अनौठो छ नियतिको खेल

अनौठो छ नियतिको खेल पनि
जसलाई सबैले माया मारेको हुन्छ
ऊ बाँचिरहेको हुन्छ मृत्युसँग संघर्ष गरेर
जो छ स्वस्थ, बलिष्ठ र निरोगी
ऊ हेर्दा हेर्दै अदृश्य हुन्छ जगतदेखि
अनौठो छ नियतिको खेल पनि ।

अनौठो छ नियतिको खेल पनि
जो सडेको छ कुष्ठ रोगले यहाँ
ऊ बाँचिहेको छ मागेर खाँदै भए पनि
जो छ धन सम्पदा ऐश्वर्यको मालिक
ऊ हृदयाघात भई फर्किन्छ असमयमै
अनौठो छ नियतिको खेल पनि ।

अनौठो छ नियतिको खेल पनि
निर्धन,पीडित छ अर्थाभावले
जुझिरहेको छ जीवनसँग हरपल यहाँ
धनवान र सत्तावान मान्छे भने 
निर्बल भई घुँडा टेकी मुर्झाउँछ यहाँ
अनौठो छ नियतिको खेल पनि ।

अनौठो छ नियतिको खेल पनि
कुप्रिएर भए'नि बाँचेको छ मान्छे काम्दै
मृत्यु माग्दा'नि पाउँदैन मृत्यु
लाउँ लाउँ खाउँ खाउँ अवस्थाको बालक
अाँखा चिम्लिन्छ हेर्दा हेर्दै
अनौठो छ नियतिको खेल पनि ।

प्रकाशित मिति: : 2020-09-19 17:56:00

प्रतिकृया दिनुहोस्