नेपाली काँग्रेसभित्रको विवाद अब औपचारिकरूपमै सतहमा

गोरखापत्र

काठमाडाैं

नारद गौतम
ललितपुर, असोज १२ गते । भुसको आगो झैँ गुम्सिएर रहेको नेपाली काँग्रेसभित्रको विवाद अब औपचारिकरूपै सतहमा आएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, निर्वाचित महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका २७ जना प्रभावशाली केन्द्रीय नेताले पार्टी विधानसम्मत् सञ्चालनको माग गर्दै ज्ञापनपत्र बुझाएपछि विवाद सतहमा आएको हो ।
पत्रमा १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गर्न पनि माग गरिएको छ । कांग्रेसमा यस्ता विवादमा प्रायः पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूह पनि पौडेल समूहमै एक भए भएर सभापति देउवाको विरुद्ध जुट्ने गरेकामा यसपटक भने सिटौला समूह सहभागी छैन । वरिष्ठ नेता पौडेलले महामन्त्री सिटौलासँग गर्नुभएको संवाद सार्थक देखिएन ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा सभापतिलाई सम्बोधन गरिएको ज्ञापनपत्रमा पार्टीको विधान, आचारसंहिता तथा सभापतिले स्थापित गर्नुभएको परम्परालाई स्वयंले स्मरण र आत्मसात् गर्नु जरुरी रहेको उल्लेख छ । नौ पृष्ठ लामो पत्रमा विभाग गठन, समायोजन, क्रियाशील सदस्यता वितरण, भ्रातृ तथा शुभेच्छुक संस्थालगायतका विषयमा उल्लेख गरिएको छ ।
माग पूरा भएन भने के गर्नुहुन्छ भने जिज्ञासामा केन्द्रीय सदस्य गुरुराज घिमिरेले भन्नुभयो, ‘‘यदि सभापतिले आगामी असोज १९ गते राखिएको केन्द्रीय कार्यसमितिको बैठकसम्ममा विधानसम्मत् उठाइएका विषयलाई न्यायपूर्ण र विधिसम्मत समाधान गर्नेतर्फ गम्भीरता र तदारुकता देखाउनु भएन भने वैधानिक सङ्घर्षका विरोध कार्यक्रम गर्न बाध्य हुनेछौं ।’’
पत्रमा तत्कालीन पार्टी सभापति सुशील कोइरालाले आफ्नो कार्यकालको दुई वर्षभित्रै केन्द्रीय विभागहरू गठन गर्दा अवैधानिक भन्दै पार्टी कार्यालयमा धर्ना र राजिनामा समेत गराई खारेज गराएको घटना ताजै छ भनी स्मरण गराइएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘‘सभापतिज्यू ! अरूमाथि आफैँले लागू गराएको नियम आफूमाथि चाहिँं लागू हुनुहुँदैन भन्ने अवधारणा र मान्यताले हामीलाई पार्टी–जीवनबाट अराजकतातिर धकेल्छ, लोकतन्त्रबाट च्यूत गराएर भीडतन्त्रमा प्रवृत्त गराउँछ ।’’
सभापति देउवाले धमाधम विभागहरू गठन गरेपछि पौडेल समूह रुष्ट भएको हो । महासमितिको बैठकले पारित गरेको पार्टी विधानको मसी नसुक्दै विधानले निश्चित व्यवस्था गरेको २८ विभागलाई बढाएर ४८ वटा बनाएकोमा पनि विरोध जनाइएको छ । देउवाले हालसम्म २० वटा विभागलाई विस्तार गर्नुभएको छ ।

प्रकाशित मिति: : 2020-09-29 08:54:16

प्रतिकृया दिनुहोस्