देश विदेश एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको नेपाली कथानक चलचित्र ‘शिरफूल’ कोरोना महामारीकैबीच दर्शकमाझ आउँदैछ।
कोरोनाको विश्व महामारीले सबै क्षेत्र प्रभावित भइरहेका बेला ‘शिरफूल’ निर्माण युनिट वैकल्पिक माध्यमबाट चलचित्र प्रदर्शन गर्ने निधोमा पुगेको हो। यही असोज १६ गते डिसहोम सिनेमा घर च्यानल नम्बर १०८ मार्फत ‘शिरफूल’ प्रदर्शन हुँदैछ।
सिधै डिसहोम सिनेमा घर, च्यानल नम्बर १०८ मा दैनिक ८ वटा ‘शो’ हेर्न सकिनेछ। बिहान १, ४, ७ र १० बजे हेर्न सकिनेछ भने दिउँसो १, ४ र बेलुकी ७ तथा राति १० बजे शो राखिएको छ।
नाइस मिडिया नेटवर्क प्रालिको व्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘शिरफूल’को निर्देशन कमल एक्चै मगरले गरेका हुन्।
‘शिरफूल’मा आधुनिकताको बढ्दो प्रभावलाई मुख्य विषयवस्तु बनाइएको छ । र, ‘शिरफूल’ नारी प्रधान चलचित्र हो। यो चलचित्रले युवा पुस्तामा देखिएको पश्चिमा संस्कृतिको प्रभावलाई चित्रण गर्ने प्रयत्न गरेको छ।
प्रेम, कला र संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दै गएको परिप्रेक्ष्यमा ‘शिरफूल’ले विषयवस्तुलाई गहन ढंगले उठान गरेको छ।
चलचित्रमा अभिनेत्री रुपा राना बाहेक अधिकांश थिएटरकै कलाकार छन्। ‘शिरफूल’मा विनिता मगर, राज थापा, रुपा राना, देव आले मगर, पूजा गदाल, नीता पुन, नमिता तामाङ, विना थापा, लिला गुरुङ, राजु योगिन, सुनिल मगरल, मरिश्का पोख्रेल गायतको मुख्य अभिनय रहेको छ भने हरि लम्सालको संगीत, डिपी खानाल र सन्दीप थापाको गीत रहेको छ।
सिद्धान्त एस. पौडेलको निर्माण नियन्त्रण रहेको ‘शिरफूल’लाई निरोज श्रेष्ठले खिचेका हुन्। ‘शिरफूल’ निर्देशक कमलको देखि कलाकारसम्म डेब्यु गर्दैछन्।
‘शिरफूल’ कमलको निर्देशन डेब्यु चलचित्र हो भने यो चलचित्रमार्फत चर्चित लोकगायिका नीता पुन र गायक देव आले मगरले समेत अभिनयमा डेब्यु गरेका छन्। यसअर्थ ‘शिरफूल’ले नेपाली चलचित्र नगरीमा नयाँ कलाकार उतारेको छ।
‘शिरफूल’को छायांकन काठमाडौंसहित तनहुँ, पोखरा र सोलुखुम्बुको विभिन्न स्थानमा गरिएको छ । कोरोना संक्रमणको जोखिमकाबीच सुरक्षित ढंगले घरमै बस्नुहोस् र नेपाली चलचित्र ‘शिरफूल’ हेर्नुहोस्।