सुद्खोरको आतंकले आधा दर्जन परिवार गाउँबाट लखेटिए, तर प्रशासन भन्छः ठूलो मिटरब्याजी होइन रहेछ

महोत्तरीको औरही नगरपालिका १ का ५८ वर्षीय रामप्रित मण्डल (खत्वे) चार छोरा, चार बुहारी र नातिनातिना छन्। ठूलो भएपनि परिवारलाई के खाऊँ, के लाऊँ भन्ने चिन्ता थिएन।

सम्पत्तिको नाममा १५ धुर घडेरी, ११ कठ्ठा खेत र एउटा ट्याक्टर थियो उनको। चार लक्काजवान छोराले मिहिनेत गर्थे, भइरहेको आम्दानीले घरखर्च चल्थ्यो। उनीहरु खुसी थिए। तर गत कात्तिकको पहिलो साता रामप्रितको परिवारमाथि बज्रपात आइपर्‍यो। महोत्तरी जिल्ला अदालतबाट सावाँ–ब्याजसहित ८ लाख ६ हजार १ सय रुपैयाँ रामप्रितकी श्रीमती ५३ वर्षीया तारादेवी मण्डलसंग असुल गरी पाऊँ भनी लेनदेन मुद्दाको म्याद आयो।

मुद्दा हाल्ने व्यक्ति थिए रामप्रितकै छिमेक नामुद मिटरब्याजी ३० वर्षीय विजय चौधरी (कलवार)। जसले गाउँका गरिब तथा विपन्नहरुको बाध्यताको मौकाछोपी गैरकानुनी रुपमा प्रतिबजार हजार अर्थात् १ सय ७२ प्रतिशत मासिक ब्याजदरमा ऋण लगाउने धन्दा गर्छन्। समयमै ब्याजको स्याज गरेर ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई घरमै पसेर कुटपिट गर्छन्, शौचालयमा थुन्छन्, श्रीमती उठाइदिने धम्की दिन्छन्। उनको यो आतंकले गाउँका झण्डै आधा दर्जन परिवार विस्थापित भइसकेका छन्।

प्रकाशित मिति: : 2020-09-24 16:11:11

प्रतिकृया दिनुहोस्