भेन्टिलेटर अभाव भएपछि सप्तरीका कोरोना संक्रमित मेयर काठमाडौं रिफर  

कोरोना संक्रमित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेशकुमार साहलाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।  

प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरासमेत रहेका नगर प्रमुख साहलाई मंगलबार कोरोना संक्रमणको पुष्टि भएको थियो। 
मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएपछि उनलाई जनकपुरधामस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। 

कोभिड अस्पतालका फोकल पर्सन डा. रामदेव चौधरीका अनुसार मेयर साहमा श्वासप्रश्वासको समस्या बढ्दै गएपछि काठमाडौं रिफर गरिएको हो।

उनका अनुसार नगर प्रमुख साहमा निमोनियाको समस्या समेत देखिएको छ। 
कोभिड अस्पतालमा भेन्टिलेटरको अभाव रहेकोले काठमाडौंस्थित ह्याम्स अस्पताल रिफर गरिएको डा. चौधरीले बताए। 

‘नगर प्रमुख साहको अवस्था अहिले सामान्य नै छ तर भेन्टिलेटरको आवश्यकता पर्ने भएकाले काठमाडौं रिफर गरेका हौं,’ उनले भने, ‘काठमाडौं लैजानका लागि भेन्टिलेटर सहितको एम्बुलेन्स छ।’  

नगर प्रमुख साहसँगै उनको ३२ वर्षीय चालकमा समेत कोरोना संक्रमणको पुष्टि भएको बताइएको छ।

प्रकाशित मिति: : 2020-09-23 15:45:57

प्रतिकृया दिनुहोस्