निर्वाचन विशेष

पाँच वर्षमा सपना होइन, अधुरा कामहरु पूरा गरेर देखाउँछु : रेखा शर्मा (अन्तर्वार्ता)

फाइल तस्विर
फाइल तस्विर

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा  निर्वाचनका लागि दाङ क्षेत्र नम्बर– २ बाट गठबन्धन दलले माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेखा शर्मालाई उम्मेदवार बनाएको छ। निर्वाचनत क्षेत्र नम्बर– २ मा पूर्व सांसद एवम् सामान्य प्रशासन मन्त्री समेत रहेकी शर्मा र एमालेका महासचिव शंकर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत भइसकेका पोखरेल र शर्माबीचको प्रतिस्पर्धालाई रोचकका साथ हेरिएको छ। पाँच दलीय गठबन्धनको साथ भएकाले जित आफ्नो पक्षमा हुनेमा शर्मा ढुक्क देखिन्छिन्। के पाँच दलीय गठबन्धन हुँदैनमा उनलाई चुनाव जित्न सहज होला त ? एमालेका बलियो उम्मेदवार मानिएका पोखरसँगको प्रतिस्पर्धालाई उनले कसरी लिएकी छिन् ? आदि विषयमा बिएल नेपाली सेवाका लागि टाेपेन्द्र राेका मगरले गरेकाे कुराकानीका सम्पादित अंश :


घोषणापत्रविना चुनावी प्रचारप्रसारमा हुनुहुन्छ, के भनिरहनुभएको छ मतदातलाई ?

चुनावी घोषणापत्र आउँदैछ। यस विषयमा पनि हामी बुझाउँदै छौँ। तर, हामी गठबन्धनमा छौँ। गठबन्धन के कारणले बन्यो भन्ने कुरा जनतालाई हामीले बुझाइरहेका छौँ। यो निर्वाचन आवाधिक निर्वाचन होइन। यो अग्रगमण र पश्चगमणबीचको लडाइँ हो र लोकतन्त्रको पक्षधर र विरोधीबीचको लडाइँ पनि हो। हिजोको लामो संघर्षपछिको समानुपातिक, समावेशीतालगायतका जे जस्ता उपलब्धी भएको छ, त्यसलाई रक्षा गर्ने कि नगर्ने भन्नेबीचहरुको लडाइँ हो।

संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्ने कुरा र देशलाई निरंकुशतिर लैजाने जुन प्रयत्न भयो, त्यसका विरुद्धको यो गठबन्धन हो भन्ने कुराहरु जनतामाझ बुझाउँदै हिँडेका छौँ। मुलतः हामीले यो निर्वाचनमा अरुका भन्दा पनि आफ्ना समृद्धिका कुराहरु र दाङको विकास कसरी गर्छाैँ भनेर जनतामाझ बुझाइरहेका छौँ।

बलियो उम्मेदवार मानिनुभएका एमालेका महासचिव शंकर पोखरेलसँगको प्रतिस्पर्धा के तपाईंको जितका लागि सहज होला ?

बलियो उम्मेदवार केलाई मान्ने ? महिला र पुरुष भएकै कारणले शंकर बलियो र म कमजोर भन्ने होइन होला। मलाई के लाग्छ भने एजेण्डाहरु बलियो र कमजोर हुन्छन्। विषयहरु बलियो र कमजोर हुन्छन्। व्यक्ति बलियो र कमजोर हुँदैन।

मलाई लाग्छ गणतन्त्र प्राप्तिको आन्दोलनमा, संविधान निर्माणको कुरामा, महिला र दलितको अधिकार स्थापना गर्ने र कानुन बनाउने कुराहरुमा मैले खेलेको भूमिका कम छ जस्तो लाग्दैन। यसका सन्दर्भमा मैले नै महत्वपूर्ण र बलियो भूमिका निर्वाह गर्न सकेको छु।

साथै, आजसम्म आउँदा पनि हामी संविधानको रक्षाका निम्ति उभिएका छौँ। आज प्रतिगमनविरुद्धको आन्दोलनको सवालमा पनि हामी सक्रिय छौँ। त्यसकारण कोही उम्मेदवार बलियो वा कमजोर भन्ने हुँदैन।

पदीय हिसाबमा, अघि र पछि जन्मिएको हिसाबमा कोहिले बलियो र कमजोर सोच्न पनि सक्छन्। तर त्यो होइन। हाम्रा एजेण्डा र गठबन्धनका मतका हिसाबले म आफूलाई बलियो उम्मेदवार ठान्छु।

नेताहरुसँग मतदाता निराश देखिन्छन्। विकास भएन भन्ने मतदाताको गुनासो सधैं रहँदै आएको छ। तपाईंबाट मतदाता निराश नहुनुपर्ने कारण के छ ?

