हैदराबादमाथि कोलकाताको सानदार जित

युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को आठौं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ। योसँगै कोलकाताले जारी आइपिएलमा पहिलो जित निकालेको छ। यता हैदराबादको लगातार दोस्रो हार हो ।

जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले तीन विकेट गुमाउँदै १८ ओभरमा पुरा गर्‍यो।

कोलकाताको जितमा युवा ब्याट्सम्यान तथा ओपनर सुवमन गिलले अर्धसतकीय इनिङ्स खेले। ६२ बल खेलेका उनले ५ चौका र २ छक्कासहित ७० रनमा अविजित रहे।

ओईन मोर्गनले २९ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे ।

चौथो विकेटका लागि गिल र मोर्गनले ९२ रनको अविजित साझेदारी गर्दै सहज जित दिलाए।

यसअघि सुनिल नारायण र दिनेश कार्तिक दुबै शून्यमा आउट भए। नितेश राणा २६ रनमा आउट भए। हैदराबादका लागि टि नटराजन, राशिद खान र खलिल अहमदले एक एक विकेट लिए।

त्यसअघि आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेटको गुमाउँदै १ सय ४२ रनको मध्यम स्कोर बनाएको थियो। हैदराबादका लागि मनिष पान्डेले अर्ध शतकीय इनिङ खेल्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन्।

हैदराबादका लागि डेभिड वार्नर ३६ रनमा कट एण्ड बोल्ड भए। वार्नरले ३० बलमा २ चौका र १ छक्का प्रहार गरे। दोस्रो विकेटका लागि वार्नर र मनिस पान्डेले ३५ रनको साझेदारी गरेका थिए। पाण्डेले ५१ रन जोडे। पान्डेले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

रिद्धिमान शाहले ३१ बलमा १ चौका र १ छक्का सहित ३० रनमा रन आउट भए। मोहम्मद नाबी ८ बलमा २ चौका सहित ११ र अभिषेक शर्मा २ रनमा अविजित रहे।

कोलकाताका लागि प्याट कमिन्सले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । बरुण चक्रबर्तीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए। आन्द्रे रसेलले २ ओभरमा १६ रन खर्चेर एक विकेट लिए। पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बेंगालोरसँग १० रनले पराजित भएको थियो।

कोलकाता मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो।

प्रकाशित मिति: : 2020-09-27 00:06:54

प्रतिकृया दिनुहोस्