फाइनल प्रवेशका लागि सन्दीप सम्मिलित जमैका आज भिड्दै

लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को फाइनल प्रवेशका लागि आज भिड्ने भएको छ। 

जमैकाले राति ७ः४५ बजे सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ। नाइट राइडर्स समूह चरणको सबै खेलमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने जमैका चौथो स्थानमा रहँदै सेमिफाइनलको यात्रा तय गर्न पुगेको हो। 

सन्दीपले नौ खेलमा १२ विकेट लिइसक्नुभएको छ। शीर्ष स्थानको नाइट राइडर्सका लागि ब्याटिङ फाइनल पुग्ने आधार हो भने जमैकाको बलिङ मजबुत छ। त्यसमा मुख्य गरी जमैका बलिङका लागि सन्दीप र अफगानिस्तानका खेलाडी मुजिबउर रहमान माथि निर्भर रहने छ। 

नाइट राइडर्सले ब्याटिङकै सहारामा सेमिफाइनलसम्मको यात्रा तय गरेको हो। यद्यपि उसको बलिङलाई पनि कम आँक्न मिल्दैन। ब्याटिङमा नाइट राइडर्स डेरेन ब्राभो, लेन्डले सिमोन्स, कलिन मुनरो, कप्तान केरोन पोलार्ड, डिवाने ब्राभो र सुनिल नराइनेमाथि निर्भर रहने छ। कलिन मुनरो र डिवाने ब्राभोले समूह चरणका खेलमा दुई दुई अर्ध शतक प्रहार गरेका छन्। डेरेन, सिमोन्स, पोलार्ड, डिवाने। सुनिलले पनि अर्ध शतक हानिसकेका छन्। डेरेन ब्राभोले समूह चरणका १० खेलमा २३९ रन बनाउनुभएको थियो। यस्तै सिमोन्सले नौ खेलमा २१८ रनको योगदान दिएका थिए।  

जमैका भने ब्याटिङका लागि जेरमिन ब्ल्याकउड, आन्द्रे रसेल, ग्लेन फिलिप्समाथि भर पर्ने छ। आन्द्रे रसेलले समूह चरणका १० खेलमा तीन अर्धशतक प्रहार गरेका थिए। यस्तै ब्ल्याकउड र फिलिप्सले एक एक अर्धशतक बनाएका थिए। फिलिप्सले समूह चरणका १० खेलमा जमैकाका लागि ३१४ रनको योगदान दिएका थिए। आन्द्रे रसेलले आठ खेलमा २२० रन बनाएका थिए। 

यसैगरी नाइट राइडर्स जमैकाविरुद्धको सेमिफाइनलमा समूह चरणका खेलमा जस्तै बलिङका लागि फवार्ड अहमद, डिवाने ब्राभो, जेडेन सेल्स, सिकन्दर राजा र खेइरे पियरेमाथि निर्भर रहने छ। फवार्डले समूह चरणका १० खेलमा १०, ब्राभोले ९, सेल्सले ८ तथा सिकन्दर र पियरेले सात सात विकेट लिइसकेका छन्।

यस्तै जमैका भने समूह चरणका खेलमा जस्तै मुख्यतया सन्दीप लामिछाने र मुजिबउर रहमानमाथि भर पर्ने छ। रहमानले हालसम्म सीपीएलमै सर्वाधिक १५ विकेट लिनुभएको छ। यस्तै सन्दीपले १० खेलमा १२ विकेट लिएका छन्। उनी सीपीएलकै सबैभन्दा किफायती बलर हुन्। यस्तै जमैकाका लागि कार्लोस वर्थह्वाइट र फिडेल इडवार्ड भरपर्दा बलर हुन्। कार्लोसले समूच चरणका १० खेलमा १० तथा इडवार्डले नौ विकेट लिएका थिए।

समूह चरणका सबै खेलमा अपराजित रहेको नाइट राइडर्सको मनोबल उच्च रहेको छ। उसले समूह चरणका दुवै खेलमा जमैकालाई पराजित गरेको थियो। नाइट राइडर्स आफूलाई उपाधिको प्रमुख दाबेदारका रुपमा प्रस्तुत गरिसकेको छ। यस्तो अवस्थामा जमैकाले फाइनल प्रवेशका लागि  यसअघिका खेलहरुमा ब्याटिङमा गरेको गल्ती सुधार गर्नुपर्ने छ अन्यथा उसको उपाधि चुम्ने इच्छा सहजै पूरा हुने देखिँदैन। यद्यपि विगतमा जस्तै सन्दीप र मुजिबउर रहमानले बलिङमार्फत नाइट राइडर्सको पारी ध्वस्त पारेको खण्डमा सीपीएलको उपाधि नजिक पुग्नबाट जमैका पनि टाढा रहने छैन।  

प्रकाशित मिति: : 2020-09-08 17:06:10

प्रतिकृया दिनुहोस्