अस्ट्रेलियाका पूर्व क्रिकेट खेलाडी डिन जोन्सको निधन भएको छ। ५९ वर्षीय जोन्सको बिहीबार मुम्बईमा निधन भएको हो।
उनी बिहीबार बिहान मात्रै ‘मर्निङ वाक’का लागि निस्केका थिए। लञ्च समयमा होटलमै उनलाई ह्रदयघात भएको भारतीय प्रशारण संस्था स्टार इन्डियाले जनाएकाे छ।
‘हामीलाई डिन जोन्सको निधनको समाचार सुनाउनु पर्दा निकै दु:ख लागेको छ,’ स्टार इन्डियाले भनेकाे छ।
इन्डियग प्रिमियर लिग (आईपीएल) को १३ औँ संस्करणको कमेन्ट्रीका लागि उनी भारतको मुम्बईमा थिए।
सन् १९८४ देखि १९९४ सम्म अस्ट्रेलियाली टिमबाट खेलेका जोन्सले ५२ वटा टेस्ट म्याच खेलेका छन् भने १६४ वान डे म्याच खेलेका थिए।
उनले टेस्ट म्याचमा ११ शतक र १४ अर्धशतकसहित ३ हजार ६ सय ३६ रन बनाएका थिए। त्यस्तै वान डे म्याचमा ७ अर्धशतक र ४६ अर्धशतकसहित ६ हजार ६८ रन बनाएका थिए।
डिन जोन्स एक सानदार क्रिकेटरका साथै आफ्नो उम्दा कमेन्ट्रीका लागि पनि चर्चित थिए। कैयौँ अन्तर्राष्ट्रिय खेलमा उनले कमेन्ट्री गरेका छन्।