बुढेसकालमा टपरीको लत

शिलापत्र

काठमाडौँ

पूजा परियार

‘सालको पातमा सिन्का खिपेर अहिलेसम्म जीवन चलाइरहेकी छु, त्यसैले सास रहुञ्जेल पात नै गाँस्ने हो ।’ 

यो भनाइ हो– काभ्रेकी ५६ वर्षीया सरस्वती नेपालको । उनको जीवनका २५औँ वसन्त त पशुपति आर्यघाट परिसरमा बस्ने किरियापुत्रीका लागि टपरी गाँस्दै बिते । अहिले पनि उनी यही काम गर्दै आफ्नो गुजारा चलाउँदै आएकी छन् । 

झलमल्ल उज्यालो हुँदा उनी पशुपति परिसर आइपुग्छिन्, भगवानलाई प्रणाम गर्छिन्, अनि सुरु हुन्छ उनको दिनचर्या ।

छरिएर रहेका हरियो सालको पात, बाँसबाट बनाइएका सिन्का, पूजाआजामा नभई नहुने तीतेपाती, तिनै छरिएका सामानमाथि एउटा बोतलमा पानी, अनि छ्वालीबाट बनाइएका चाक्लो चकटीमा बसेर पात गाँस्दै गरेको अवस्थामा उनलाई भेट्न सकिन्छ । 

ढल्किँदो उमेरमा पनि उनी यसरी नै मिहिनेत गरिरहेकी छन् । यो मिहेनतले उनलाई खान लाउनमा केही सहयोग त पक्कै भएको छ । तर, त्योभन्दा धेरै उनको मनलाई शान्ति मिलेको छ ।
 
‘यो बुढेसकालमा पैसा नै कमाउँछु भनेर त कहाँ काम गर्र्न सकिन्छ र ? तैपनि यसो बसिबियाँलो पनि हुने, घर चलाउन पनि केही सहयोग हुने भएपछि झनै लगाव बढेर आएको हो,’ उनले भनिन् । 

१९ वर्षे जवान छोराको मृत्यु, त्यसको केही वर्षपछि श्रीमानको पनि मृत्यु भएपछि उनले आफूलाई सम्हाल्ने औषधि नै सालको पात र सिन्कालाई बनाएकी छन् ।

प्रकाशित मिति: : 2020-10-01 15:16:56

प्रतिकृया दिनुहोस्