मधुका मीठा मुक्तक 

अखण्डित एकतामा पनि “र"कार  खडा भए पछि
परामर्शको  ठाउँमा  ठाडै "न"कार  खडा भए पछि
कसरी समाज उन्नति तर्फ अगाडि बड्न सक्ला र ! 
हरेक कार्यमा अहं बोधक “म"कार खडा भए पछि

घरकै  व्यक्तिले  घरको  इज्जत  लुट्ने रहेछन्
जता  दाम छ आसक्तिहरू त्यतै  जुट्ने रहेछन्
नाम कमाउने  आशामा काम गर्ने  हरामहरुले 
केही नजान्ने  लाटाहरूको  बुद्धि भुट्ने रहेछन् 

हुन त  के  हो खै !  तर  पनि  फलिरहेको छ
सुखको  आश   देखाएर  सधैँ  छलिरहेको छ
यो गर्छु त्यो गर्छु भन्दा भन्दै कठै! हाम्रो शरीर 
समयको ज्वालाले प्रत्येक पल जलिरहेको छ

हात्ति बान्न सक्नेले  जिब्रो  पनि बान्न पर्यो
आज्ञा  दिने  व्यक्तिले स्वयं पनि मान्न पर्यो 
परोपदेशमा चतुर  भएर  के गर्ने महाजन !
देखावटी मात्र हैन  यथार्थ पनि जान्न पर्यो 

माग्नु  भन्दा  पहिला  मिलेको समाउन आवश्यक छ 
आत्मनिर्भर भएर आत्मशक्ति जमाउन आवश्यक छ 
यो संसारको  अर्को  नाम  नै   दुःखालय हो , मित्र!
यहाँ वस्तुमा भन्दा  वास्तवमा  रमाउन आवश्यक छ

प्रकाशित मिति: : 2020-09-19 18:30:00

प्रतिकृया दिनुहोस्