ललितको उपचारमा सहयोग गर्न सिप्यानको अपिल

दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीको उपचारका लागि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले सहयोगको अपिल गरेको छ।

सिप्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै  घटनास्थल देखि काठमाडौं ल्याउन तथा उपचारमा सहयोग गर्ने अस्पताल, क्रिकेटर, शुभेच्छुकलगायत सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दै भण्डारीको उपचारका लागि सम्पूर्ण सहयोग गर्न प्रतिवद्ध रहेको जनाएको छ।

खेलाडीको हकहितका लागि विगतदेखि नै काम गर्दै आएको सिप्यानले भण्डारीको सहयोगका लागि सम्पूर्ण समर्थक लगायत सरोकारवाला समक्ष सिप्यानको बैंक खातामार्फत सहयोग रकम जम्मा गर्न अपिल गरेको छ।

सिप्यानले संकलित सम्पूर्ण रकम घाइते भण्डारीलाई हस्तान्तरण गर्नेछ।

नाम : क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल

बैंक : सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, पुतलीसडकशाखा काठमाडौँ

खाता नम्बर : ०० १००० २५२९ CA

आइतबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको झलारी बजारमा भण्डारी मोटरसाइकल दुर्घटनामा परेका हुन्। 

धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार भण्डारी घाइते भएका थिए। 

दुर्घटनालगत्तै झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि धनगढी लगिएको थियो। उनलाई राति नै कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज लगिएको थियाे। 

भण्डारीको दाहिने खुट्टा र दाहिने हात भाँच्चिएको छ। भण्डारीको छाती र अन्य भागमा समेत चोट भएकाले थप उपचारका लागि काठमाडौं ल्याइएकाे छ।



 

प्रकाशित मिति: : 2020-09-15 12:46:02

प्रतिकृया दिनुहोस्