क्रिकेटर ललितसिंह भण्डारीलाई उपचारका लागि चितवन टाइगर्सलगायतको सहयोग

सडक दुर्घटनामा घाइते भएका क्रिकेटर ललितसिंह भण्डारीलाई चितवन टाइगर्स लगायतका संस्थाले उपचारका लागि नगद सहयोग गरेका छन्। तीब्र गतिका बलर ललितले २०१७ र २०१८ को एभरेष्ट प्रिमियर लिग क्रिकेटमा चितवन टाइगर्सबाट खेलेका थिए।

चितवन टाइगर्सले लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालसँग मिलेर १ लाख ११ हजार १ सय ११ रुपैंया ११ पैसा उपचारका लागि प्रदान गरेको हो।

चितवन टाइगर्सका मालिक एवंम लायन्स कर्पोरेट नेपालका संस्थापक अध्यक्ष किशोर भट्टराई, अध्यक्ष शुशील विष्टले बुधबार ग्रान्डी अस्पतालमा पुगेर ललितकी श्रीमति ममतालाई चेक प्रदान गरेका थिए। सो अवसरमा चितवन टाइगर्सका मार्की एवंम राष्ट्रिय खेलाडी सोमपाल कामी र राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास, लायन्स क्लबका कोषाध्यक्ष रमेश रुपाखेती उपस्थित थिए।

सो अवसरमा अमेरिकास्थित नेपाल राइनोज क्रिकेट क्लबको डालास शाखाले ललितको उपचारका लागि ७५ हजार ८ सय ३१ रुपैंया प्रदान गरेका गरेको छ। राइनोजका संयोजक राकेश कर्णमार्फत अमेरिकामा उठाइएको रकम सोमपालमार्फत ललितकी श्रीमति ममतालाई बुधबार हस्तान्तरण गरिएको थियो।

अघिल्लो आइतबार साँझ उनी गृहनगर कञ्चनपुरमा सवारी दुर्घटनामा परेका थिए। उनी सवार मोटरसाइकल र विपरित दिशाबाट आएको ट्रकमा ठोक्किएपछि गम्भीर भएका उनलाई धनगढी, बाँकेको कोहलपुरहुँदै हेलिकप्टरबाट सोमबार काठमाडौं ल्याइएको थियो 

प्रकाशित मिति: : 2020-09-23 23:08:48

प्रतिकृया दिनुहोस्