क्रिकेटर भण्डारीको उपचारका लागि सहयोग जुट्ने क्रम जारी

गत आइतबार साँझ सवारी दुर्घटनामा परेर घाइते भएका क्रिकेटर ललित भण्डारीको उपचारका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ। 

शुक्रुबार मात्रै ललितको उपचारका लागि अस्ट्रेलियाको सिड्नीमा रहेका नेपाली युवाहरुले १७ हजार रुपैयाँ पठाएका छन्।

सो रकम सेन्चुरी विकास वैंक पुतलिसडकमा रहेको क्रिकेट खेलाडी एशोसिएशन (सिप्यान)को खातामा जम्मा भएको छ। 

त्यहाँ रहेका नेपाली युवाहरुले पकेट मनिबाट ललितको उपचारका लागि सहयोग रकम संकलन गरि नेपालका पूर्व कप्तान एलबी क्षेत्रीलाई पठाएका थिए।

क्षेत्रीले उक्त रकम सिप्यानको खातामा जम्मा गरेको जानकारी दिए।

नेपालीहरु मिलेर सिड्नीमा ‘द नेक्सट राईजिङ क्रिकेट क्लब’ नै गठन गरिएका छन्।

क्लबका कप्तान उत्सव ओझासहित पुरुषोत्तम उप्रेती, सविन गिरी, अविनेश कँडेल, नितिन विसी, विकास खरेल, अंकित श्रेष्ठ, सुमित अर्याल, प्रतिक क्षेत्री, दीपेश कार्की, सिमान्त अधिकारी, सरोज सिंह केसी, सौरव गुप्ता र सन्दीप पौडेल मिलेर उक्त रकम जम्मा गरेका थिए।

काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत ललितका लागि कम्तिमा २०–२० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। 

आइतबार राति कञ्चनपुरको झलारीमा उनी सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएपछि दुर्घटनामा घाइते भएका क्रिकेटर भण्डारीको दुवै हात र खुट्टा भाँच्चिएको छ। 

उनको दुबै हात र खुट्टाको शल्यक्रिया गर्नु पर्ने उपचारमा संलग्न चिकित्सकले बताएका थिए। तर देब्रे हाँते तीव्र गतिका बलर भण्डारीको भाग्यवश देब्रे हातको चोट गम्भीर छैन। यद्यपी उनको बिहीबार शल्यक्रिया गरिएको छ।

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुन्। फास्ट बलर भण्डारी अहिले राष्ट्रिय टोलीमा छैनन्। राष्ट्रिय टीमबाट डेब्यु गरिसकेका तीव्र गतिका बलर ललित पछिल्लो समय इन्जुरीका कारण टीमबाहिर रहेका थिए। 

पछिल्लो समय उनी नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका थिए।  उनले सन् २०१७ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेटस् ९यूएई० विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। 

भण्डारीले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय खेल खेलेका थिए। त्यसअघि उनले नपालका लागि विभिन्न उमेर समूहका प्रतियोगिता खेलिसकेका छन्।

प्रकाशित मिति: : 2020-09-18 18:36:33

प्रतिकृया दिनुहोस्