कोरोना कहरमा भारत फर्किनेहरु भन्छन्, ‘रोगबाट बच्न आएका थियौं, भोकमरी भएपछि बाँच्न जादैछौं’ (भिडियो)

गुल्मीका विक्रम राना कोरोना कहरका बेला भारतबाट गत असारमा घर फर्किए। उनी भारतमा लामो समयदेखि भारतमा मजदुरी गर्छन्। भारतबाट आएपछि तीन महिना बिना काम घरमै बसे। ‘विश्वभरी कोरोना कहर शुरू भएपछि आएको थिए।  तीन महिना बसे। अलिअलि कमाएको सकियो। परिवार चलाउन समस्या भयो। यहाँ जिविकोपार्जनको स्रोत केही छैन।  त्यसैले भोक टार्न भारत फर्किएको हुँ,’ उनले बिएल नेपाली सेवासँग भने।

उनले भारतको आधार कार्ड बनाएका छन्। उनका अनुसार आधार कार्ड नबनाउनेलाई साह्रै गाह्रो हुनेरहेछ। यहाँ त आधार कार्ड नबनाएकालाई छिर्न नै दिँदैन। उनीहरु दिल्लीमा मजदुरी गर्छन्।  पाँच जनाको समूह थिए। उनीहरू मध्ये एक जनाको आधार कार्ड नभएकोले भारत जान पाएनन्।

उनी पहिलो पटक गाउँका साथीसँग धन कमाउन भारत जाँदै थिए। उता भारत सरकारलेसमेत आधार नभएकालाई छिर्न दिँदैन।  यस्तै जमुनाहा नाकामा भारत जान टन्टलापूर घाममा लाम लागेकी थिइन्, मुगुकी सोनाम लामा। मुगुको मुगुम् कार्मारोङ गाउँपालिकाकी उनी पनि गत जेष्ठ महिनामा घर फर्किएकी थिइन्।

उनका आमा, बुबा र दाइ भाउजु घर भारतमै छन्।  नेपालमा लकडाउन खुल्ने सुरसार नदेखिएपछि आफू भारत जान लागेको उनले बताइन्। उनका अनुसार कोरोना कहरका कारण यहाँ कमाउने हुने अवस्था छैन। कोरोना महामारीको समयमा यात्रा गर्दा जोखिम हुनेभए पनि भोकमरी हुने अवस्था आएपछि जानका लागेको हो। उनीसँग काठमाडौंमा बस्दै गरेकी भतिजी समेत छिन्। आमा बुबा भारतमा बस्ने गरेपछि उनी काठमाडौंमा लामा पढ्छिन्।

राना र लामा त उदाहरण मात्र हुन्। अहिले जमुनाहामा रोगका कारण स्वदेश फर्किएका र भोकका कारण भारत फर्किने नागरिक धेरै छन्। उनीहरू भारत फर्किनुको कारण बेरोजगारी र सरकारको बेवास्ता नै भएको बताउँछन्।  आउने जाने यो क्रममा दैनिक चलिरहेको छ।

नेपाल आउने र भारत फर्किनेहरूको लर्को

बाँकेस्थित नेपाल भारत सीमा नाका चैत ९ गते यता बन्द छ। कोरोना कहरका कारण यहाँको स्थानीय प्रशासले लकडाउन घोषणा गर्नु पूर्व नै बन्द गर्ने निर्णय गरेको थियो। पछि चैत ११ गते सरकारले देशव्यापी लकडाउन गर्‍यो।

दैनिक हजारौ मानिस भारत जाने र नेपाल आउने पश्चिम नेपालको प्रमुख नाका जमुनाहा अहिले पनि बन्द अवस्थामा छ। कोरोना कहरका कारण ६ महिनायता  अत्यावश्यक बाहेकका सबै आवागमन बन्द अवस्थामा छन्। ६ महिनाको अवधिमा यहीँ नाका भएर हजारौं मानिस नेपाल भित्रिएका थिए। यहीँ नाका भएर विशेष गरी कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका बहुसंख्यक मानिसहरु आएका हुन्।

भारतका विभिन्न क्षेत्रमा मजदुरी गर्न गएका नागरिक कोरोना कहरका कारण स्वदेश फर्किएका थिए। तर भदौ यता भने भारतमा मजदुरी गरिरहेका नेपालीहरू भारत फर्किन थालेका छन्। एक महिनायता दैनिक भारतबाट नेपाल आउनेको संख्या दैनिक बढिरहेको छ। अहिले जमुनाहाबाट नेपाल आउन अनिवार्य  नेपाली नागरिकता आवश्यक हुन्छ। नेपालबाट भारत जान पनि अनिवार्य आधार कार्ड हुनुपर्छ।

जमुनाहास्थित सुरक्षा अधिकारीका अनुसार लामो समयदेखि भारतमा मजदुरी र विभिन्न शिलशिलामा बसोबास गरिहेका र  आधार कार्ड बनाएका नागरिक मात्र भारत जान पाउँछन्। आधार कार्ड नभएका नागरिकलाई भारत सरकारले प्रवेश अनुमति दिएको छैन। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता सुवास खड्काका अनुसार दैनिक सरदर १ सय ५० जना भारत जाने गरेका छन्।

उनका अनुसार एक महिनाको अवधिमा अनुमानित ४५ सय जना नागरिक भारत प्रवेश गरिसकेका छन्। उनीहरू भारतीय आधार कार्ड बनाएका नेपाली मात्रै हुन्। अहिलेसम्म सबै भन्दा बढी दिल्ली र हिमाञ्चल प्रदेशका छन्।  उताबाट पनि दैनिक १ सय जनाको हाराहारीमा नागरिक आउने गरेका छन्। ‘भारतबाट प्रायः कर्णालीसहित पहाडी जिल्लाका नागरिक आएका छन्।  हिमाञ्चल प्रदेशमा स्याउको सिजन सुरु भएकोले उता जान लागेको बताउँने धेरै छन्। अत्यावश्यक बाहेक अन्यलाई आवातजावतमा कडाइ गरिएको छ,’ उनले भने।

यस्तै नेपाल तर्फबाट सीमा नजिकैको रुपैडिहामा औषधि खरिद र उपचारको लागि मात्रै नेपाली नागरिकताको फोटोकपी राखेर जान पाउँछन्। अन्यथा मान्छे प्रयोजनका लागि जान नदिइएको र कडाई गरिएको उनको भनाई छ ।

प्रकाशित मिति: : 2020-09-14 13:03:03

प्रतिकृया दिनुहोस्