रिपोर्ट ढिलो आउँदा झनै जोखिम बढ्यो

रविन भट्टराई

घटना १

 

भदौ १३ मा विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवार र आफन्तलाई बुझाइसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आयो। मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ६२ वर्षीय वृद्धको शव आफन्तले दाहसंस्कार गर्न लैजाँदै गर्दा रिपोर्ट आएको हो।

त्यतिबेला आफन्तले शव मोरङको कानेपोखरी पुर्‍याइसकेका थिए। शवलाई घर पुर्‍याएर धार्मिक परम्पराअनुसार अन्तिम संस्कारका लागि घाट लाने तयारी गरिएको थियो। तर, रिपोर्ट पोजेटिभ आएपछि प्रहरीले शवलाई कानेपोखरीमै रोकेर नेपाली सेनाको ‘बडी’ व्यवस्थापन टोलीलाई जिम्मा लगायो।

घटना २

यही भदौ ६ मा मोरङको विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय एक पुरुषको राति मृत्यु भयो। श्वासप्रश्वासमा समस्या भएको बताएपछि उनलाई तत्काल कोसी अस्पताल लगिएको थियो।

एम्बुलेन्सबाट ओराल्दै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए। आफन्तले ती पुरुषको शव घरमा ल्याए। परिवारका सदस्यले मधुमेहको पुरानै समस्याका कारण उनको मृत्यु भएको हुन सक्ने अड्कल काटे। तर, उनमा कोरोना संक्रमण भएको दाहसंस्कार गर्न घाट लैजाने बेलामा मात्रै थाहा भयो। वडाध्यक्ष विजय कामतले मृतकमा कोरोना संक्रमण रहेकाले घाटमा लैजान नमिल्ने बताए। त्यसपछि नेपाली सेनाको टोली आएर शव लिएर गयो।

प्रकाशित मिति: : 2020-09-11 09:10:39

प्रतिकृया दिनुहोस्