सन्दिप नखेलेको खेलमा पञ्जावमाथि दिल्लीको रोमाञ्चक जित

सन्दीप लामिछाने बिना मैदानमा उत्रिएको दिल्ली क्यापिटल्सले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी सुरूवात गरेको छ।

लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले किंग्स ११ पञ्जाबलाई सुपर ओभरमा हराउँदै प्रतियोगितामा विजयी सुरूवात गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ को योगफल तयार गरेको थियो।

१५८ को विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले पनि निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन मात्र बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा पहिले बलिङ गरेको दिल्लीका लागि कागिसो रवाडाले पहिलव बलमा २ रन दिएर लगातार दुई बलमा दुई विकेट लिएपछि दिल्लीले एक ओभरमा ३ रनको लक्ष्य पाएको थियो।

३ रनको लक्ष्यसहित कप्तान श्रेयस ऐयर र ऋषभ पन्त दिल्लीका लागि क्रिजमा उत्रिएका थिए।

१ रन वाइडमा पाएको दिल्लीका लागि ऋषभले २ रन थप्दै रोमाञ्चक जित दिलाए।

यसअघि खराब सुरूवात गरेको दिल्लीका लागि मार्कस स्टोइनिसले टोलीलाई सम्मान जनक स्कोरसम्म पुर्‍याए। उनले सर्वाधिक ५३ रन बनाउँदा कप्तान श्रेयस ऐयरले ३९ रन बनाए। त्यस्तै ऋषभ पन्तले ३१ रन जोडेर आउट भएका थिए।

दिल्लीलाई औसत स्कोरमा समेट्न मोहम्मद सामीले ३ विकेट लिँदा सेल्डोन कोट्रेलले २ विकेट र रबि बिस्नोइले १ विकेट लिए।

१५८ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबका लागि मयंक अग्रवालले सर्वाधिक ८९ रन बनाए पनि अन्यले राम्रो खेल्न नसक्दा हातैमा आएको जित फुत्किएको थियो। उसका लागि केएल राहुलले २१ रन तथा कृष्णप्पा गौतमले २० रन जोडेका थिए।

पञ्जाबलाई बराबरी रनमा रोक्न दिल्लीका लागि मार्कस स्टोइनिसले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम ओभरमा २ विकेट लिए।

अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएको अवस्थामा स्टोइनिसले पहिलो बलमा छक्का दिए। दोस्रो बलमा २ रन दिएका उनले तेस्रो बलमा चौका दिँदा दिल्लीले खेल गुमाइसकेको थियो। तर चौथो बलमा डट फालेर त्यसपछिका दुई बलमा लगातार विकेट लिँदै उनले दिल्लीलाई खेलमै राखे।

उनीसँगै कागिसो रबाडा र रबिचन्द्रन अश्विनले पनि समान २/२ विकेट लिँदा मोहित शर्मा र अक्षर पटेलले १/१ विकेट लिए।

आजको खेलमा नेपाली स्टार स्पिनर सन्दीप लामिछाने खेलेका थिएनन्।

प्रकाशित मिति: : 2020-09-21 00:32:46

प्रतिकृया दिनुहोस्