तपाईले भनेको जस्तो विकास भएन भन्ने विषयमा केही त सत्यता त हो। तर, पूर्णरुपमा त्यस्तो भने होइन। हामी ०६४ सालपछि मात्र हामी चुनावी प्रक्रियामा आयौं। त्यसपछि हाम्रो मुल उद्देश्य संविधान निर्माण थियो र हामी त्यसमा लाग्यौँ। अहिले संविधान निर्माण गरेर राजनीतिलाई सही बाटोमा ल्याएको छौँ।

मतदाताको गुनासो जस्तो विकास नै नभएको भन्ने होइन, भएको पनि छ। त्यो पूर्ण छैन भन्ने हो। यही निर्वाचन क्षेत्र नम्बर– २ बाट चुनाव जित्नुभएका नेता कृष्णबहादुर महरा पटक–पटक मन्त्री हुनुभयो। उहाँ मन्त्री हुँदा यो क्षेत्रमा थुप्रै विकासका काम भएका छन्।

म स्वयम् पनि ०७० सालपछि सांसद भएपछि विकासका काम भएका छन्। तपाईंले हेर्नुहुन्छ भने सहिद मार्गको ट्रायक खोल्ने काम हाम्रै अग्रसरतामा सुरु भएको हो। दाङबाट प्युठान, रोल्पा र सुर्खेत जोड्न बाटोकाे ट्रायक खोल्ने काम भएका छन्। खानेपानी र सिँचाइका काम पनि व्यवस्थित ढंगले भए। यस्ता थुप्रै विकासका काम भएका छन्।

तर, पछिल्लो समयमा यहाँका नेता (शंकर पोखरेल) प्रदेशको मुख्यमन्त्री हुँदा जस्तो विकास  हुनुपथ्र्याे, त्यो भएन। पहिले पनि जे हुनुपर्ने थियो। त्यो पनि भएन, साँचो कुरा हो। पहिले राजनीतिक बाटो सही बनाउनुपर्ने थियो र त्यसमा समय खर्च भयो। ०७४ पछि त समृद्धिका कुरा नै थिए। तर, ठुलो पानीजहाज र रेलका कुरा भए।

अब त्यो होइन। पाँच वर्षमा के गर्न सकिन्छ। त्यस किसिमको काम गर्न सक्ने मात्र एजेण्डा बनाऊँ। म त्यही गर्नेछु। पाँच वर्षमा जे गर्न सकिन्छ त्यो मात्र भन्ने छु। ठुला सपना बाँड्ने छैन। अर्को सरल पहुँचको कुरा छ। मसँग क्षेत्र नं. २ का जनता कहाँ सरलरुपमा पुग्ने छु। मलाई भेट्न कुनै नेता कहाँ जानुपर्ने छैन।

दोस्रो कुरा यस निर्वाचन क्षेत्रमा २७ वटा वडा छन्। यी वडाहरुमा छलफल गरेर नै विकास निर्माणका योजना बनाइने छ। अहिलेको आवश्यक्ता के हो ? पाँच वर्षमा गर्न सकिने कुरा के हुन त्यसैअनुसार मैले आवाज उठाउने छु र काम पनि त्यहीअनुसार गर्ने छु।

के गर्नुहुन्छ त पाँच वर्षमा ?

हाम्रो चुनावी घोषणापत्र आयो भने सबै थाहा भइहाल्छ। मुलतः हामीले गर्ने काम भनेको यहाँ भएका कुराहरुलाई व्यवस्थित र स्तरउन्नती गर्ने भन्ने नै हो। हामी जनतालाई नयाँ सपना बाड्नेभन्दा पनि अधुरा कामहरु पूरा गरेर देखाउँछौं।

हामीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्यायौँ तर त्यहाँबाट दिनुपर्ने गुणस्तरीय स्वास्थ्य सेवा र मेडिकल कलेज सञ्चालन गर्न सकेनौँ। त्यसलाई छिटो–छिटोभन्दा व्यस्थित गर्दै मेडिकल शिक्षा सुरु गर्नुपर्ने छ।

त्यस्तै दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालय, जुन पूर्वीय दर्शनको ठुलो आफैंमा विश्वविद्यालय हो। अन्तराष्ट्रिय स्तरमै पूर्वीय दर्शनप्रति आर्कषण बढिरहेको बेला हामीले भने यसलाई स्थानीय स्तरमा पनि व्यवस्थित गर्न सकेका छैनौँ। हाम्रो चाहना संस्कृत विश्वविद्यालयलाई व्यवस्थित गरेर अन्तराष्ट्रियस्तरमै लैजाने गरी यसको विकास गर्न खोजेका छौँ।

