म्याक्सवेल र मिचेल मार्शको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डलाई बलियाे लक्ष्य

ग्लेन म्याक्सवेल र मिचेल मार्शको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा घरेलु टोली इंग्ल्यान्डलाई २ सय ९५ रनको लक्ष्य दिएको छ।

म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९४ रन बनायो। 

खराब सुरुवात गरेको अष्ट्रेलियालाई छैटौं विकेटका लागि मार्श र म्याक्सवेलले १ सय २६ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै बलियो अवस्थामा पुर्‍याए।

अष्ट्रेलियाका आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले ५९ बलमा ४ चौका र ४ छक्कासहित ७७ रनको योगदान दिए। उनलाई जोफ्रा आर्चरले ४४ औँ ओभरको तेस्रो बलमा बोल्ड आउट गरे।

यता मिचेल मार्शले ७३ रनको योगदान दिए। ४७ औँ ओभरको अन्तिम बलमा मार्क वुडले एलबिडब्लू आउट गर्नुअघि मार्शले एक सय बलमा ६ चौका प्रहार गरे। 

अष्ट्रेलियाका शीर्षक्रमका ब्याट्सम्यानको प्रर्दशन कमजाेर रह्यो। ओपनर डेभिड वार्नरलाई चौथो ओभरको पहिलो बलमा  आर्चरले ६ रनमा बोल्ड आउट गरे। 

यता, दशौं ओभरको पहिलो बलमा मार्क वुडले विकेटकिपर जस बटलरबाट कप्तान आरोन फिन्चलाई १६ रनमा क्याच गराए। फिन्चले २५ बलमा ३ चौका प्रहार गरे। 

स्टोइनिस र मार्नस लाबुसेनले तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए। तर, वुडको बलमा कट निकाल्ने प्रयासमा स्टोइनिस बटलरबाट ४३ रनमा समातिए। स्टोइनिसले ३४ बलमा ६ चौका प्रहार गरे।

२० औँ ओभरको दोस्रो बलमा लाबुसेनलाई स्पिनर आदिल राशिदले २१ रनमा एलबिडब्लू आउट गरे। लाबुसेनले ३० बलमा एक चौका प्रहार गरेका थिए। 

यता, २४ औँ ओभरको चौथो बलमा एलेक्स केरी साम विलिंग्सबाट क्याच हुन पुगेका थिए। उनी राशिदको बलमा आउट भएका थिए।  

प्याट कमिन्सलाई आर्चरले ९ रनमा क्याच आउट गराए। मिचेल स्टार्क १२ बलमा १ चौका र १ छक्का सहित १९ रनमा अविजित रहे। एडम जाम्पा ५ रनमा आउट भए।

इंग्ल्यान्डका तीव्र गतिका बलर आर्चरले १० ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए। स्पिनर आदिल राशिदले १० ओभरमा ५५ रन खर्चेर २ विकेट लिए। मार्क वुडले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए। क्रिक्स वोक्सले एक विकेट लिए।
 

प्रकाशित मिति: : 2020-09-12 06:32:56

प्रतिकृया दिनुहोस्