क्रिकेटर भण्डारीको मुख्य शल्यक्रिया सफल, अवस्था स्थिर

राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीको  बिहीबार शल्यक्रिया भएको छ। क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले बिहीबार ललितको दायाँ हातको मुख्य चोटको शल्यक्रिया भएको बताएको हो।

 कञ्चनपुरमा सडक दुर्घटनामा घाइते भएपछि थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका ललितको डा.चक्रराज पाण्डेको टिमले शल्यक्रिया गरेको सिप्यानले बताएको छ।

सिप्यानले ललितको अवस्था स्थिर रहेको समेत बताएको छ। ललितलाई आइतबार राति धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार ललित र उनका भाइलाई चोट लागेको थियो।

देब्रे हाँते तीव्र गतिका बलर भण्डारीको भाग्यवश देब्रे हातको चोट गम्भीर छैन। दाहिने हातको चोट गम्भीर छ। उनको दुबै हात र खुट्टाको शल्यक्रिया गर्नु पर्ने उपचारमा संलग्न चिकित्सकले बताएका थिए।

गत आइतबार साँझ दुर्घटनामा परेपछि ललितलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो। दुर्घटनामा घाइते भएका क्रिकेटर भण्डारीको दुवै हात र दुवै खुट्टामा चोट लागेको थियो। 

त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरेपनि थप उपचारका लागि सोमबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। 

यसअघि सिप्यानले भण्डारीलाई आर्थिक सहयोग गर्न मंगलबार अपिलसमेत गरेको थियो।

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुन्। फास्ट बलर भण्डारी अहिले राष्ट्रिय टोलीमा छैनन्। राष्ट्रिय टीमबाट डेब्यु गरिसकेका तीव्र गतिका बलर ललित पछिल्लो समय इन्जुरीका कारण टीमबाहिर रहेका थिए। 

पछिल्लो समय उनी नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका थिए।  उनले सन् २०१७ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेटस् (यूएई) विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। 

भण्डारीले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय खेल खेलेका थिए। त्यसअघि उनले नपालका लागि विभिन्न उमेर समूहका प्रतियोगिता खेलिसकेका छन्।

प्रकाशित मिति: : 2020-09-17 18:12:43

प्रतिकृया दिनुहोस्