुपर्ने उपाय सहितको ५० वटा क्याटलक  वितरण गरिएको छ,’ उनले भने, ‘कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा १५ किताब र ३० वटा क्याटलक वितरण गरिएको छ।’

अब जिल्लाका सबै स्थानीय तहमा रहेका आइसोलेसनमा किताब पुर्‍याइने उनी बताउछन्।

विभिन्न विधाका पुस्तक  वितरण गरिएको हुनाले आइसोलेसनमा रहनेले फरकफरक खालको लेखन स्वाद र ज्ञान लिन पाउनेछन्। 

कोरोनाको त्रास हटाउने र नयाँ जानकारी प्राप्त गर्नको लागि अभियान उपयोगी हुने आयोजकले जनाएका छन्।

प्रकाशित मिति: : 2020-09-06 15:33:22

प्रतिकृया दिनुहोस्