जमैकालाई सहजै हराउँदै नाइट राइडर्स फाइनलमा, सन्दीप विकेटविहिन

जमैका तलावाजलाई सहजै हराउँदै ट्रीनबेगो नाइट राइडर्स क्यारेबियन प्रिमियर लिग (सिपिएल) को फाइनलमा पुगेको छ।

सोमबार साँझ भएको पहिलो सेमिफाइनलमा जमैका तलावाजलाई ९ विकेटले हराउँदै  ट्रीनबेगो नाइट राइडर्स उपाधि नजिक पुगेको हो।

जमैकाले दिएको १ सय ८ रनको सामान्य लक्ष्य नाइट राइडर्सले मात्र १ विकेट गुमाएर १२.४ ओभरमा पुरा गर्‍यो।

राइडर्सलाई जिताउन लेन्डी साइमन्स र टियोन वेवस्टेरले अभिजित ९७ रनको साझेदारी गरे। साइमन्सले ४४ बल खेल्दै ६ चौका र २ छक्कासहित ५४ रन बनाउँदा टियोनले ४३ बलमा ४४ रन बनाए। यसअघि सुनिल नारायण ४ रनमा आउट भएका थिए।

जमैकाका लागि एक मात्र विकेट अफगानि युवा मुजिव रहमानले लिए।

नेपाली स्पीनर सन्दिप यसपटक विकेट विहिन भए। आफ्नो चार ओभर स्पेलमा १ छक्का र २ चौकासहित २९ रन खर्चिएका उनले कुनै विकेट लिन सकेनन्।

यसअघि निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै जमैकाले १ सय ७ रन मात्र जोडेको थियो। उसका लागि एन्क्रुमा बोनरले ४२ तथा कप्तान रोभमान पावेलले ३३ रनको योगदान दिएका थिए। अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसक्दा जमैका सस्तैमा समेटियो। 

ट्रीनबेगोका लागि होसेनले ३ विकेट तथा पिएरले २ विकेट लिए । सुनिल नारायण र फवाद अहमदको नाममा पनि १-१ विकेट रहयो ।

प्रकाशित मिति: : 2020-09-08 22:56:41

प्रतिकृया दिनुहोस्