यहाँको अर्काे ठुलो समस्या एयरपोर्टको हो। अन्तराष्ट्रियस्तरको एयरपोर्ट बनाउने कुरा पटक–पटक उठ्दै पनि आएको छ। तर, भएको एयरपोर्टमा कम्तिमा ७२ सिटको जहाज सञ्चालन गर्न सक्ने गरी स्तरउन्नती गर्न सकेका छैनौँ। अन्तराष्ट्रियस्तरको यहाँको आवश्यकता पनि हो, यो बन्दै पनि जाला तर अहिलेलाई ७२ सिटको विमानहरु तत्काल नियमित सञ्चालन गर्नुपर्ने अवस्था छ।

तुलसीपुर–लमही सडकखण्डमा पनि स्तरउन्नति गर्नुपर्ने छ। दाङ कृषिका लागि राम्रो ठाउँ मानिन्छ तर सिँचाइकाे व्यवस्था छैन। सिँचाइका लागि माडी डाइभर्सनको कुरा पटक–पटक उठ्दै आए पनि काम भएको छैन। त्यसलाई अगाडि बढाउने सोचेको छु। दाङ आफैंमा सुन्दर सहर छ तर अव्यस्थित छ। त्यसकारण यसलाई व्यवस्थित सहर बनाउनका निम्ति खानेपानी, ढल, सडक सबै पूर्वाधारहरु तयार गर्न ध्यान केन्द्रित गर्नेछु।

मुख्य त के हो भने नयाँ काम गर्छु भन्दा पनि भएका कुराहरुलाई पहिला यवस्थित गर्नतर्फ हामी जोड दिन्छौँ। नयाँ स्कुल कलेज खोल्ने भन्दा पनि भएकालाई व्यवस्थित गर्दै शिक्षाको हब बनाउनुपर्छ भन्ने तर्फ मेरो ध्यान केन्द्रित छ।

स्वास्थ्य र शिक्षामा विषेश ध्यान दिनुपर्छ भन्ने सोचेको छु। त्यस्तै ठुलाे जनसंख्या रहेको महिलाहरुलाई आर्थिक रुपमा सक्षम र अधिकार सम्पन्न बनाउने तर्फ विषेश खालका योजनाहरु ल्याउँनेछौं।

त्यस्तै थारु आदीवासीको बाहुल्य भएको यो ठाउँमा थारु संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने गरी योजनाहरु ल्याउँने सोचेका छौँ। त्यस्तै धार्मिक पर्यटकीय क्षेत्र पनि विकास गर्न व्यवस्थित योजना बनाउने सोचेका छौँ। नयाँ सपना बाड्नेभन्दा पनि भएका कामहरु गरेर देखाउने तर्फ हाम्रो ध्यान छौँ।

गठबन्धन गरेर चुनाव जितिदैन भन्ने त स्थानीय तहको निर्वाचनले देखायो नै, गठबन्धनको आडमा तपाईंलाई चुनाव जित्न सहज छ त ?

स्थानीय तहको निर्वाचन जस्तो अहिलेको निर्वाचन होइन, यो फरक हो भन्ने कुरा बुझ्न जरुरी छ। स्थानीय तहको निर्वाचनमा दलहरु इमान्दार भएनन् र गठबन्धनका उम्मेदवारले हारे भन्ने छ, त्यो पनि होइन। त्यस समयमा केही प्राविधिक कारणले गर्दा पराजय भोग्नु परेको हो।

उम्मेदवार नै नभएको चुनाव चिन्ह हुँदा घोराहीमा गठबन्धनको करिब १० हजार मत बदर भयो। अर्काे कुरा विगतमा हाम्रो मनोविज्ञानमा, बुझाइमा केही समस्याहरु थिए। अहिले ती सबै समस्याहरुलाई हामी चिरेका छौँ।

यो निर्वाचन निर्वाचनमात्र नभएर प्रतिगमनविरुद्धको लडाइ हो भनेर पनि जनतालाई सम्झाएका छौँ। विगतमा भएका कमजोरीको पनि समीक्षा गरेका छौँ। यसअर्थमा यो पटक गठबन्धनकै मर्मअनुसार भोट खस्नेछ र प्रतिगमनविरुद्धको लडाइँमा विजयी हुन्छौँ भन्नेमा ढुक्क छु।

प्रकाशित मिति: : 2022-11-03 22:00:00

प्रतिकृया दिनुहोस्