विमानस्थलभित्र आर्थिक चलखेलः ठाउँ हुँदाहुँदै भन्सार खुम्च्याएर पसल थाप्न दिने तयारी

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र लामो समयदेखि सरकारलाई भाडा नतिरेर व्यवसाय सञ्चालन गर्दै आएका केही व्यवसायी आर्थिक प्रलोभनमा पार्दै संवेदनशिल क्षेत्रमा पसल खोल्ने चलखेलमा लागेका छन्। 

विमानस्थल साँघुरो भएको भन्दै सरकारले आगमन कक्षमा रहेका सबै व्यवसाय नयाँ बनेको भवनमा सार्ने तयारी चलिरहेको बेला केही व्यापारी व्यवस्थापनलाई प्रलोभनमा पार्ने खेलमा लागेका हुन्। 

‘आईएमएसले बनाएको नयाँ आगमन (अराईभल) क्षेत्र तथा पार्किङ क्षेत्रको भवनमा सबै व्यवसायहरु सार्ने तयारी गरेको छ। तर, केही पुराना सञ्चालित पसलेहरुले आर्थिक चलखेल गर्दै भन्सारसँगै जोडिएको क्षेत्रमा पसल राख्ने खेलमा लागेका छन्,’ एक विमानस्थल कर्मचारीले बीएल नेपाली सेवासँग भने। 

उनका अनुसार नयाँ बनेको अराभईभल क्षेत्र प्रवेश गर्ने अन्तिमविन्दु भन्सारको क्षेत्र छ। त्यही क्षेत्रको एक कुनामा रहेको यती मनि एक्सचेन्ज, एनसेल, तथा एनटीसीको सिम–रिचार्ज पाउने पसल छन्। 

व्यवसायीहरु विमानस्थल व्यवस्थापनलाई आर्थिक लाभमा पारी सोही क्षेत्रमै बस्ने लागिरहेका छन्।

‘अहिले पनि संजय पराजुली र अच्युत हाडाले सञ्चालन गरेका मनि एक्सचेन्ज तथा पसल अराईभल जाने तर्फको मुखैमा राख्ने खेल खेलिरहेका छन्,’ ती विमानस्थल कर्मचारीले भने, ‘पसल राख्न दिने जिम्मा विमानस्थल व्यवस्थापनको हो। अहिले चलखेल गरिरहेका छन्।’

भन्सार क्षेत्रमै त्यसरी पसल राख्न नयाँ भवनमा नपुग्दै ग्राहकहरु त्यहाँ पस्ने भएकाले उनीहरु भन्सारसँगै बस्न खोजिरहेका छन्। 

‘नयाँ बनेको भवनमा स्थान हुँदाहुँदै बाटोमा त्यही पनि भन्सार सँगै यसरी पसल राख्न नहुने हो। सुरक्षाका दृष्टीले यहाँ पसल राख्नु राम्रो हैन। तर व्यापारीक लाभ उच्च हुने भएकाले व्यवसायीहरु यहीँ पसल खाेलेर बसेका छन्,’ विमानस्थलमा कार्यरत एक प्रहरी अधिकारीले भने।

नाम उल्लेख नगर्ने शर्तमा विमानस्थलकै एक कर्मचारीले भित्रै बस्न पायो भने विभिन्न चलखेल गर्न सहज हुने बताए।

‘वर्षौदेखि अदालतको आडमा भाडा नतिरेरै बसेका व्यवसायीहरुलाई भित्रै बस्न दियो भने भन्सारमा चलखेल हुन्छ। यसैले माेटो रकम खर्चेर भन्सारसँगै बस्न केही व्यापारी लागिरहेका हुन्,’ ती कर्मचारीले भने। 

यता विमानस्थल प्रमुख देवेन्द्र केसीले भने ठाँउ भएसम्म आम्दानी हुने बाटो बन्द नगर्ने बताए। 

‘राज्यलाई आम्दानी हुने ठाँउमा हामीले व्यवसाय गर्ने दिने हो। त्यसको प्लानीङ हुँदैछ,’ बीएल नेपाली सेवासँग कुरा गर्दै केसीले भने, ‘याँ बनेको प्रयोगमा ल्याएका छौं। पुरानो अराईभल क्षेत्र बन्द हुन्छ। त्यसभित्रका व्यवसायीलाई व्यवस्थित ढंगले राख्ने तयारी गर्दैर्छौं।’ 

यता नयाँ अत्याधुनिक भवनमा ठाँउ हुँदाहुँदै अन्य चलखेल गर्ने उद्देश्यले भन्सार क्षेत्रमा पसल थाप्न दिन नहुने भन्दै नयाँ भबन क्षेत्रमा सरेका व्यवसायीले भने विरोध जनाएका छन्। 

‘विमानस्थल साँघुरो भयो भनेर राज्यले नयाँ संरचना बनाएको छ। सिमित व्यक्तिको फाइदाका लागि केही अधिकारी भन्सार क्षेत्रलाई खुम्च्याएर पसल थाप्ने खेलमा छन्। हामी त्यसो हुन्न भनेर लामो समयदेखि विरोध जनाउँदै आएका छौं,’ विमानस्थलमा व्यवसाय गर्दै आएका एक व्यापारीले भने।

प्रकाशित मिति: : 2020-10-01 08:24:38

प्रतिकृया दिनुहोस्