विश्वले सिक्यो पाठः लकडाउनले काम गरेन

कपिल काफ्ले

काठमाडौं

कोरोनाभाइरस संक्रमणका कारण नेपालमा चिकित्सकले समेत ज्यान गुमाएका छन् । दैनिक संक्रमितको संख्या दुई हजार पुग्न लागेको छ । तैपनि निषेधाज्ञा वा लकडाउन समाधान होइन भनेर सबैले बुझेका छन् । सुरक्षित रहेर आफ्नो व्यापार–व्यवसाय सञ्चालन गर्ने र कोरोनाका साथ जिन्दगी चलाउने मनस्थितिमा आमनागरिक देखिएका छन् ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएपछि सबै नागरिक झस्किएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको खबरले पनि नेपालीलाई अत्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा यो परिमाण देखापरेको हो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ भने पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका मात्र ९ सय ४३ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ९ सय ६१ जना घर फर्केका छन् । नेपालमा हालसम्म ५७ हजार ३ सय ८९ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । हाल सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ । कोरोना संक्रमणका कारण बिहीबारसम्म ५ सय ९ जनाको मृत्यु भएको छ ।

तर पनि लकडाउनको पक्षमा नागरिकहरू देखिँदैनन् । कोरोना महामारी बढ्दै गएर देशभर सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले सरकारलाई सिफारिस गरेको समाचार बाहिर आएपछि गरिबीको रेखामुनि रहेका नागरिकहरूको ठूलो संख्या आतंकित बनेको छ । कोरोना संक्रमण दर तीव्र भए सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी बन्दाबन्दी गर्नका लागि भएको सिफारिसको समाचारप्रति सामाजिक सञ्जालमा पनि कडा प्रतिक्रियाहरू व्यक्त भएका छन् ।

प्रकाशित मिति: : 2020-10-02 08:15:15

प्रतिकृया दिनुहोस्