सन्दीप आईपीएल खेल्न यूएई पुगे

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन्।

सन्दीप दिल्ली क्यापिटल्समा आवद्ध छन्। उनले पछिल्लो दुई सिजन दिल्लीका लागि खेलेका थिए।

यसअघि सन्दीप आइतबार यूएई पुग्ने भनिए पनि उनको विमान छुटेपछि एक दिन ढिला टोलीमा सहभागी भएका हुन्। सन्दीप सोमबार बिहान यूएईका लागि उडेका थिए।

ट्रिनिडाड एण्ड टोबागोमा भएको क्यारेबियन प्रिमियर लिग सीपीएल खेलेर उतैबाट सन्दीप यूएई गएका हुन्। दिल्ली फ्रेन्चाइजले सन्दीप यूएई आइपुगेको जानकारी दिँदै उनलाई स्वागत समेत गरिसकेको छ। 

सन्दीपले अब तीनपटक कोरोना परीक्षण गरेपछि टोलीको प्रशिक्षणमा सहभागी हुनेछन्। आईपीएलले पहिलो, तेस्रो र छैटौं दिनको परीक्षण नेगेटिभ आएपछि खेल्न पाउने प्रावधान राखेको छ।

सन्दीपले सीपीएलमा जमैका तलावाहजबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ११ खेलमा कुल १२ विकेट लिए।

१३औं संस्करणको आईपीएलको उद्घाटन खेलमा साविक बिजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नाई सुपर किंग्स भिड्नेछन्। सन्दीप समावेश दिल्लीले पहिलो खेल सेप्टेम्बर २० मा किंग्स एलेभेन पञ्जावसँग खेल्नेछ।

आईपीएलमा एक फ्रेन्चाइजले बढीमा ८ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् जसमा ४ खेलाडीले प्लेइङ सेटमा रहेर खेल्न पाउनेछन्।

दिल्ली क्यापिटल्का खेलाडी

शिखर धवन, पृथ्वी श, श्रेयस ऐर, ऋषभ पन्त, इशान्त शर्मा, अक्सर पटेल, अमित मिश्रा, हर्ष पटेल, आवेश खान, कागिसो रबाडा, किमो पल, सन्दीप लामिछाने, अजिन्का रहाणे, रविचन्द्रन आश्विन, शिम्रन हेतमायर, एलेक्स क्यारी, मोहित शर्मा, तुषार देशपान्डे, ललित यादव, मार्कुस स्टोइनिस, ड्यानियल स्याम्स र एनरिच नोर्किय

प्रकाशित मिति: : 2020-09-15 13:25:52

प्रतिकृया दिनुहोस्