भारतीय संसदमा बहसः नेपाल हुँदै भारतमा ड्रग्स भित्रियो (भिडियो)

गत वर्ष मात्र भारतीय संसदमा नेपालको सीमा हुँदै पाकिस्तानी आतंकवादी भारत प्रवेश गरेको आरोप भारतीय सासंदहरूले लगाएका थिए। 

कोरोना महामारीका कारण विगत ६ महिनादेखि नेपाल–भारत सीमा ठप्प छ। यस्तो अवस्थामा नेपालको बाटो हुँदै भारतमा ड्रग्सको धन्दा बढेको भारतीय सांसदहरूले अर्को आरोप लगाएका छन्। 

नेपालको पूर्वी सीमा वीरगञ्ज नजिकै जोडिएको गोरखपुरका सांसद रवि किशनले यसै साता राज्य सभामा यस्तो आरोप लगाएका हुन्। 

भारतीय फिल्म अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणपछि यी सबै कुरा बाहिर आएको हो। अभिनेता सुशान्त १४ जुनमा अपत्यारिलो ढंगले मुम्बईस्थित आफ्नो घरमा मृत अवस्थामा फेला परेका थिए। 

मुम्बई प्रहरीले छानवीनअघि नै उनको निधनलाई आत्महत्या घोषणा गरेको थियो। मुम्बई प्रहरीको कार्यशैलीप्रति आवाज उठाउँदै उनको समर्थकले चर्को दबाब दिएपछि केन्द्र सरकारले केन्द्रीय जाँच एजेन्सी (सीबीआई) लाई छानवीनको सम्पूर्ण जिम्मेवारी सुम्पिएको  थियो। 

सीबीआईको छानवीनमा ड्रग्सलगायत थुप्रै कुरा बाहिर आएपछि सरकारले नारकोटिक्स कन्ट्रोल विभाग (एनसीबी) लाई पनि छानवीनको स्विकृति प्रदान गरेको छ। छानवीनकै क्रममा हिन्दी फिल्म उद्योग (बलिउड) मा ड्रग्सको ठूलो ¥याकेट फेला परेको विभिन्न मिडियाले बताएका छन्। 

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्स ¥याकेटमा संलग्न रहेको भन्दै एनसीबीले गत सातादेखि उनलाई पूर्पक्षमा राखेर छानवीन गरिरहेको छ। 

बलिउडमा मौलाउँदो ड्रग्स संस्कृतिको विषयमा अभिनेत्री कंगना रनौटले खुलेर कुरा गरेकी थिइन। उनले बलिउडका ९९ प्रतिशत स्टारहरू ड्रग्समा लिप्त रहेको प्रतिक्रिया दिएपछि अहिले यो मुद्धा सडक हुँदै संसदसम्म पुगेको हो। 

बलिउडमा लामो समय काम गरेका भोजपुरी नायक रवि किशनले गत बुधबार राज्य सभामा बलिउडमा प्रवेश गरेको ड्रग्सको सफाई हुनुपर्ने माग राखे। उनले चीन र पाकिस्तानबाट पञ्जाव तथा नेपालको बाटो हुँदै ठूलो परिमाणमा ड्रग्स भारत प्रवेश गरेको दावी गरेका थिए। उनले भने, ‘दुःखका साथ भन्नु परिरहेको छ, यसमा हाम्रो छिमेकी मुलुकको हात छ। प्रत्येक वर्ष चीन र पाकिस्तानबाट ठूलो परिमाणमा नसीलो पदार्थको तस्करी तथा मगाउने गरिन्छ, पञ्जाबको बाटो, नेपालको बाटो हुँदै।’

रवि किशनको भनाईप्रति समाजवादी पार्टीकी नेता तथा पूर्व अभिनेत्री जया बच्चनले आपत्ति जनाएकी छिन्। उनले बलिउडमा भनिएजस्तो ड्रग्सको धन्दा नभएको बताएकी छिन् र उनले बलिउडलाई बदनाम गर्न केही व्यक्ति लागेको आरोप लगाएकी छिन्। 

तर, रवि किशनको भनाईको अर्की अभिनेत्री तथा सांसद जया प्रदाले समर्थन जनाएकी छिन्। उनले पनि विभिन्न भारतीय च्यानलहरूलाई दिएको अन्तर्वार्तामा नेपालको बाटो हुँदै ड्रग्सको तस्करी भइरहेको आरोप लगाएकी छिन्। यसका लागि उनले सरकारसँग कडा कदम उठाउन आग्रह गरेकी छिन्। 

अपुष्ट समाचारअनुसार बलिउडमा अहिले अर्बो डलरको ड्रग्सको कारोबार रहेको केही एजेन्सीले बताएका छन्। यसमा बलिउडका सुपरस्टारहरू नै संलग्न रहेको आरोप पनि लागेको छ। 

सन् २०१६ मा पूर्व नायिका ममता कूलकर्णी २ हजार करोड बराबरको नसालु पदार्थको कारोबारमा संलग्न भेटिएपछि पक्राउ परेकी थिइन। 

प्रकाशित मिति: : 2020-09-21 17:27:00

प्रतिकृया दिनुहोस्